१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एसिड आक्रमणमा परेका पीडित भन्छन्, ‘अपराधिले कमजोर कानुनको फाइदा लुटे’

एसिड आक्रमणमा परि उपचारार्थ रहेका युवतीहरू आफ्नो पीडा सुनाउँदै ।   तस्बिर अनिल/नागरिक

सिन्धुली – एसिड आक्रमणमा परी उपचारार्थ रहेका केही युवतीले कानुन कमजोर भएकाले आफूहरू पीडित हुनु परेको बताएका छन्। बलत्कार, एसिड प्रहार तथा सम्पूर्ण महिला हिंसा विरुद्ध सिन्धुलीमा भएको मौन र्यालीमा सहभागी हुन विभिन्न स्थानबाट आएका एसिड पीडित महिलाहरूले नेपालको कानुन कमजोर भएकाले आफूहरू पीडामा रहेको बताए। 

सिन्धुली ट्रष्ट नेपाल नामक संस्थाले आयोजना गरेको उक्त र्यालीमा सहभागी हुन २०७० साल वैशाख ९ गते हेटौडास्थित आफ्नै पसलमा अपराधिबाट एसिड आक्रमणमा परेकी विन्दाबासीनी कंसाकारले नेपालमा कानुन भएपनि कार्यान्वयन नभएको दाबी गरिन्।

१ सय २० रुपैयाँमा बजारमा जताततै पाइने एसिडले मेरो अनुहार कुरुप बनायो, उनले भनिन्,‘एसिड बेच्न पनि कडाइ हुनुपर्छ।’ उनले एसिड लिनेलाई किन के काममा प्रयोग गरिने सम्पूर्ण विवरण सहित मात्रै उपलब्ध हुने व्यवस्था भए आक्रमणकारी सहजै पत्ता लाग्ने बताइन्।’  प्रहरी प्रशासनले मेरो पिडा एउटा कानले सुनेर अर्को कानले उडाउने काम मात्रै गरेको छ, उनले भनिन्, एसिडकको पिडा आजपनि म सहज बताउन सक्दिन। उनले गहभरी आशु झार्दै समाजले समेत आफूहरूको अनुहार बिग्रेको भन्दै हेला गर्ने गरेको सुनाइन्।

एसिड आक्रमणकै कारण मैले पाँच वर्षमा १८ ओटा सर्जरी गराएको छु, हाम्रो पीडा कस्ले बुझ्छ र उनले भनिन्। २०७१ साल फागुन १० गते ट्युसन पढ्ने क्रममा एसिड आक्रमणमा परेकी संगीता मगरले नेपालमा बनेको कानुन समेत लागु हुन नसक्दा दैनिक आक्रमणमा महिलाहरू पर्नु परेको बताइन। हिजो म त्यो अपराधिको निसानामा परे अर्को दिन अरू युवतीहरू नपर्लान् भन्न सकिदैन त्यसैले युवतीहरूको सुरक्षा र संवेदनशीलतामा मध्यनजर गरेर हामीले यो अभियान चलाएका हौ, उनले भनिन्,‘आगामी दिनमा हामीजस्ता पीडित कोही हुनु नपरोस्।’ कानुन किताबमा मात्रै भएको र व्यवहारमा लागु हुन नसक्दा महिलाहरू पीडित बन्नु परेको उनको भनाई थियो।

युवतीहरू सबै गलत नहुने र केही महिला तथा युवतीको गल्तिका कारण समाजका हरेक महिलाले सजाए पाउनुपर्ने अवस्था रहेको भन्दै उनले  समाजको हेर्ने नजर समेत परिवर्तन हुनुपर्ने बताइन्। समाजले हामीलाई टाढा बनायो, उनले पीडा पोख्दै भनिन्, ‘एसिड आक्रमणमा परेका युवतीलाई समाजले समेत सहज स्विकारेको अवस्था छैन।’ संगीतालाईनै हानेको एसिडको आक्रमणमा परेकी सिमा बस्नेतको पनि एसिडको पीडा समाजले बुझ्न नसकेको बताउछिन्।

हाम्रो माग धेरै छैन, प्रत्येक महिला तथा युवतीले सुरक्षित महसुस गर्ने अवस्था आओस्, आक्रमण गर्ने र पीडित बनाउनेलाई हदैसम्मको कारवाही हुनुपर्छ।’ उनले समाजमा एसिड आक्रमण मुक्त गर्न अभियाननै चलाउनुपर्ने अवस्था रहेको बताइन्। लामो समयदेखि समाज सेवामा सक्रिय रहेका समाजसेवी उज्वलविक्रम थापाको पहलमा सदरमुकाम सिन्धुलीमाढीमा मौन र्याली तथा बलत्कार, एसिड प्रहार तथा सम्पूर्ण महिला हिंसाविरुद्ध हस्ताक्षर संकलन समेत गरिएको थियो।

एसिड आक्रमणमा परेका युवतीहरूको ठेगाना जहाँ भएपनि हाम्रै चेलीहरू हुन् त्यसैले उहाँहरूको न्यायका लागी हामीले यो कार्यक्रम सिन्धुलीमाढीमा आयोजना गरेका हौ, सिन्धुली ट्रष्टका संयोजक समेत रहेका उज्ज्वलविक्रम थापाले भने,‘तेजाब आक्रमणमा परेका चेलीको शारीरीक चोट जति छ, हृदयको चोट त्यो भन्दा धेरै गहिरो छ।’ उनले यस्तो गम्भीर अपराध गर्नेलाई हदैसम्मको कारवाही तथा जन्मकैद नभएसम्म ति चेलीहरूले न्याय नपाउने बताए। थापाले एसिड आक्रमण लगायत पीडामा परेका महिला तथा पुरुषलाई सहयोग गर्दै आएका छन्। 

प्रकाशित: २० आश्विन २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App