९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रहेनन् गम्भीरमान सर

काठमाडौं – विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ। लामो समय अल्जाइमर ग्रसीत मास्केलाई विसन्चो भएपछि अघिल्लो साता घर नजिकैको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो। मास्केलाई अन्तिम समयमा निमोनिया भएको परिवार स्रोतले बताएको छ।

प्रसिद्ध चित्रकार चन्द्रमान मास्केका छोरा गम्भीरमानले विस २०१७ सालमा माध्यामिक तहको शिक्षकका रुपमा विश्व निकेतन माविमा प्रवेश गरेका थिए। २०२७ देखि २०५१ सम्म विश्व निकेतनका प्रधानाध्यापकका रुपमा कार्यरत मास्केले विद्यालयको स्तरवृद्धिमा आफूलाई पूर्णतः समर्पित गरेको सोमबार विद्यालय परिसरमा आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले बताए।

‘गम्भीरमान सर विद्यार्थीको मनमा बस्न सफल शिक्षक हुनुहुथ्यो,’ विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए, ‘उहाँ सादा जीवन उच्च विचारका एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो।’ आफ्नो सम्पूर्ण जीवन नै शिक्षणमा बिताएका मास्केको बारेमा कहिल्यै कसैबाट कुनै नकारात्मक टिप्पणी नसुनिएको बताउँदै कँडेलले उहाँले उदाहरणीय जीवन व्यतीत गर्नुभएको बताए।

विद्यालयकी सह–प्रधानाध्यापक गंगा थापाले गम्भीरमान सरसँग लामो समय बिताउँदा पनि उहाँ कहिल्यै रिसाएको नदेखिएको बताउँदै भनिन्, ‘एजुकेसन शिक्षाबिनाको म विज्ञानको स्नातकलाई उहाँले एउटा अंग्रेजी शिक्षक बन्न जुन मार्गदर्शन दिनुभयो त्यो उहाँको मानवीय र प्रेरणादयी गुण थियो।’ मत्युको अवश्यमभावी भए तापनि प्रत्येक शिक्षकलाई सदैव हौसला दिने र अभिभावकत्वको भूमिका दर्शाउने उहाँजस्तो व्यक्तिको अवसान साँच्चै अपूरणीय क्षति भएको बताउँदै उनले भनिन्, ‘विद्यालयले संरक्षक गुमाएको छ।’ विद्यालयमा लामो समय अंग्रेजी विषयको अध्यापन गरेकी समा राईले गम्भीरमान सर एउटा शिक्षक नै हुन जन्मेको प्रतीत भएको बताउँदै शिक्षकहरुप्रतिको विश्वास र हितैसी व्यवहार उहाँको व्यक्तित्व भएको बताइन्।

‘विश्व निकेतनभन्दा गम्भीरमान र गम्भीरमान भन्दा विश्व निकेतन बुझिने अवस्था अझै छ,’ विद्यालयका पूर्वसहायक प्रधानाध्यापक पूर्णबहादुर अमात्यले भने, ‘उहाँ विश्वनिकेतनको पर्याय सरह हुनुहुन्थ्यो।’

विश्व निकेतन माविका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रेग्मीले गम्भीरमान सर सदैव कामप्रति समर्पित एउटा कुशल शैक्षिक प्रशासक भएको बताए। ‘संस्थालाई कसरी माथि लाने भन्ने नै उहाँको चिन्ता हुन्थ्यो,’ रेग्मीले भने।

विद्यालयका पूर्व प्रधानाध्यापक अंग्रेजी शिक्षक निर्मल गिरीले गम्भीरमान सरले विद्यालयलाई एउटा उचाइमा पु-याएको स्मरण गर्दै एउटै कक्षामा विद्यार्थीको अत्यधिक चापले डेढ सयसम्म विद्यार्थीलाई पढाएको स्मरण गरे। विद्यालयको सो प्रसिद्धिको श्रेय गम्भीरमान सरलाई जाने बताउँदै उनले भने, ‘भर्नाको समयमा उच्च तहबाट आउने दबाबले गर्दा उहाँ लुकीलुकी हिँड्नु पर्ने सयम पनि थियो। उहाँको शालिनता, मृदुता, शिक्षाप्रतिको योगदान स्मरणीय छ।’

२०४३ सालमा एसएलसी दिएका विद्यालयका पूर्व विद्यार्थी प्रकाश मानन्धरले गम्भीरमान सरको कक्षामा पूर्णतः शान्ति छाउने र उहाँको पढाउने शैली प्रभावकारी हुने बताउँदै विश्व निकेतनको विद्यार्थी हुनु आफूहरुलाई गौरवको कुरा भएको बताए।

२०४० सालमा एसएलसीमा बोर्डमा आएका पूर्व विद्यार्थी सुशील ताम्राकारले गुरु ब्रह्मा, विष्णु र महेश्वर हुने श्रुतीलाई गम्भीरमान सरको हकमा ‘गुरु बुद्ध पनि हुन्’ भन्ने उक्ती थप्नुपर्ने बताए। ‘उहाँले कहिल्यै पनि व्यक्तिगत स्वार्थलाई ध्यान दिनुभएन,’ ताम्राकारले अमेरिकाको एरिजोनाबाट फोनमा भने, ‘माटोरुपी विद्यार्थीलाई मान्छे बनाउने गम्भीरमान सरको योगदान अतुलनीय छ।’

प्रकाशित: १८ मंसिर २०७५ ०२:४१ मंगलबार

विश्व_निकेतन गम्भीरमान_मास्के