जुम्ला– जुम्ला तातोपानी गाउँपालिका ८ का स्थानीयले बिरामी लैजानको लागि समिट एयरको जहाज चार्टर गरेका छन्। तातोपानी ८ टोप्लाका जीतेन्द्र शाही एक्कासी बिरामी परेको र जुम्ला अस्पतालमा उपचार नभएपछि जहाज चार्टर गर्नु परेको बिरामीका आफन्त जनक शाहीले जानकारी दिए। उनका अनुसार एक लाख ६० हजार रुपैयाँमा समिट एयरको जहाज जुम्ला विमानस्थलमा अवतरण गराइएको हो।
‘जाजरकोट मेला हेरेर घर आउँदै गरेको अवस्थामा टोप्ला लेकमा अत्याधिक चिसोका कारण फोक्सोमा फिज जमेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि भर्ना गरिएको थियो’, स्थानीय जनक शाहीले भने, ‘यहाँको स्रोत साधनले विरामीको उपचार नहुने भन्दै अस्पतालले रेफर गरेपछि जहाज झिकाएका हौं।’ बिरामीलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएको हो। विरामीसंगै जुम्ला अस्पतालका विशेषज्ञ चिकित्सक पनि खटाइएको छ।
उनलाई निमोनिया भइसकेको चिकित्सकहरु बताउँछन्। तर नेपालगञ्ज जाने यात्रु भेटिएपछि बिरामीका आफन्तजनले ८८ हजार ५ सय रुपैयाँ मात्र तिर्नुपरेको छ। बिरामीको कारण जहाज जुम्लामा ल्याइएकोले नेपालगञ्जबाट खाली जहाज जुम्ला ल्याइएको थियो। बिहान संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री उडेको तारा एयरको जहाजमा विरामी पठाउन आएपछि जहाज उडिसकेकोले पठाउन सकिएको थिएन।
बिरामीका दाजु सुरेन्द्र शाहीले भने, ‘मन्त्री चढेको जहाजमा बिरामी पठाउन खोजेका थियौं, बिरामीलाई विमानस्थलमा पुर्याउदा पुर्याउदै जहाज उडेपछि अस्पताल लगेर भेण्टिलेटरमा राख्याैं, पछि चार्टर गरेर जहाज झिकाएपछि बिरामी पठाउन सफल भयौं।’ दाजु सुरेन्द्र विरामीको कुरुवाको रुपमा उनी संगै गएका हुन। पर्यटनमन्त्री रवीन्द्र अधिकारी तारा एयरको जहाजमा चढेर जुम्ला पुगेपछि स्तरोन्नती कार्य रोकेर भएपनि विरामी लिनको लागि जहाज चार्टर फलाइट गरिएको हो।
जहाज चार्टर गर्न टोप्ला गाउँका समाजसेवी, वुद्धिजिवी र राजनीतिक नेताले साथ दिएका थिए। जुम्ला विमानस्थल कात्तिक ८ गते देखि एक महिनाका लागि बन्द भएको थियो, तर मन्त्रीले नेपाल नागरिक उड्ययन प्राधिकरणले बन्द गराएको नियमलाई उल्लंघन गर्दै जहाज ल्याएर आएपछि जुम्लामा सवत्र विरोध थियो।
यसअघि जुम्लाको हिमा गाउँपालिका १ मा भएको जीप दुर्घटनाको घाइते र एक जना मुटु रोगीलाई उपचारका लागि लिन जहाज चार्टर गर्न पहल भएपनि विमानस्थल स्तरोन्नतीका कारण सुरक्षा चुनौती देखाउँदै उडान गर्न दिइएको थिएन। उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरले लगेको थियो। चार्टर गरेर जहाज ल्याएपछि सामान्य खाले विरामी र अत्यावश्यक काम परेका सबैले उड्न पाएका हुन।
प्रकाशित: १५ कार्तिक २०७५ ११:४३ बिहीबार