८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

अब प्रहरीमा निःशुल्क एसएमएस

काठमाडौं – नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि निःशुल्क एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । १३औं महानगरीय प्रहरी दिवस मनाउने क्रममा नेपाल प्रहरीले नागरिकबाट दैनिक सूचना लिने कामलाई सहज बनाउने उद्देश्यले निःशुल्क एसएमएस सेवा सुरु गरेको हो।

१३औं महानगरीय प्रहरी दिवसका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा निमित्त प्रहरी प्रमुख पुष्कर कार्कीले निःशुल्क एसएमएस सुविधाको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा कार्कीले अपराध नियन्त्रणका लागि नागरिकबाट अझै सहज ढंगले सूचना लिन एसएमएस सेवा सुरुवात गरेको बताए । ‘प्रहरीले निःशुल्क फोन सेवा दिँदै आएको १०० नम्बरमै एसएमएस सेवा दिन लागेको हो, यो नम्बरमा म्यासेज गर्दा कुनै शुल्क लाग्दैन’, उनले भने । उनका अनुसार प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी नायब उपरीक्षकसहित सात प्रहरी कर्मचारीलाई सम्मान गरियो । सम्मानित हुनेमा महानगरीय प्रहरी परिसरका डिएसपी राजेन्द्र धमला र सिंहदरबार बृतका डिएसपी काजीकुमार आचार्य छन्।

त्यस्तै विधागततर्फ अनुसन्धानमा भक्तपुर प्रहरी परिसरका प्रहरी निरीक्षक कृण श्रेष्ठ, ट्राफिकतर्फ कालिमाटीका प्रहरी निारीक्षक प्रदीप सिंह राठौर, सामुदायिक सेवातर्फ प्रहरी सहायक निरीक्षक रत्नबहादुर थापा, प्रशिक्षणतर्फ जवान कमल कुँवर र महिला बालबालिकातर्फ प्रहरी जवान गोमा थापा सम्मानित भए।

प्रकाशित: ३ मंसिर २०७५ ०१:४९ सोमबार

नेपाल_प्रहरी निःशुल्क_एसएमएस_सेवा