२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सीमामा सांसद र प्रशासनको चासो

बर्दिया - नेपाल र भारतको सीमा छुट्ट्याउने सीमस्तम्भ बर्सेनि हराउने क्रम बढेको छ । स्तम्भ हराउँदा भारतीय स्वामित्व वरवर सर्ने क्रमले स्थानीय पीडित बन्दासमेत प्रशासन तथा सुरक्षा निकायले खासै चासो देखाउने गरेका छैनन् । गत सोमबार प्रतिनिधिसभा सदस्य विमला विक, प्रजिअ रामबहादुर कुरुम्वाङ, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला र प्रहरी उपरीक्षक तिलक भारती सीमा स्तम्भ अनुगमनका लागि नेपाल भारतको सीमावर्ती गाउँ लटकनिया पुगे । उक्त स्थानका सीमा स्तम्भ बाढीले बगाएको हुनसक्ने अनुगमनको टोलीको निष्र्कष छ।

बर्दियामा ८० किलोमिटर खुला सीमामा बर्सेनि नेपाल र भारत सीमा क्षेत्रका स्तम्भ हराउने थालेका छन् । गुलरिया नगरपालिका–१० मा रहेको नेपाल भारतको दशगजा क्षेत्रमा रहेका सीमास्तम्भ बर्सेनि बबई नदीले कटान गर्दै जाँदा नेपालले आफ्ना भूभाग गुमाउँदै गएको छ । नेपाल र भारतको सीमा भएर बग्ने बबई र कर्णाली नदीको कटानले सीमास्तम्भ बगाउने जोखिम बढेको छ । तर, सीमा स्तम्भ जोगाउन दुवै देशका अधिकारी भने मौन रहेको स्थानीय बताउँछन् । ‘हाम्रा जग्गा भारतीयले जोत्न दिँदैन, सीमाको एकिन गर्न सरकारले गर्न सक्दैन,’ स्थानीय रामकृष्ण यादवले भने।

गुलरिया नगरपालिका–१० मा रहेको नेपाल भारतको दशगजा क्षेत्रमा रहेका सीमास्तम्भ बर्सेनि बबई नदीले कटान गर्दै जाँदा नेपालले आफ्ना भूभाग गुमाउँदै गएको छ।

जिल्लाको मानखोला पूर्वमा रहेको ४१ नम्बरको स्तम्भदेखि सीमावर्ती कतर्निया मुख्य स्तम्भ ९७ सम्म ८० किलोमिटरभित्र पर्ने स्तम्भ बर्सेनि हराउने गरेको खुलेको छ । गुलरिया नगरपालिका–१० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ बबई नदीमा आएको बाढीले बगाएको छ । बर्सेनि बबई नदीको कटान जोखिममा रहेको प्रजिअ कुरुम्बाङले बताए । ‘कतिपय ठाउँका सीमास्तम्भ भेटिएका छैनन्,’ उनले भने, ‘कटान क्षेत्रमा तटबन्ध कार्य तत्काल सुरु हुँदैछ, यसले सीमास्तम्भ पनि जोगाउँने छ ।’ उनले सीमाका स्तम्भ पहिलेको स्थानमा दुरुस्त नभएको बताए । देशभरमा संयुक्त सीमा अनुगमन टोलीले सीमा स्तम्भ निक्यौल गर्नेछ । नदी तटीय क्षेत्रका सीमा स्तम्भ बाढी बगाउने प्रशासनले औल्याए पनि अन्य सीमास्तम्भ के कति कारण हराउने गर्छन् भन्ने पुष्टि हुन सकेको छैन ।
०७०/०७१ मा १६, ०७१/०७२मा ६ र ०७३/०७४ मा ५ वटा सीमास्तम्भ हराएको पुष्टि भइसकेको छ । केही सीमास्तम्भ साविक ठाउँमा पहिलेदेखि नरहेकोे प्रजिअ कुरुम्बाङले जानकारी दिए । प्रशासन कार्यालयको रेकर्डमा २ सय ४५ वटा सीमास्तम्भमध्ये मर्मत गर्नुपर्ने ७३, पुनर्निर्माण गर्नुपर्ने ४६, बाढीले बगाएका, ३२ र फेला नपरेका ९४ स्तम्भ रहेका छन्।

