११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

नौबिसे–नागढुङ्गा सडकः वैकल्पिक मार्ग प्रयोगको तयारी

नौबिसे–नागढुङगा सडकमा देखिएको जाम ।  तस्बिरः नागरिक

धादिङ – नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ। चाडपर्वको बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो। हरेक दिन नौबिसे–नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भइ उक्त दूरी पार गर्न ४ घण्टाभन्दा बढी समय लाग्ने भएकाले नौबिसे–नागढुंगा सडकमा सवारी सन्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्ने गरी सडकको निरीक्षण तथा छलफल गरिएको छ। 

पूर्व मन्त्री एवं प्रदेश सांसद राजेन्द्र पाण्डेले धार्के–सितापाईला सडक खण्डको निरीक्षण गर्दै नौबिसे–नागढुङ्गा सडकमा रहेको खाल्डाखुल्डिलाई पुर्न सडक कार्यालयले प्रहरीसँग समन्वय गरेर तत्काल काम गर्नुपर्नेमा जोड दिए। उनले वैकल्पिक सडकको रुपमा रहेको धार्के–सितापाईला सडकमा साना सवारी सन्चालन गर्नका लागि प्रयास गर्न अनुरोध पनि गरेका छन्। धादिङको धार्केबाट सितापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको बताए। 

वैकल्पिक मार्ग धार्के सितापाइला २३ किलोमिटर र धार्के कलंकी २५ किलोमिटर रहेको छ। वैकल्पिक सडकमा धुलो उड्न नदिन दैनिक पानी हाल्नुपर्ने धुनीबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले बताए। ‘नौबिसे–नागढुङ्गा सडक खण्डमा एउटा सवारी साधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन’ आचार्यले भने, ‘दुई तीन वटा सवारीसाधन बिग्रीएपछि झन त्रिभुवन राजपथको सो सडक खण्ड अवरुद्ध हुने गरेको छ, सवारी चापलाई कम गराउन वैकल्पिक बाटो खोजी गरेका हौँ।’  

नौबिसे–नागढुङ्गा सडकको वैकल्पिक सडकको रुपमा रहेको धार्के–सितापाईला सडक निर्माण गरिँदै । 

सबैभन्दा पूरानो राजमार्गको रुपमा चिनिने नौबिसे नागढुङ्गा सडकमा पर्ने त्रिभुवन राजपथ सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ। निर्माण सुरु गर्दा दिनमा एक हजारसम्म सवारी साधन गुड्न सक्ने गरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेकोले पनि सवारी जाम बढेको हो। सडकमा कुनै सवारी बिग्रीएमा गाडी उठाउने साधन (र्याकर) को व्यवस्था समेत छैन। 

हरेक दिन हुने जामलाई कम गर्न ठूला, अत्याधिक भार भएका र लामो दूरीका सवारी साधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने बताइएको छ। अन्य सवारी साधनलाई धार्के सितापाइला सडकको वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारी साधान सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको हो।  

दैनिक जामले सास्ती
चाडपर्व नजिकिएको छ, शहर बजारमा बसोबास गर्नेहरू बिस्तारै गाउँ फर्किन थालेका छन्। विभिन्न पेशा र व्यवसाय गर्नेहरूलाई घर पुग्न हतारो परेको छ। चाडपर्वका लागि खाद्यन्न तथा कपडाहरू नौबिसे–नागढुङ्गाको बाटो हुँदै राजधानी काठमाडौँ भित्रिएका छन् भने दशै मनाउन बिस्तारै राजधानीबाट बाहिरिन थालेका छन्। राजधानी छिर्ने मुख्य नाकाको रुपमा लिइने नौबिसे–नागढुङ्गा सडकमा दैनिक लामो जाम व्यहोर्नु परेको छ।   नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु र चालकले केही दिनदेखि सास्ती भोग्दै आएका छन्। धादिङको धार्केदेखि काठमाडौँको कलंकीसम्म नै ठाउँठाउँमा लामो जाम हुँदा यात्रु र चालकले सास्ती भोग्नु परेको हो। 

ट्राफिक प्रहरीका अनुसार ठूला मालवाहक ट्रक र लरीका कारण काठमाडौंको कलंकीदेखि धादिङको धार्केसम्म जाम हुने गरेको हो। दसैँका लागि सामान ढुवानी गर्न काठमाडौँ आउने नेपाली र भारतीय लरीका कारण एकसातादेखि ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी कार्यालय नागढुंगाले जनाएको छ। दशैँको मुखमा यसरी जाम हुँदा यात्रुहरू मर्कामा परेका छन्। ट्राफिक प्रहरीका अनुसार ठूला मालवाहक ट्रक र लरीका कारण धादिङको धार्केदेखि काठमाडौंको कलंकीसम्म जाम हुने गरेको छ। यी बाटोमा एकघण्टाको बाटो पार गर्न ७–८ घण्टासम्म लाग्ने गरेको छ। 

दिनहुँ झण्डै डेढसय लरी ओहोरदोहोर गर्ने गरेकाले यात्रु १२ घण्टासम्म जाममा बस्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ। निकै ठूला गाडी घुमाउरो बाटोमा बिस्तारै गुड्ने र केही ठाउँमा रोकिने भएका कारण जाम बढेको हो।  सामान बोकेका ठूला गाडीलाई यात्रु बसले घुमाउरो र उकालो सडकमा ओभरटेक गर्न नसक्ने भएकाले जाममा बस्नुको विकल्प नभएको प्रहरीको भनाई छ। दिनहुँ झण्डै डेढसय लरी ओहोरदोहोर गर्ने गरेकाले यात्रु १२ घण्टासम्म जाममा बस्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: १४ आश्विन २०७५ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App