२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एक वर्षमै एनजिओले गरे २० अर्ब खर्च

काठमाडाैं - गैरकारी सरकारी संस्थाहरू (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष २०७४/७५ मा एनजिओहरूले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। एनजिओहरूले सञ्चालन गरेका कार्यक्रममा प्रभावकारीरूपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ।

समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४/७५मा ७ सय २३ एनजिओहरूले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन्। यसमध्ये करिब साढे २ अर्ब रुपैयाँ खर्च गर्दा परिषद्को पूर्वस्वीकृति लिएका छैनन्।

परिषद् स्रोतका अनुसार आव २०७४/७५ का लागि ७ सय २३ एनजिओले १ हजार १ सय ८१ कार्यक्रम सञ्चालन गरेका छन्। त्यसमध्ये करिब आधा दर्जन एनजिओले एक वर्षमै १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। कारितास नेपाल, कृपा, लायन्स क्लब, प्रेस सागर फाउन्डेसन, ब्लुु डायमण्ड, छोरी नपाल, चेली नेपाल, चौधरी फाउन्डेसनलगायतका एनजिओको बजेट तुलनात्मक रूपमा अरुको भन्दा बढी छ। छोरी नेपाल, चेली नेपाल, हाम्रो घर, सोसल साइन्स जस्ता एनजिआले १० करोडभन्दा बढी बजेट खर्च गरेका छन्। ख्रिस्टियन बाल संरक्षण, मुस्लिम महिलाको नामबाट पनि एनजिओले गत आर्थिक वर्षमा करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। सुर्खेतमा रहेको क्रियाशील पत्रकार समूहले गत आवमा करिब १६ लाख रुपैयाँ खर्च गरेको छ। परिषद्बाट स्वीकृति नलिई मनपरी ढंगबाट खर्च गर्ने एनजिओलाई अनुशासनको दायरामा ल्याउन आवश्यक रहेको परिषद्का कर्मचारीहरू बताउँछन्।

आव २०७४/७५ मा २ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ एनजिओले परिषद्सँग स्वीकृति नलिई मनपरी ढगँबाट खर्च गरेको परिषद्ले जनाएको छ। परिषद्का अनुसार आव २०७५/७६ का लागि बजेट स्वीकृति गराउन एनजिओले प्रक्रिया सुरु गरेका छन्। यसको अन्तिम रेकर्ड सबै आवको अन्त्यसम्म आउने परिषद्को भनाइ छ।

आव २०७४/७५ मा २ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ एनजिओले परिषद्सँग स्वीकृति नलिई मनपरी ढगँबाट खर्च गरेको परिषद्ले जनाएको छ। परिषद्का अनुसार आव २०७५/७६ का लागि बजेट स्वीकृति गराउन एनजिओले प्रक्रिया सुरु गरेका छन्। यसको अन्तिम रेकर्ड सबै आवको अन्त्यसम्म आउने परिषद्को भनाइ छ।

एनजिओहरूमा बेथिति देखिएको परिषद्कै कर्मचारीको भनाइ छ। परिषद्को सहायक निर्देशक खगराज रेग्मीले भने, ‘गैरसकारी संस्थामा बेथिति देखिएको छ। एनजिओले सञ्चानल गरेको कार्यक्रमको प्रभावकारी अनुगमन हुन नसक्दा लक्षित समूहमा कमै बजेट पुगेको छ।’ गैरसरकारी संस्थाको बेथिति रोक्न परिषद्ले प्रभावकारी काम गर्नुपर्ने बताउँदै प्रभावकारी काम हुन नसकेको उनले स्वीकार गरे।

गैर सरकारी संग्थाले सञ्चालन गरेको कार्यक्रमको अनुगमन गर्न परिषद्सँग करिब ७० जना मात्र कर्मचारी छन्। ती कर्मचारीले ११ सयभन्दा बढी कार्यक्रममा गई अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। अनुगमन गर्ने जिम्मेवारी पाएका कर्मचारीले निकै कम कार्यक्रमको अनुगमन गर्ने गरेका छन्। ७० कर्मचारीमध्ये पनि अधिकांश कर्मचारी दक्ष, अनुभवी र तालिम प्राप्त छैनन्।

