जाजरकोट – आमा बुवा गुमाएर बेसाहारा बनेका जाजरकोटका ४ जना अनाथ बालबालिकालाई सुर्खेत घर भइ हाल अमेरिका बस्ने जयन्तीकुमारी थापाले सम्पूर्ण पढाइ खर्च बेहोर्ने जिम्मा लिएकी छिन्।
जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर १३ चैतेडाँडाका आमा बवा दुवै नभएका ४ दलित बालबालिकाहरू प्रतिभा परियार, जय परियार, सन्तोष परियार र पुष्पा परियारलाइ स्कुलमा पढाइका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्दै जयन्तीले पढाउने जिम्मेवारी लिएकी हुन्।
समाजसेवी थापाले यी बालबालिकाका लागि यस वर्षको सम्पूर्ण पढाइ खर्चवापत नागरिककर्मी जनक केसी मार्फत पठाएको पोषाक, तथा अन्य शैक्षिक सामाग्री लगाएतको सहयोग आइतबार नारायणी माध्यमिक विद्यालय कार्कीगाउँमा आयोजित एक कार्यक्रममा नागरिक अगुवा राजेन्द्र विक्रम शाह र विद्यालयका निमित्त प्रधानाध्यापक चित्रबहादुर हमालले एक वर्षसम्म पुग्ने विभिन्न शैक्षिक समाग्रीका साथै स्कुल पोषाक र किताबकापी बोक्ने झोला हस्तान्तरण गरे।
जयन्तीले नगरपालिको वडा नम्वर १२ स्थित नारायणी मावि कार्कीगाउँको कक्षा ९ मा अध्ययनरत प्रतिभा परियार, ७ कक्षामा पढ्ने जय परियार, दुर्गा प्रावि कक्षा २ मा पढ्ने सन्तोष परियार र मालिका प्राथमिक विद्यालयको कक्षा ५ मा पढ्ने पुष्पा परियालाइमा विश्वविद्यालय तहसम्म पढाउने जिम्मा लिएकी हुन्।
अभिभावकको निधनपछि टुहुरा भइ बिचल्लीमा परेका चैतेडाँडाकी १४ वर्षीय प्रतिभा परियार, १२ वर्षीय जय परियार, ९ वर्षीय पुष्पा परियार र ७ वर्षीय सन्तोष परियारको दयनीय अवस्थाको समाचार गत वर्षको माघमा नागरिक दैनिकमा छापिएपछि जयन्तीले उनीहरूलाई पढाउने जिम्मा लिएकी हुुन्। समाजसेवी थापाले आफ्नै निजी खर्चमा हालसम्म २० विपन्न तथा बेसाहारा बालबालिकाहरुलाइ पढाउने जिम्मेवारी लिइसकेकी छिन्।
थापाले केही विद्यालयमा अक्षयकोष स्थापना गरेर, कुनैमा संस्था मार्फत र कुनैमा प्रत्यक्ष लगानी गरेर ती विपन्न बालबालिकालाई पढाइमा सहयोग गरेकी छन्। गरिबी, विपन्नता र पारिवारिक अभिभावकको अभावमा विद्यालय गएर पढ्न निकै सास्ती बेहोरिरहेका ती बालबालिकालाई विश्वविद्यालय तहसम्म पढाउने जिम्मेवारी लिएको थापाले बताइन्।
प्रकाशित: १६ मंसिर २०७५ १४:१२ आइतबार