८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बुढीखोलामा मनोमानी दोहन

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ६ मा बुढीखोला दोहन गरिँदै। तस्बिर : अमर/नागरिक

इटहरी - मोरङको बुढीगंगा गाउँपालिकाले खोलाको गिटी बालुवा संकलनको ठेक्का लगाउन टेन्डर आह्वान गरेको छ। टेन्डर प्रस्ताव हाल्न अझै केही दिन बाँकी नै छ। तर, स्थानीय जनप्रतिनिधिकै संलग्नतामा बुढीखोलामा गिटी बालुवा उत्खनन भइरहेको छ।

बुढीगंगा ६ का वडा सदस्य पद्युम्न चौधरीको नेतृत्वमा सोही वडाको बुढी खोला उत्खनन भइरहेको हो। नदीमा एक्साभेटर नै प्रयोग गरेर गिटी बालुवा निकाल्ने गरिएको छ। वडा सदस्य चौधरीले वडाध्यक्ष दिलीप चौधरीलाई जानकारी दिएर गिटी बालुवा निकालेको बताए। ‘केही दिनअघि वडाध्यक्षलाई नै जानकारी गराएर बालुवा र भरोट निकालिएको हो,’ उनले सोमबार साँझ भने, ‘गाउँपालिकाबाट गुनासो आएपछि सोमबारबाट रोकें।’ गाउँपालिकाले बुढीखोलाका छवटा नाकाबाट बालुवा र भरोट टेन्डरका लागि १५ दिने सूचना निकालेको छ।

बुढीखोलामा बर्खाको बेला बाढी आउँदा बर्सेनि आसपासका बस्तीमा कटान हुने गरेको छ। जथाभावी उत्खननले बुढीखोलाआसपासका बस्ती कटानको उच्च जोखिममा छन्।

बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले केही दिनअघि खोलाबाट बालुवा र भरोट उत्खनन गरी बिक्री गरेको मौखिक गुनासो आएपछि सोही वडाका वडाध्यक्ष दिलीप चौधरीलाई रोक्न भनिसकिएको बताए। दिलीपले पनि वडासदस्य पद्युम्नलाई रोक्न भनिसकिएको जनाए।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले भने ठेक्का नलागीकन बालुवा र भरोट निकाल्नु गलत भएकाले तत्काल रोक्न निर्देशन दिने बताए।

बुढीगंगा गाउँपालिकासँगै सुनसरी दुहवी वडा नं. १ को प्रास्टुकीमा बुढीखोलानजिकै नसरुल मियाँको जग्गा छ। खोला नगरपालिकाले ठेक्का लगाएर बालुवा र भरोट निकाल्ने काम भइरहेको छ। छेउमै मियाँको जग्गामा पनि ठूल्ठूला खाल्डा पारेर भरोट निकाल्ने गरिएको छ। बुढीखोलामा बर्खाको बेला बाढी आउँदा बर्सेनि आसपासका बस्तीमा कटान हुने गरेको छ। जथाभावी उत्खननले बुढीखोलाआसपासका बस्ती कटानको उच्च जोखिममा छन्।

दुहवी वडा नं. १ का वडाअध्यक्ष अजुल हुसेनले वडाबाट मेसिन प्रयोग गरेर खोला र छेउको जग्गाबाट बालुवा तथा भरोट निकाल्न रोक लगाउने निर्णय गरेको बताए। निर्णयअनुसार प्रहरीलाई पनि सूचना दिइएको छ। ‘मेसिन लगाएर उत्खनन गर्न रोक लगाउने निर्णय गरेका छौं,’ हुसेनले भने, ‘अटेर गरेर बालुवा र भरोट निकाल्ने काम भने भइ नै रहेको छ। यो कार्य रोक्न नगरपालिकाले पनि सहयोग गर्नुपर्छ।’ अघिल्लो वर्ष बर्खामा प्रासटुकीबाटै बाढी बस्तीमा पसेर क्षति पु-याएको थियो।

खोलासँगैको जग्गामा ठूल्ठूला खाल्डा पर्दा पानी खाल्डोमै जम्ने भएकाले बाढीको डर घट्ने जग्गाधनी नसरुल मियाँको तर्क छ। ‘ठूला खाल्डाले गर्दा झन् पानी अड्किएर बस्छ,’ उनले भने। तर, उनले भनेजस्तो बुढीखोलाको पानी खाल्डामा अड्किएर बस्ने होइन, बस्तीमा पसेर क्षति पु-याउँदै आएको छ।

अनधिकृत रुपमा खोलाबाट बालुवा र भरोट दोहन भइरहँदा रोक्न नियमनकारी निकायले चासो दिएको छैन। यस्तो कार्य गर्ने कसैलाई कारबाही पनि भएको छैन।

दुहवी वडा नं. १ को प्रासटुकीमात्र होइन, वडा नं. ३ मा पनि एक्साभेटर प्रयोग गरेर मनोमानी ढंगले बालुवा र भरोट उत्खनन भएकोमा तीन दिनदेखि प्रहरीले रोकेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण चौधरीले बताए।

दुहवी नगरपालिकाका प्रवक्ता विजय चौधरीले तीनचारपटक अनुगमन गरी सचेत बनाउँदा पनि अटेर गरेकाले अब कारबाही प्रक्रियामै जाने बताए। मेयर वेदकुमार गच्छदारले भने नदीछेउका निजी जग्गाधनीले मनोमानी गरेकाले समस्या भएको बताए। ‘खोला ठेक्का लिने ठेकेदार र निजी जग्गावालालाई एकपटक फेरि सचेत गराउँछौं,’ उनले भने। बुढीखोलाले इटहरी उपमहानगरपालिकासहित दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिकामा बर्खाका बेला ठूलो क्षति पु¥याउने गरेको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App