जिल्ला प्रशासन कार्यालयको तथ्याकंमा सहायक र ठूला गरी १ सय २६ वटा सीमास्तम्भ हराएको उल्लेख छ । बर्सेनि सीमास्तम्भ हराउँदा भारतीय पक्षले सीमास्तम्भ हराएको ठाउँमा नेपाली भूमि दावी गर्ने गरेको स्थानीय गुनासो गर्छन् । सीमास्तम्भ हराएको खबरपछि पुग्ने सीमा सुरक्षा निकायले सीमास्तम्भ हराएको पुष्टि गरेपछि बर्सेनि सीमास्तम्भ हराउनेक्रममा रहेको तथ्य खुलेको छ।

प्रजिअ कुरुम्बाङले सहितको अनुगमन टोलीले बबई कटानबाट ५ वटा सीमास्तम्भ हराएको पुष्टि गरेको हो। ‘०७१ र ०७३ साउन अन्तिममा बबईमा बाढी आएको थियो,’ प्रजिख कुरुम्वाङले भने, ‘त्यसबेला बगाएको हुन सक्छ।’

बर्सेनि हराउने पिलरको खोजीको स्थानीय प्रशासन तदारुकता नदेखाएकाले हालसम्म हराएका सीमास्तम्भको खोजी वा पुनर्निर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ । सीमास्तम्भ मर्मत र पुननिर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिँदै गएको स्थानीयले बताए। नेपाल–भारत सीमा क्षेत्रका स्तम्भ हराउने र तोडफोड हुने क्रम बढेपछि कतिपय ठाउँका दशगजामा समेत विवाद बढेको प्रतिनिधिसभा सदस्य विमला विकले बताइन् । ‘सीमामा विवादरहित बनाउँन जरुरी छ,’ उनले भनिन्, ‘सरकारले सीमा विवादरहित बनाउन काम थालेको छ।’

६५७, ६८१, ६७२, ६९३ र ६९० का मुख्य सीमास्तम्भ (जंगे पिलर)यस अघि हराएका थिए । यसैगरी तीन वर्षअघि सहायक ६७१ र ३३, ६७३ र ३, ६७४ र ४, तथा ६८० र ७ गरी ७१ वटा सीमास्तम्भ हराएको स्थानीय प्रशासनले जनाएको छ । अहिले सीमास्तम्भ हराएको संख्या बढेर १ सय २६ पुगेको हो। सुरक्षाकर्मीले विभिन्न समयमा आएको बाढीले सीमास्तम्भ बगाएको दाबी गरे पनि त्यो दाबीप्रति स्थानीय सन्तुष्ट छैनन् । यसअघि जस्तै बर्सेनि सीमास्तम्भ हराउँदा सीमाबासी चिन्तित छन् । बर्सेनि सीमास्तम्भ हराउने क्रमले नेपालको भूमि भारतीय पक्षले मिच्दै आएको स्थानीयले प्रतिक्रिया दिए।

स्थानीयका अनुसार फत्ता थारूको १० कट्ठा, विश्राम थारूको २ विघा ७ कट्ठा, खटिक थारूको १४ कट्ठा र रामदत्त थारूको १४ कट्ठा जग्गा भारतीय पक्षबाट अतिक्रमण भएको छ । भारतीय पक्षले जबरजस्ती सीमा स्तम्भ सार्दै नेपाली भूमि अतिक्रमण गरिरहेको पीडित किसान बताउँछन्।

गुलरिया ९ चौगर्जीका साहादात अली धोवीको २ बिगाह १० कट्ठा जग्गा बहराइच जिल्लाको सलारपुरका राजदेव गौडले मिचेको स्थानीयले बताए । सीमास्तम्भ नहुँदा जग्गाको लालपुर्जा देखाउँदै जोत्न खोज्दा भारतीय पक्षले धम्की दिने गरेको स्थानीयको गुनासो छ । यता, सशस्त्र प्रहरी उपरीक्षक कोइरालाले सीमास्तम्भको निरीक्षण र अनुगमन भइरहेको दाबी गरे।

प्रकाशित: २१ कार्तिक २०७५ ०२:०७ बुधबार

नेपाल_भारत_सीमा