२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी जाम कम गराउन अस्थायी पोष्ट र विशेष फोर्स

नागढुङगा–नौबिसे सडकखण्डमा खटाइएको प्रहरीको विशेष टोली ।    तस्बिर : नागरिक

धादिङ – राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा हुने बढ्दो जामलाई कम गर्न प्रहरीले अस्थायी पोष्ट स्थापना गरिएको छ। काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीको टोलीले विशेष फोर्स खटाएर जाम कम गराएका छन्। 

लामो जामले चाडपर्व मनाउन हिँडेकाहरू बाटोमा नै अलपत्र परेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त, प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डको निरीक्षण गरि विशेष योजना ल्याएको हो। 

चाडपर्वको समयमा सवारी जाम अत्याधिक बढेको गुनासो आएपछि व्यवस्थित गर्न आइजीपी खनालले निर्देशन दिएका थिए। खनालको निर्देशन लगत्तै ३ प्रहरी अधिकारीले नागढुंगाको स्थलगत अवलोकन गरेका हुन्। अवलोकनपछि नागढुंगा–नौबिसे खडकखण्डमा दैनिक हुने जामलाई व्यवस्थित गर्न प्रहरी नायब निरीक्षक राजकुमार कार्कीको कमाण्डमा २३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। धादिङखण्डमा पर्ने कानाकोटमा अस्थायी प्रहरी चौकी स्थापना समेत गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बिकले जानकारी दिए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौंको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो। चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले राखिएको प्रहरी उपरीक्षक बिकले बताए। ‘नागढुंगा–खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ जाम हुने गरेको छ, बिकले भने, चाडपर्वमा घर हिँडेकालाई समस्या परेकाले प्रहरी महानिरीक्षकको निर्देशनमा जनशक्ति खटाएका हौं।’

प्रहरीका अनुसार उपत्यका भित्रिने र बाहिरिने नाकाहरू थानकोट, नागढुंगा, नौबिसे लगायतमा मापसेसहितको चेकजाँच टोली पनि खटिएको छ। टोलीले लेन मेन्टन गराउने, ओभरट्याक व्यवस्थित गराउने, सडकमा हुने जाम हुन नदिने, सवारी आवागमन सुचारु गर्ने र सडकमा बिग्रिएको सवारी तत्काल हटाउने लगायतका कार्य गरिने बताइएको छ। जिल्लाको तीन पिप्ले, झ्याप्लेखोला, खत्री पैवा लगायतका स्थानमा सडकको अवस्थाको कारण जाम हुने भएकाले त्यस क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न विषेश सुरक्षा प्रबन्धसमेत गरिएको प्रहरीले जानकारी दिएको छ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्य स्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनिकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी दिए। दशैंको बेला सडकमा यात्रुलाई हुने सास्ती कम गर्न र सार्वजनिक सवारीको सहज व्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई दिएको निर्देशन अनुसार यस्तो व्यवस्था हुन लागेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। सडक निर्माण तथा सामान्य सवारी बिग्रँदा पनि ठुलो जाम हुन थालेपछि प्रहरीले फोर्स स्थापना गरेको हो।

उकालो बाटो, घुमाउरो घुम्ती र खाल्डाखुल्डी बाटोका कारण यस सडकखण्डमा दैनिक जाम हुने र सवारी साधन बिग्रिने गरेको छ। क्षमता भन्दा बढी तौल बोकेर हिँडेका मालबहाक सवारी बाटोमा नै बिग्रिएर घण्टौंसम्म जाम हुने गरेको छ। त्यसलाई व्यवस्थित गर्न ४० टन क्षमताको क्रेन समेत राखिसकिएको छ। चाडपर्वमा खाद्यन्न लगायतका सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिदा झनै जाम खेप्नु परेको छ। देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एक मात्र स्थलमागको रुपमा चिनिने त्रिभुवन राजपथको नौविसे–नागढुंगा सडकखण्ड बिग्रिदाँ यात्रा जोखिमपूर्ण हुने गरेको छ। 

ठाउँठाउँमा सवारी बिग्रिदा र जीर्ण सडकका कारण सवारी जाम हुने गरेको छ। उकालो बाटोमा बढी भार बोकेका ट्रकहरू गुड्न नसकी बाटोमै बिग्रने गरेकाले दैनिक जसो ट्राफिक व्यवस्थापनमा समेत असहज हुने गरेको प्रहरी उपरीक्षक बिकले बताए। सवारी आवागमनमा भएको जामको पीडा यात्रुहरूले बेहोरिरहेका छन् भने प्रहरीले जाम खुलाउन सधै सास्ती खेप्नुपरेको छ। बाटोमै बिग्रिएका सवारी साधनलाई तत्काल सडकबाट हटाउने कुनैपनि उपकरण प्रहरीसँग नहुँदा ट्राफिक प्रहरीले समेत आलोपालो गरेर सवारी पास गराउने गरेका थिए। 

सामान्य समयमा पनि ठाउँ ठाउँमा सवारी बिग्रिनाले यात्रुले सास्ती बेहोर्नु परेको हो। अहिले चाडपर्वको समयमा सवारीको चाप बढ्दा दोब्बर जाम बढ्ने गरेको छ। चाडपर्वका लागि सामान लिएर काठमाडौं भित्रिने मालबहाक ट्रक तथा निर्माण सामग्री बोकेका लरीहरू बाटोमा नै बिग्रिने गरेको छ। यसका लागि प्रहरीले ठाउँठाउँमा मेसिनहरू राखेको छ। ‘उकालो भएर जांदै गरेका मालवाहक सवारीसाधन कति बेला सडकमै बिग्रन्छ पत्तै हुँदैन’ बिकले भने, ‘सवारी बिग्रिदा तत्काल हटाउने र्याकर र लोडर मेसिन समेत राखेका छौं।’ नागढुंगामा र्याकर र खत्रीपौवा, नौबिसेमा लोडर मेसिन राखिएको प्रहरीले जानकारी दिएको छ।

सवारी जाम कम गराउन दिउँसोको समयमा निर्माण सामग्री बोकेका लरीहरु धार्के, नौबिसे लगायत फराकिलो ठाउँ भएका बाटोहरूमा साइड लगाउने र रातीको समयमा मात्र पठाइने गरेको प्रहरीले बताएका छन्। नागढुंगादेखि कलंङकीसम्म निर्माण गरिँदै गरेको सडकको काम पनि तीब्र गतिमा संचालन गरि सवारी आवागमन सहज बनाइने बताइएको छ।  सडक फराकिलो बनाउने भन्दै बर्षेदेखि सडकका विभिन्न ठाउँमा निर्माण कार्य भएपनि ढिलासुस्तीले वरपर बसेका र यात्रा गर्नेहरूलाई असहज बनाएको भन्दै स्थानीयले छिटो कार्य गर्न दबाब दिएका छन्।  

प्रकाशित: २० आश्विन २०७५ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App