ओखलढुंगा - ओखलढुंगाकी १३ वर्षकी बालिका असोज १० गते राति र ११ गते दिउँसो आफ्नै बाबुबाट बलात्कृत भइन्। त्यो पनि आफ्नै घरभित्र। उनकी आमा छैनन्। तीन वर्षअघि उनीसहित तीन सन्तान छाडेर आमाले अर्कै विवाह गरिन्।
आमाले छोडेपछि ९ र ७ वर्षका दुई भाइलाई उनैले हेर्दै आएकी थिइन्। खाना बनाएर खुवाउँथिन्। सरसफाइ गर्थिन्। भाइहरूको कपडा धोइदिन्थिन्। उनकै भनाइमा भाइहरूको उनलाई असाध्यै माया लाग्छ।
तर, आफ्नै बाबुले डरत्रास देखाएर जबरजस्ती करणी गरे। धेरै अगाडिदेखि बलात्कार गर्दै आए पनि उनले अरूलाई भनेकी थिइनन्। असोजमा दुई दिन लगातार बलात्कृत भएपछि उनको बाबुको कुकर्म बाहिर आयो। छरछिमेक, आफन्तले घटना प्रहरीसम्म लैजान सहयोग गरे।
अपराध गर्नेले कानुनी सजाय भोगे पनि पीडित महिलाहरू त्योभन्दा ठूलो सामाजिक बहिष्कार भोग्न बाध्य छन्।
उनले बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय (ओखलढुंगा)मा उजुरी दिइन्। प्रहरीले असोज १३ गते बाबुलाई पक्राउ ग¥यो। आरोपित बाबुलाई जिल्ला अदालतले कात्तिक ९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो।
त्यसपछि उनलाई लागेको थियो, ढुक्कसँग भाइहरूसँग बस्न पाउँछु। विडम्बना ! उनले सोचेजस्तो भएन। उनी त घर परिवार र समाजबाट अलग भइन्। घटना सार्वजनिक भएसँगै अधिकारकर्मी महिलाले आश्रयका लागि सुरक्षित गृहमा लगे। बाबु जेलमा, दिदी आवास गृहमा गएपछि दुई भाइलाई काकाले राखेका छन्।
पीडित बालिका ‘आमा’ बनेर भाइहरूको रेखदेख गर्थिन्। अहिले भाइहरूबाट छुट्निुपर्दा उनी निकै चिन्तिामा परेकी छन्। भाइहरूले खान पाए कि पाएनन् ? ठूलो चिन्ता लाग्छ उनलाई।
दुई भाइको याद आउँदा उनलाई कतिबेला भाइहरूलाई भेटौंजस्तो हुन्छ। सुरक्षित आवास गृहमा भेट्दा उनले भाइहरूको मायाले सताउने गरेको बताइन्। उनले भनिन्, ‘मेरा भाइहरूले खान पाए कि पाएनन्, पढ्न गए कि गएनन् ? रुन मन लाग्छ। कुरा गर्न पनि पाएकी छैन। एकपटक फोनमा भए पनि बोल्ने मन छ।’
००० ०००
ओखलढुंगाकै सिद्धिचरण नगरपालिकाकी एक बालिका १ वर्षको हुँदा बुबाआमा दुवैले दोस्रो विवाह गरेपछि हजुरबुबाको रेखदेखमा थिइन्। एघार वर्षसम्म हजुरबुबाले रेखदेख र पालनपोषण गरे। दुई वर्षअघि उनको एक मात्र अविभावक हजुरबुबाको पनि निधन भयो।
जन्मदिने बाबुआमा जीवितै भए पनी उनी बेसहारा भइन्। हेरचाह गर्ने कोही नभएपछि गाउँकै एक व्यक्तिको घरमा काम गर्दै पढ्न थालिन्। अहिले १३ वर्षकी उनी कक्षा ४ मा पढ्छिन्।
गएको कात्तिकमा जुन घरमा काम गर्दै पढ्दै बसेकी थिइन्, त्यही घरका १८ वर्षका छोरासँग उनको विवाह भयो। दुवैको उमेर नपुगेकाले स्थानीय न्यायिक समितिमा स्थानीयले उजुरी गरे।
गएको कात्तिक १५ गते प्रहरीले दुवैलाई नियन्त्रणमा लियो। प्रहरीले गरेको अनुसन्धान तथा जिल्ला अस्पताल (रुम्जाटार)मा गरिएको शारीरिक परीक्षणबाट उनीहरूले शारीरिक सम्पर्क नगरेको प्रमाणित भयो।
अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)ले व्यक्तिगत तथा पारिवारिक परामर्शबाट विवाह नभएको जनाएको छ। विवाहको प्रमाण मानिने शारीरिक सम्बन्ध राखेको प्रमाणित नभएपछि सामान्य सोधपुछपछि प्रहरीले १८ वर्षका किशोरलाई घर पठाइदियो।
तर बालिकालाई भने बस्ने ठाउँ नै भएन। उनलाई जिम्मा लिने अविभावक नभएपछि प्रहरीले उनलाई सुरक्षित आवास गृह (सेफ हाउस)मा पठायो। उनी अहिले त्यहीं बस्छिन्।
००० ०००
तीन वर्षअघि मानेभञ्ज्याङकी एक किशोरी चालकबाट बलात्कृत भइन्। उनी ८ वर्षकै उमेरदेखि मानेभञ्ज्याङस्थित एक होटलमा काम गर्न बसेकी थिइन्। सोही होटलका साहुको ट्याक्टर चलाउनेले उनलाई बलात्कार गरे। किशोरीले राति ९ बजे ड्राइभरलाई खाना लिएर लागेकी थिईन्। त्यही बेला एक्कासि मुख छोपेर बलात्कार गरेको उनले बताइन्।
घटना हुँदा उनको उमेर १४ वर्ष थियो। अरूलाई भने मारिदिने भन्दै ड्राइभरले धम्की दिएपछि उनी नौ महिनासम्म चूप बसिन्। घटना भएको मिति उनलाई एकिन छैन। गर्भ रहेको नौ महिना भएपछि मात्रै उनी बसेको परिवार र आफन्तले उनी बलात्कारमा परेको थाहा पाए।
घटना सार्वजनिक भएको केही दिनमै उनले ओखलढुंगा सामुदायिक अस्पतालमा छोरा जन्माइन्। कसको गर्भ हो भनेर सबैले सोध्न थालेपछि उनले सबै कुरा खोलिन्। किशोरी बलात्कृत भएको थाहा भएपछि घरपरिवारले जिल्ला प्रहरी कार्यालय (ओखलढुंगा)मा किटानी जाहेरी दिए।
तर प्रहरीले अहिलेसम्म आरोपितलाई पक्राउ गर्न सकेको छैन। किशोरी अहिले १७ वर्षकी भइन्। किशोरीका छोरा १९ महिनाका भए।
अहिले उनी गाउँघरमा छैनन्। घटना सार्वजनिक भएलगत्तै उनलाई जिल्लास्थित सुरक्षित आवास गृहमा लगिएको थियो। सोही गृहमार्फत् आमाछोरा दुवैलाई काठमाडौंको सुरक्षित आवास गृहमा पठाइएको छ। उक्त आवास गृहका सञ्चालकका अनुसार अहिले उनी कक्षा ६ मा पढ्दैछिन्।
००० ०००
ओखलढुंगाकी १९ वर्षीया किशोरी घाँस काट्न जाँदा बलात्कारमा परिन्। सिन्धुली घर भई ओखलढुंगास्थित ससुरालीमा बस्दै आएका रत्नबहादुर सुनारले जबरजस्ती करणी गरे।
घरनजिकै रहेको जंगलमा कोही नभएका बेला हातखुट्टा बाँधेर तथा मुख थुनेर आफूलाई जबर्जस्ती गरको उनले बताइन्। तर सुरुमा यो घटना कसैलाई भनिनन्। महिनावारी रोकिएपछि मात्रै घरमा भनिन्।
गर्भ बसेको थाहा भएपछि परिवार र छिमेकका ठालुहरूले छलफल गरेर किशोरीलाई बलात्कार गर्ने सुनारको जिम्मा लगाइदिए। तर किशोरीले त्यो निर्णय अस्वीकार गरिन्। उनको गर्भ बसिसकेको थियो। किशोरी गर्भपतनका लागि जिल्ला अस्पताल गइन्। तर गर्भ पाँच महिनाको भइसकेकाले गर्भपतन गर्न नमिल्ने चिकित्सकले बताए।
त्यसपछि जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीको सल्लाहअनुसार उनलाई काठमाडौं पठाइयो। थापाथलीस्थित प्रसूति गृह अस्पतालमा उनको इच्छाअनुसार गर्भपतन गरियो।
जबर्जस्ती करणी गरेको भन्दै उनका बुबाआमाले सुनारविरुद्ध २०७४ मंसिर १८ गते जिल्ला प्रहरी कार्यालय (ओखलढुंगा)मा उजुरी गरे। सोही दिन सुनारलाई प्रहरीले पक्राउ ग-यो। त्यसपछि जिल्ला अदालतमा मुद्दा दर्ता भयो। सुनार अहिले पुर्पक्षका लागि थुनामा छन्।
