१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुलुकको राजनीतिबाट निरास

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा मोबाइल पसल सञ्चालन गरी बसेका पूर्वलडाकु टक्कबहादुर शाही । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत – लेकबेंसी नगरपालिका–९ का रमेश पौडेल १६ वर्षकै उमेरमा २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको ‘सशस्त्र जनयुद्ध’ मा सहभागी बने । द्वन्द्वका बेला भएका अधिकांश युद्धमोर्चामा उनले अग्रभागमा रहेर काम गरे । ‘मृत्यु’ वा ‘मुक्ति’ भन्दै आठ वर्षसम्म बन्दुक बोकेर सयौं युद्धमोर्चामा लडेका पौडेल अहिलेको देशको अवस्था देखेर निरास छन्।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि तत्कालीन माओवादीले आफ्ना लडाकु राख्न देशका सात ठाउँमा डिभिजन र २८ ठाउँमा ब्रिगेड कार्यालय स्थपना गर्यो । पौडेल खोल्टेपानीमा स्थापना गरिएको जित स्मृति ब्रिगेडको कमाण्डर बने । जनयुद्धबाट आफ्नै सत्ता र समाजवाद ल्याउन नसके पनि फौजी बनेर देशको सेवा गर्ने उनको इच्छा र चाहना थियो । अन्तिममा त्यो पनि पूरा भएन् । उनी नेपाली सेनामा समायोजन हुन सकेनन्।

‘शैक्षिक योग्यताले साथ दिएन्, नेपाली सेनाको तल्लो तहमा समायोजन हुन मनले मनेन्’, पौडेलले भने, ‘स्वेच्छिक अवकास रोजेर व्यवसायतर्फ लागें ।’ पौडेलभन्दा माथि छैटौं डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उनी मातहतका धेरैजना स्थानीय तहको नेतृत्वमा चुनिएका छन् । पौडेललाई ‘राजनीतिक भाषा’ आउँदैन् । ‘त्यहीं भएर गुमनाम छु’, उनले भने, ‘जुन उद्देश्य र लक्ष्यका साथ जनयुद्धमा होमिएका थियौं, त्यसको थोरै पनि प्रतिफल देशले नपाउँदा नरमाइलो लाग्दो रहेछ।’

पौडेल अहिले वीरेन्द्रनगर–६ को बुद्धपथमा मोटरसाइकल पाट्र्सको व्यवसाय गर्छन् । पौडेलकी पत्नी लिला महरा पनि ब्रिगेड सहायक कमण्डर थिइन् । उनी पनि समायोजनमा अटाइनन् । ‘स्वेच्छिक अवकाश हुँदा दुवैजनाको गरी १९ लाख रुपैयाँ पाएका थियौं’, पौडेलले भने, ‘त्यहीं पैसाबाट अटो पाट्र्सको व्यवसाय सुरु गर्यौं ।’ व्यवसायबाटै उनले वीरेन्द्रनगरमा घर किनेका छन् । सुरुसुरुमा व्यवसाय गर्दा केही समस्या भए पनि अहिले यसैमा पौडेल दम्पत्ती सन्तुष्ट छन्।

त्यस्तै पूर्वलडाकु हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–५, गुठीका टक्कबहादुर शाही (आजीवन) पनि अहिले वीरेन्द्रनगरमा मोबाइल पसल सञ्चालन गरिरहेका छन् । नौ कक्षा पढ्दै गर्दा २०५९ सालमा माओवादी ‘सशस्त्र जनयुद्ध’ मा होमिएका उनले २०६९ सालमा स्वेच्छिक अवकास लिए । ‘चाहना त नेपाली सेनामा समायोजन हुने थियो, वरीयता नमिल्दा अन्तिममा आएर स्वेच्छिक अवकास लिनुपर्यो’, उनले भने, ‘त्यसपछि व्यवसायमा हात हालेको हुँ ।’ तत्कालीन अवस्थामा उनी प्लाटुन कमाण्डर थिए।

