२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नाइकेसहित तीनजना पक्राउ

हत्याकाण्डका योजनाकार सार्वजनिक गर्दै प्रहरी। तस्बिर : निर्मल/नागरिक

बर्दिया - बढैयाताल गाउँपालिका ३ स्थित गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकमाथि गोली प्रहार गर्ने घटनाका मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा सुतिरहेका खटिकको कात्तिक १९ गते गोली हानी हत्या भएको थियो। कलडिटेल रेकर्डका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले घटनाको दुई सातामा योजनाकार पक्राउ गरेको जनाएको छ। हत्याकाण्ड योजनाका मुख्य नाइकेसहित तीनजनालाई बिहीबार इलाका प्रहरी कार्यालय मैनापोखरामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले हत्यायोजनाको नाइकेका रुपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षीय लक्षिराम खटिक र योजनाकारका रुपमा सतपतियाका ४५ वर्षीय शालिकराम खटिक र २५ वर्षीय राजेन्द्र खटिकलाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले घटना सुनियोजित तरिकाले गराइएको जानकारी दिए। उनका अनुसार प्रहरीको प्रारम्भिक बयानमा व्यक्तिगत रिसइबी र आर्थिक कारण रहेको खुलेको छ। पीडितले दिएको बयान र कल डिटेलको सहायताले उनीहरुलाई पक्रन सफल भएको उनले जानकारी दिए।

अनुसन्धानको क्रममा प्रहरीले किटानी जाहेरी दिएको आधारमा घटनामा संलग्न रहेको आरोपमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। हत्याका मुख्य आरोपी भारतीय नागरिक ३३ र ३२ वर्षका दुईजना सुटर फरार रहेको एसपी सुरेन्द्र मैनालीले बताए। उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए।

घरमै सुतिरहेको बेला गोली लागेका खटिकको नेपालगन्जस्थित शिक्षण अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। प्रहरीले कुन हतियारबाट गोली प्रहार गरेको भन्ने नखुलेको जनाएको छ। मृतककी श्रीमती समरी खटिकले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय बढैयाताल क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको एसपी मैनालीले बताए।

प्रकाशित: ७ मंसिर २०७५ ०१:३९ शुक्रबार

बर्दिया_गोलीकाण्ड तीनजना_पक्राउ