६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

समाचारले जुटायो दम्पती

गोरखा नगरपालिका ४ फिनाम गरापानीकी २० वर्षीया सिर्जना आले र उनका श्रीमान् विजय पौडेल भेट भएपछि जिप्रका गोरखाबाट घर जाने तरखर गर्दै । तस्बिर : नरहरि/नागरिक

गोरखा - गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान् भेटेकी छन्। अविवाहित युवतीले बच्चा जन्माएर श्रीमान् पत्ता नलागेको, दुःखले गुजारा चलाइरहेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनले श्रीमान् भेट्टाएकी हुन्।

‘म धेरै खुसी छु,’ श्रीमान् भेटेपछि आइतबार जिल्ला प्रहरी कार्यालयमा उनले भनिन्, ‘धेरै दुःख सहेर बस्नुपरेको थियो, अब छोराको भविष्य बनाउनतिर लाग्छु।’ गोरखाको भीमसेन थापा गाउँपालिका ५ बगुवाका २० वर्षीय विजय पौडेलले बच्चा आफ्नो भएको स्वीकार गर्दै सिर्जनालाई समेत घर लिएर गएका छन् । सिर्जनाको सूचनाका आधारमा प्रहरीले विजयको खोजतलास गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विमल बस्नेतले बताए । प्रहरीले सिर्जनासँग भेट गराएपछि विजयले आफ्नो बच्चा भएको स्वीकार गर्दै आइतबार परिवारको समेत उपस्थितिमा घर लगेका छन् । विजय र सिर्जना दुवै खुसी छन्।

‘एक साताभित्र बिहे दर्ता गर्ने, छोराको जन्मदर्ता पनि तत्काल गरिदिने, सिर्जना श्रीमान्को घर जाने र मिलेर बस्ने भनेर प्रहरीको रोहबरमा सहमति भएको छ’, गोरखा नगरपालिका ४ फिनामका वडाध्यक्ष खोपबहादुर अधिकारीले भने। समाचार प्रकाशित भएपछि सिर्जनालाई भेटेर सोधपुछ गरेको, प्रहरी, नगरप्रमुख, उपप्रमुख र युवतीका परिवारको सहयोग लिएर केटाको खोजी गरेको उनले बताए।

विजयका दाजु जयरामले भाइबुहारीलाई राम्रो सँग मिलाएर राख्ने बताएका छन्। उनी आफैं भाइलाई लिएर आइतबार प्रहरी कार्यालय आएका थिए । सिर्जनाका बाबु आमा पनि ज्वाँईको पत्तो लागेपछि खुसी भएका छन्। अविवाहित सिर्जजनाले बच्चा जन्माएपछि उनका आमा, बाबु, दाजु र छरछिमेकले हेला गर्दै आएका थिए। साउन २४ गते छोरा जन्माएकी उनले सुत्केरीले पाउनुपर्ने स्याहार पनि पाइनन्। बिहे नगरेकी छोरीले बच्चा पाएको हल्ला फैलिने डरले परिवारले उनलाई बोल्न पनि दिएनन् । सिर्जनालाई श्रीमान् खोज्न पनि सहयोग नगरेपछि फिनाम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सूचनामा समाचार तयार गरिएको थियो।

समाचार प्रकाशित भएपछि चन्द्रा थापा मगरले १२ हजार रुपैयाँबराबरको सामग्री सहयोग गरेकी छन्। यस्तै विभिन्न संघसंस्थाबाट बच्चा र आमा दुवैलाई उद्धार गर्ने आश्वासन आएको थियो। प्रशासनले पहिले श्रीमान् खोज्ने र सिर्जनाले पनि श्रीमान्सँगै बस्ने बताएपछि दुई दिनमा विजय भेटिएका हुन्। विजयले वैशाख यता फोन हराएर सम्पर्क नभएको बताएका छन्। सिर्जना र विजयबीच पहिलेदेखि प्रेमसम्बन्ध थियो। सिर्जना गर्भवती भएको थाहा पाएपछि विजय सम्पर्कविहीन थिए। सुस्त स्वभावकी सिर्जना एक्लैले विजयलाई खोज्न सक्ने अवस्था थिएन। परिवारले पनि सहयोग नगर्दा उनको र शिशुको बिचल्ली भएको थियो।

प्रकाशित: २२ आश्विन २०७५ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App