तर किशोरी भने परिवारबाट विस्थापित भइन्। उनी अहिले काठमाडौंस्थित सुरक्षित आवास गृहमा बस्छिन्। आवास गृह सञ्चालकका अनुसार उनी पटकपटक परिवारको याद गर्छिन्। आमाबुबासँग भेट्न चाहन्छिन्। तर उनका परिवारले उनलाई घर फिर्ता ल्याउन सकेको छैन।
००००००
सोलुखुम्बुकी एक महिलाको २०६७ सालमा ओखलढुंगा बर्नालुका पुरुषसँग प्रेमविवाह भयो। केही वर्षसम्म उनीहरूको सम्बन्ध राम्रै रह्यो। विस्तारै श्रीमान्ले रक्सी पिउन थाले। लत बढ्दै गयो। श्रीमतीलाई कुटपिट पनि गर्न थाले। सात वर्षसम्म श्रीमान्को कुटाइसँगै मानसिक यातना सहेको उनले बताइन्। उनका अनुसार श्रीमान् राम्रोसँग नबोल्ने, खान–लाउन नदिने गर्न थाले। सहनै नसक्ने भएपछि उनले २०७४ माघमा प्रहरीमा उजुरी दिइन्।
प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेर एक रात हिरासतमा राख्यो। पछि प्रहरी कार्यालयमै मिलापत्र गरियो। उनका श्रीमान्ले आइन्दा रक्सी नखाने र उनलाई हिंसा नगर्ने सहमति गरे।
तर त्यही राति अबेर घर आएका श्रीमान्ले उनलाई अझ बढी कुटपिट गरे। अब त्यतै जा भन्दै कुट्न थालेपछि उनले २०७५ वैशाख ५ गते घर छाडेर हिँडिन्।
उनी भन्छिन्, ‘अपराध त मेरो श्रीमान्ले गरेको थियो। तर सजाय मैले भोग्दैछु। मैले घर छाडेर हिँड्नुपरेको छ। दुःख पाएकी छु। गल्ती गर्ने श्रीमान् सुखसाथ घरमै छन्।’
श्रीमान्को लगातारको यातनापछि घर छोडेकी उनी अहिले काठमाडौंस्थित एक संस्थाको आश्रमयमा छिन्। त्यहींबाट होजियारी र मन्टेश्वरी तालिम लिएकी छन्। उनका ७ वर्षका छोरा पनि सँगै छन्।
सेफ होममा पुगेपछि घर फर्कनै सक्दैनन्
माथिका घटनाले के प्रष्ट पार्छन् भने हिंसामा परेपछि महिलाले नै घरपरिवार त्याग्नुपर्ने हाम्रो सामाजिक अवस्था छ। अझ यौन हिंसामा परेका बालिकाहरूले त आजीवन परिवारको साथ छोड्नुपर्ने अवस्था छ।
अपराध गर्नेले कानुनी सजाय भोगे पनि पीडित महिलाहरू त्योभन्दा ठूलो सामाजिक बहिष्कार भोग्न बाध्य छन्। जिल्लास्थित परिवर्तनशील सामुदायिक संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृह(सेफ हाउस)को तथ्यांकअनुसार दुई वर्षमा आठ महिला तथा किशोरी काठमाडौका विभिन्न सुरक्षित आवास गृहमा पठाइएका छन्।
तीमध्ये अधिकतरले बलात्कार तथा यौन हिंसा भोगेका छन्। सेफ हाउसकी इन्चार्ज धनकुमारी थापाका अनुसार बढीजसो बलात्कार र यौन हिंसामा परेका महिला तथा बालिकाहरू समाजबाट विस्थापित हुने गरेका छन्।
‘घरेलु हिंसा, बलात्कार, कुटपिट, मनोवैज्ञानिक भावनात्मक दुव्र्यवहार, जबरजस्ती विवाह, यौन हिंसामा परेका महिला तथा बालिकाहरू सेफ हाउसमा आउने गरेका छन्,’ उनी भन्छिन्, ‘बलात्कार र यौन हिंसामा परेका महिला तथा बालिका बढी घर–समाजबाट विस्थापित भएका छन्। यहाँ आएपछि फेरि उनीहरू घर फर्केर जानै सक्दैनन्।’
प्रकाशित: २७ मंसिर २०७५ ०२:३२ बिहीबार