११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बाँदरले हैरान खोटाङका किसान

बाँदर नियन्त्रणबारे छलफल गर्न गत आइतबार खोटाङको दिक्तेलमा भेला भएका किसान। तस्बिर : दमन/नागरिक

खोटाङ - ‘चुनावका बेला घोषणापत्रमै बाँदर नियन्त्रण गर्छौं भनेका थियौं तर यो काम सजिलो रहेनछ। अहिले आफ्नो घोषणापत्रले आफैंलाई अप्ठ्यारो पारिरहेको छ।’

यो भनाइ हो, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का अध्यक्ष टंक आचार्यको। यस क्षेत्रका किसान वर्षाैंदेखि बाँदर आतंकले पीडित भएकाले चुनावका बेला कतिपय उम्मेदवारले यो विषय घोषणापत्रमै समावेश गरेका थिए।

बाँदरले बालीनाली सखाप पार्ने समस्याबाट आजित भएपछि स्थानीय किसानले मुक्तिको उपाय खोज्न गत आइतबार दिक्तेलको हेलीप्याडमा भेला आयोजना गरेका थिए। सोही क्रममा वडाध्यक्ष आचार्यले माथि उल्लिखित भनाइ राखेका हुन्। किसानको समस्याप्रति आफू गम्भीर रहेको तर बाँदर नियन्त्रण गर्ने कुनै भरपर्दाे उपाय नभएको वडाध्यक्ष आचार्यले बताए।

खोटाङका प्रायः स्थानमा बाँदर आतंक छ। एकैपटक डेढ÷दुई सयको संख्यामा आउने बाँदरको हूलले हरेक वर्ष किसानका बालीनाली सखाप पार्ने गरेको छ। जसका कारण कृषि उत्पादनमै ह्रास आई अनिकालको समस्या सिर्जना हुने गरेकाले बसाइँ नै सर्नुपर्ने अवस्था आएको बाँदरपीडित किसान बताउँछन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका भित्रका दिक्तेल, बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, दोर्पाचिउरीडाँडा, विजयखर्क लगायत स्थानका किसान खेतबारीका अन्नबाली बाँदरले नष्ट गर्ने समस्याबाट पीडित छन्। यस विषयमा उनीहरूले यसअघि पनि पटक–पटक छलफल र भेला गरिसकेका छन्। तर बाँदर नियन्त्रणको उपाय फेला पार्न सकेका छैनन्।

यसैकारण पीडित किसानले पुनःभेला राखेका हुन्। कि बन्दुकले हानेर मार्न पाउनुपर्ने कि स्थानीय सरकारबाटै बाँदर धपाउने हेरालु राख्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ। यसैगरी बाँदरले नष्ट गर्ने बालीनालीको क्षतिपूर्ति पाउनुपर्ने वा बाँदरलाई अन्यत्रै बसाइँ सार्नुपर्ने पीडित किसानको माग छ।

वडा २ का अध्यक्ष हर्क खत्री, वडा ३ का अध्यक्ष ललित राई, वडा ५ का अध्यक्ष निर्मल राई र ७ का अध्यक्ष महन्त राईले पनि किसानका मागमा समर्थन जनाउँदै बाँदर नियन्त्रणका लागि जस्तोसुकै कदम चाल्न पाउनुपर्ने धारणा राखे। ‘मैले नगर कार्यपालिकाकै बैठकमा बाँदर नियन्त्रणका लागि पटकपटक कुरा उठाइरहेको छु,’ वडाध्यक्ष महन्त राईले भने, ‘बाँदर नियन्त्रण गर्न के–के गर्न मिल्छ गरौं, कति बजेट छुट्याउनुपर्छ छुट्याऔं।’

भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समितिसमेत गठन गरेको छ।

खोटाङका प्रायः स्थानमा बाँदर आतंक छ। विशेष गरी नदी तथा खोला किनार र जंगल आसपास बाँदर समस्या बढी छ। एकै पटक डेढ÷दुई सयको संख्यामा आउने बाँदरका हूलले हरेक वर्ष मकैका सुत्ला च्यात्ने, गहुँ, कोदोका बिउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने गरेको पीडित किसान बताउँछन्। बाँदरले यसरी बालीनाली सखाप पार्ने गरेका कारण कृषि उत्पादनमै ह्रास आई अनिकालको समस्या सिर्जना हुने गरेकाले बसाइँ नै सर्नुपर्ने अवस्था आएको बाँदर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताए।

‘बाँदरले धान, मकै केही खान दिएन,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा हर्कपुरका किसान देवीप्रसाद आचार्यले भने, ‘घर बाहिरको त खान्छ–खान्छ, घरभित्र राखेका अन्न समेत खाइदिन्छ।’ पहिला–पहिला बन्दुक पड्काएर धपाउने गरिए पनि पछिल्लो समय यसमा रोक लगाइएपछि बाँदर आतंक बढ्दै गएको हो। बाँदर नियन्त्रणका लागि कतिपय ठाउँमा धराप तथा पासो थाप्ने गरिएको छ। बाँदर लाग्ने क्षेत्रमा किसानले खेतबारीका डिलमा टहरा बनाएर बस्ने, भुक्ने कुकुर बाँध्ने वा थोत्रो लुगाको मानव आकृति बनाएर राख्ने गर्ने गरेका छन्। तर पनि कुनै उपाय लाग्न सकेको छैन।

बाँदर आतंक नियन्त्रणका लागि २०६६ सालमा अन्नबाली सुरक्षा समिति गठन गरेका पीडित किसानले २०७२ वैशाख ६ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए। उक्त निवेदनअनुसार जिल्ला प्रशासन कार्यालयले वन तथा भू–संरक्षण मन्त्रालयमा पत्राचार गरेपछि वन विभागले बाँदर नियन्त्रणका लागि ‘एक्सन प्लान’ बनाउन भन्दै जिल्ला वन कार्यालयलाई २०७१ वैशाख ८ गते पत्र पनि पठाएको थियो। तर, त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन।

प्रकाशित: २० मंसिर २०७५ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App