१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडक मर्मत भएपछि दसैं मान्न सजिलो

बर्खामा बन्द धादिङबेसी–सल्यानटार सडकमा गाडी चल्न थालेपछि स्थानीयको चहलपहल । तस्बिर : सरिता/नागरिक

धादिङ – वर्षामा बिग्रिएका धादिङका ग्रामीण सडक दसैंको मुखमा धमाधम मर्मत हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाढीपहिरोका कारण जेठको पहिलो सातादेखि बन्द जिल्लाका ग्रामीण सडक मर्मत गरी खुलाउन थालिएको हो । सदरमुकाम धादिङबेंसीबाट सल्यानटार, मूलपानी, आगिन्चोक, दार्खा, मैदी, खरी लगायतका ठाउँमा जाने सडक मर्मत गरिएको छ।

सडक मर्मतसँगै सवारीसाधन सञ्चालन हुन थालेपछि दसैंको किनमेल गर्न स्थानीय बासिन्दालाई सजिलो भएको नीलकण्ठ–९ का पदमप्रसाद लम्सालले बताए । ‘बर्खादेखि ठप्प भएका बाटा बल्ल खुल्न थालेका छन्,’ उनले भने, ‘चाडबाडका लागि सदरमुकामबाट चामल, नुन, तेल लगायतका सामान ल्याउन सजिलो भएको छ।’

सदरमुकामसँग जोडिएका स्थानीय तहहरू बर्खा सकिनेबित्तिकै सडक मर्मत गर्न तातिएका छन् । सदरमुकामसँग जोडिएका ज्वालामुखी, सिद्धलेक, खनियाबास, नेत्रावती, त्रिपुरेश्वर गाउँपालिकाहरूले पनि एक्साभेटर लगायतका उपकरण प्रयोग गरी सडक मर्मत गरिरहेका छन्।

चाडपर्वका बेला स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा किनमेलका लागि सदरमुकाम जान सहज होस् भनेर धमाधम सडक मर्मत थालिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने काम थालिएको उनीहरूले जानकारी दिए।

बर्खादेखि ठप्प भएका बाटा बल्ल खुल्न थालेका छन् । चाडबाडका लागि सदरमुकामबाट चामल, नुन, तेल लगायतका सामान ल्याउन सजिलो भएको छ।

दसैंअघि नै सबै क्षेत्रमा जाने सडकमा गाडी चल्न सक्ने गरी मर्मत भइरहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ । त्यसका लागि एक वडा एक सडक मर्मत उपभोक्ता समिति गठन गरी निर्देशन समेत दिइएको नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बताए । ‘अब ठूलो पानी पर्ने सम्भावना छैन,’ उनले भने, ‘धेरै सडक भएकाले तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखेका छौं।’

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गका रूपमा निर्माण थालिएको धादिङबेंसी–सल्यानटार सडक मर्मतसंभारका लागि हरेक वर्ष एक करोड रुपैयाँ हाराहारीमा खर्च भइरहे पनि सडकको अवस्था भने सुधार हुन सकेको छैन । यो सडक हुँदै सल्यानटार, मूलपानी, आगिन्चोक, बसेरी तथा गोरखाका विभिन्न ठाउँमा स्थानीय बासिन्दा जाने गर्छन्।

तत्कालका लागि सदरमुकाम धादिङबेंसीदेखि सल्यानटार, सांकोेष–तिप्लिङ, भर्याङभुरुङ र फुस्रेटार सडकखण्ड मर्मत गरिएको छ । नगरभित्रका प्रत्येक वडाभित्रका सडक मर्मतका लागि दुईदेखि साढे दुई लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको उपप्रमुख भण्डारीले जानकारी दिए । ‘केही सडकमा एक्साभेटर प्रयोग गरेर मर्मत गरिएको छ,’ उनले भने, ‘केहीमा वडाध्यक्षहरू र स्थानीयहरू आफै सडकका खाल्डाखुल्डी पुर्न कस्सिएका छन् ।’ बर्खाका भलले खाल्डाखुल्डी बनाएका सदरमुकामका सडकमा पनि कालोपत्रे गरिएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App