परिषद् स्रोतका अनुसार गत आवमा परिषद्का कर्मचारीले ७ सय २३ मध्ये करिब ३ सय एनजिओको अनुगमन गरेका थिए। बाँकीले अनुगमनबिना नै खर्च विवरण परिष्दमा बुझाएका छन्। अनुगमनबिना परिषद्मा खर्च विवरण बुझाउँदा ती एनजिओले आफूखुशी खर्च गर्न सम्भावना बढी हुने परिषद्का कर्मचारीहरू बताउँछन्। समाजकल्याण परिषद् ऐन २०४९ अनुसार गैरसकारी संस्थाले कार्यक्रम सञ्चालन गर्दा परिषद्सँग स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान छ। यसैगरी कार्यक्रम सञ्चालन गरेपछि पनि परिषद्लाई जानकारी गराउनुपर्नेमा अटेर गरी मनपरी ढंगले खर्च गर्ने गरेको परिषद्का एक उच्च कर्मचारीले बताए। परिषद्का सहायक निर्देशक रेग्मीले गैरसकारी संस्थाहरूले गरेको कार्यक्रममा प्रभावकारी अनुगमन गर्न नसक्दा पनि गैर सरकारी संस्थाहरूको अनियमिता बढेको बताए।

परिषद्का अर्का एक कर्मचारी भन्छन्, ‘अधिकांश गैरसकारी संस्थाहरूले कागजमा कार्यक्रम गरेको देखाउछन् तर व्यवहारमा काम नै भएको देखिन्न।’ कागजमा काम गरेको देखाएर पनि केही एनजिओहरूले परिषद्सँग स्विकृति लिने गरेको उनको दाबी छ। स्रोतका अनुसार परिषद्का केही कर्मचारीहरूले कार्यक्रम स्थलमा नगइ नक्कली अनुगमन गर्ने पनि गरेका छन्। केही ठाउँमा परिषद्का कर्मचारी र एनअिजोहरूको सञ्चालकवीच मिलोमतो भई यस्तो पनि हुने गरेको स्रोतको दावी छ।

१ अर्ब बजेट भएका एनजिओहरू
हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बले आव २०७४/७५ मा १ अर्ब ३ करोड २० लाख ९२ हजार रहेको विवरण समाजकल्याण परिषद्मा पेस गरेको छ। परिषद्मा यसको सम्पर्क व्यक्ति पासाङ शेर्पा लामाको नाम बुझाइएको छ। यसको कार्यक्रम स्थल पनि सोलुखुम्बु जनाइएको छ। परिषद्मा दर्ता भएको एनजिओमध्ये केही एनजिओको बजेट १ अर्ब रुपैयाँको हाराहारीमा छ। कारितसा नेपालले काठमाडौं, लतिलपुर, काभे्रलगायतका जिल्लामा ९ वटा कार्यक्रम सञ्चालन गरेको छ। परिषद्मा दर्ता गरिएको कार्यक्रममा कारितास नेपालको सम्र्पक व्यक्तिमा केवी वोगटीको नाम राखिएको छ। कुल ९ वटा कार्यक्रमको बजेट करिब एक अर्ब रुपैयाँ छ। यसैगरी, बन्दी सहायता नेपालको वार्षिक बजेट ९२ करोड देखाइएको छ। टेगर लर्निङ सेन्टर नेपालले परिषद्मा आव २०७४/७५मा ८७ करोड ५६ लाख रुपैयाँ खर्च गरेको विवरण पेसगरेको छ।

यसैगरी मानवीय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र नेपाललको वजेट करिव ८९ करोड रुपैयाँ छ। यसले लमजुङ, मकवानपुर लगायतका जिल्लामा कार्यक्रम गरेको छ। यसको सम्पर्क व्यक्तिमा किरण न्यौपानको नाम राखिएको छ। यसैगरी लुमन्ती नेपालको बजेट करिब ७८ करोड रुपैयाँ रहेको छ। यसलले चितवन, पर्सा, मोरङलगायतका जिल्लामा दुईवटा कार्यक्रम गरेको छ। यसको सम्पर्क व्यक्तिमा लजना मानन्धर रहेकी छन्। यसैगरी दियालो नामक गैर सरकारी संस्थाको बजेट ५० करोड रुपैयाँ रहेको छ। यसको सम्पर्क व्यक्तिमा गगांबहादुर साउद रहेका छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App