१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

संखुवासभा– त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ। अब २३ किलोमिटर मात्रै सडकको ट्रयाक खोल्न बाँकी रहेको उत्तरदक्षिण (कोशी) सडक योजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए।       

२०६५ सालमा खाँदबारीमा स्थापना भएको उत्तरदक्षिण (कोशी) सडक योजनाले खाँदबारीदेखि किमाथाङ्का नाकासम्मको सडकको मात्रै काम गर्ने गर्दछ। खाँदबारी–किमाथाङकाको दुरी १ सय ६२ किलोमिटर रहेको छ। 

त्यसमध्ये १ सय ४४ किलोमिटर सडकको ट्रयाक खोलि सकिएको योजनाका प्रमुख इन्जिनियर ज्ञवालीले जानकारी दिए। उनका अनुसार वर्षाको समयमा खाँदबारी–किमाथाङ्का सडकको काम तीव्र गतिमा हुन सकेको थिएन। वर्षा रोकिएकाले अब कामले तीव्रता पाउने बताए। अहिले खाँदबारीदेखि बरुण नदीसम्म (८० किमी) यातायातका साधनहरु चल्न थालेका छन्। त्यस मध्येमा पनि ३४ किलोमिटर सडकको ग्राभेल समेत गरिसकेको छ। 

बरुण नदीदेखि किमाथाङ्कासम्मको सडकलाई चार वटा सेक्सनमा काम अगाडि बढाइएको योजना प्रमुख ज्ञवालीले बताए। ‘बरुण–सिम्बुङ, सिम्बुङ्ग—हटिया, लिङ्गगाम– चेपुवा, चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान–गीताञ्जली कन्स्ट्रक्सन (जेभी) ले काम गरिरहेको छ। किमाथांङ्कादेखि चेपुवातिर आउने सडकखण्डको ट्रयाक ओपन शर्मा एपेक्स कान्छाराम कन्ट्रक्सनले गरिरहेको छ।

सडक निर्माणमा अहिलेसम्म २ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ। आव २०७५÷०७६ को लागि ४७ करोड रुपैयाँ बजेट विनियोजित भएको आयोजना प्रमुख ज्ञवालीले बताए। 

विकटताले काममा ढिलाई

संखुवासभाको भोटखोला क्षेत्रलाई पूर्वको कर्णाली उपनामले समेत चिनिन्छ। त्यसै भोटखोला क्षेत्र विकट भएकाले पनि सोचे अनुसार काममा प्रगति हुन नसकेको आयोजनाको भनाई छ। विकट हिमाली क्षेत्र भएकाले बर्खाको समयमा अत्याधिक पानी पर्ने, उपकरण लैजान समस्या लगायतका विविध कारणले सोचेजति प्रगति हुन नसकेको प्रमुख ज्ञवालीको भनाई छ। त्यस क्षेत्रमा गएको वर्ष हेलिकप्टरमार्फत ट्रयाक्टर र एक्स्काभेटर पु-यााइएपछि कामले केही तीव्रता पाएको उनको भनाई छ। 

‘किमाथाङ्कासम्म नाका खोल्नका लागि चेपुवादेखि किमाथाङ्काबीचमा पर्ने शंखेभीरमा ६ किलोमिटर, महभीरमा ५ किलोमिटर सडक र आसपासका साना–साना अन्य भीरहरुको कारणले ट्रयाक ओपन गर्न असाध्यै गाह्रो छ। ठूला–ठूला भीर भएकाले त्यहाँ समस्या छ। त्यो बाहेक अन्य ठाउँमा ट्रयाक खोल्न सहज नै रहेको छ’ , प्रमुख ज्ञवालीले भने। 

त्रिदेशीय लिंकको रुपमा रहेको यो सडकलाई सरकारलेसमेत विशेष महत्वका साथ हेरिरहेको छ। यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक हो। विशेषगरी यो सडकले १ नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबासीहरुलाई प्रत्यक्ष लाभ पु-याउने छ। चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका भएकाले यो सडक निर्माण भएपछि पनि बाह्रै महिना सहज रुपमा यातायातका साधानहरु संचालन हुने छ।

मित्रराष्ट्र चीनसँगको व्यापार बढाउने, सुदूर उत्तरी भोटखोला क्षेत्रका सर्वसाधारण जनताहरुलाई यातायातको सुविधा प्रदान गर्ने मुख्य लक्ष्य रहेको आयोजनाको भनाई छ।  त्रिदेशीय महत्वका हिसाबले हेरिएको जोगबनी—किमाथाङ्का सडक नै एक नम्बर प्रदेशको भाग्य र भविष्य भएकाले सरोकारवाला र सकार लगायतका सबै पक्षले निर्माणमा जोड दिइरहेका छन्।

प्रकाशित: १८ कार्तिक २०७५ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App