१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा मोतियाबिन्दु रोगीको संख्या डरलाग्दो

शिविरमा आँखा जँचाउन आएका नगरबासी । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकामा मोतियाबिन्दुका रोगीको संख्या डरलाग्दो भेटिएको छ। नगरपालिकाले गङ्गालाल आँखा अस्पताल काठमाडौंसँग मिलेर गत ३ गतेदेखि सञ्चालन गरिरहेको ‘निशूल्क आँखा शिविर’ को क्रममा जँचाउन आउनेहरूमा धेरै मात्रामा मोतियाबिन्दुका रोगी भेटिएका हुन्।

नगरपालिकाले १० वटै वडाबासीलाई लक्षित गरी निशूल्क आँखा उपचार शिविर आयोजना गरेको हो। ३ गते सुरु भएर ७ गते (आज) सम्म सञ्चालन हुने शिविरमा ६ गतेसम्म झण्डै २ सय जनामा मोतियाविन्दुको समम्या भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। शाखाका सहसंयोजक तेजबहादुर पोखरेलका अनुसार शिविर सुरु भएको ३ दिनमै १ सय ७७ जना मोतियाबिन्दुका रोगी फेला परिसकेको र अझै यो संख्या बढ्ने देखिएको छ।

६ गतेसम्मका शिविरमा १ हजार २ सय ४६ जनाको आँखा परीक्षण गरिएकोमा १ सय ७७ मोतियाविन्दु रोगी फेला परेको पोखरेलले बताए। तीमध्ये ५० जनाको शिविरमै सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ भने अन्यलाई औषधि दिएर पठाइएको छ। शुक्रबारसम्ममा मोतियाबिन्दुको संख्या थपिने अनुमान छ।

शिविरमा नगरपालिकाका विभिन्न स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा कार्यरत २५ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। शिविरसम्म विरामीलाई आउने जाने यातायात र खाने बस्ने व्यवस्थासमेत नगरपालिका आफैंले मिलाएको छ।

प्रकाशित: ७ मंसिर २०७५ ०९:१५ शुक्रबार

उदयपुर मोतियाबिन्दु