२०६९ भदौमा स्वेच्छिक अवकास लिँदा पाएको पाँच लाख रुपैयाँबाट उनले मोबाइल पसल सुरु गरेका हुन् । ‘अहिले पार्टीको कामभन्दा पनि व्यवसायमै केन्द्रित छु’, शाहीले भने, ‘मासिक चार–पाँच लाखको कारोबार हुन्छ, घर व्यवहार राम्रोसँग चलाइराखेको छु।’

अर्की पूर्वलडाकु सुर्खेत दशरथपुरकी मञ्जु धमाला अहिले वीरेन्द्रनगरमा बयुटी पार्लर सञ्चालन गरेर बसेकी छिन् । १५ वर्षकै उमेरमा सशस्त्र द्वन्द्वमा सहभागी भएकी उनको चाहना समाजमा व्याप्त असमानता अन्त्य गर्ने थियो तर त्यो पूरा हुन सकेन । तत्कालीन माओवादी लडाकुमा लागेर २०५८ सालमा भूमिगत भएकी उनी २०६१ सालमा युद्धमोर्चामा घाइते भइन् । खुट्टामा गोली लाग्यो । पटकपटकको शल्यक्रियापछि उनी हिँडडुल गर्न सक्ने भइन्।

तत्कालीन माओवादी लडाकुको छैटौं डिभिजनबाट स्वेच्छिक अवकास लिएपछि उनी ब्युटिसियनको तालिम लिन काठमाडौं गइन् । छ महिनाको तालिमपछि उनले वीरेन्द्रनगरमा व्यवसाय सुरु गरिन् । ‘शारीरिक रूपमा अशक्त भए पनि त्यो पीडा भुलेर पार्लर सिकें,’ उनले भनिन्, ‘सुरुसुरुमा नयाँ ठाउँ, नयाँ व्यवसाय गर्दा समस्या भए पनि अहिले सहज भएको छ ।’ हुन पनि भूमिगत जीवनबाट सहर पस्दा सुरुमा गाह्रो नहुने कुरो भएन् । ‘बोल्ने शैली, लगाउने तरिका र रहनसहन केही मिल्थेन्’, सुरुका दिन सम्झँदै उनले भनिन्, ‘अहिले भने सहज भएको छ ।’ ब्युटीपार्लरबाटै उनी अहिले महिनाको ३० हजारभन्दा बढी रुपैयाँ बचत हुने बताउँछिन्।

रमेश, टक्कबहादुर र मञ्जुजस्तै स्वेच्छिक अवकास रोजेका लडाकुहरुमध्ये अधिकांश रोजगारीका लागि विदेश पलायन भएका छन् । स्वदेशमा रहेकाहरु केही व्यवसायमा लागेका छन् भने केही राजनीतिमै छन् । पूर्वलडाकु चिंगाड गाउँपालिकाका करसिंह रानाको वीरेन्द्रनगरमा खाद्यान्न पसल छ । लडाकु कमाण्डर उनले स्वेच्छिक अवकास पाएपछि व्यवसाय सुरु गरेका हुन् । स्वेच्छिक अवकास पाएलगत्तै केही पूर्वलडाकुले सामूहिक व्यवसाय थालनी पनि गरेका थिए । त्यो सफल हुन् सकेन् । ‘छैटौं डिभिजनबाट अवकास पाएका अधिकांश साथीहरुले सुर्खेतमै केही न केही व्यवसाय गर्नुभएको छ’, पूर्वब्रिगेड कमाण्डर पौडेलले भने, ‘पूरै तथ्यांक नभएपनि एक हजार हाराहारीमा विभिन्न जिल्लाका साथीहरु सुर्खेतमा हुनुहुन्छ ।’ लगानी अभावमा धेरैजसो पूर्वलडाकु उत्पादनमूलक क्षेत्रभन्दा पनि रिटेलर व्यवसायमा रहेको जानकारी उनले दिए।

प्रकाशित: ५ मंसिर २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App