३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

छुर्पीको व्यापारमा मन्दी

ताप्लेजुङको सिदिङ्बा गाँउपालिकामा रहेको चौरी गोठमा सुकाइएको छुर्पी । तस्बिरः गिरिराज/नागरिक

पाँचथर – ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको बिखेचौर भन्ने ठाउँमा चौरी गोठ चलाएर बसेका भीम भण्डारीलाई अहिले चिन्ता बढिरहेको छ। यहाँ उत्पादन भएको चौरीको छुर्पीको कारोबार साह्रै सुस्त भएकाले उनी चिन्तित देखिन्छन्। डेढ दशक यता गोठमा बसेर पशुपालन गरिरहेका भण्डारीको अनुभवमा यो वर्ष छुर्पी राम्रोसँग बिक्री हुन सकेको छैन।

छुर्पी विदेश निर्यात हुने क्रम घटेपछि यस्तो समस्या आएको अन्य व्यापारीहरूले आफूलाई सुनाएको उनको भनाई छ। भण्डारीलाईमात्र हैन यतिबेला पशुपालक किसान र उत्पादकहरूलाई छुर्पी समयमा बिक्री नहुँदा चिन्ता बढेको छ। छुर्पी अमेरिका निर्यात हुने क्रम रोकिएपछि यस्तो समस्या आएको उत्पादकहरूको भनाई छ। ‘अमेरिका जान रोकिएछ। यहाँको छुर्पी बिक्नै मान्दैन। बोरमा थन्काएर राख्नुपर्छ। आगामी दिनमा भाउपनि खस्कीने हो कि भन्ने पीर छ,’ भण्डारीले नागरिकसँग भने। यसअघि छुर्पी अमेरिक डक फुडको रुपमा बिक्री हुने गरेको थियो।

फ्याट धेरै भएको भन्दै अमेरिकामा छुर्पी नलगी उतै उत्पादन थालेको बताइन्छ। विगतमा सरसफाई लगायतका विषय उठ्ने गरेको पाइन्थ्यो। परम्परागत प्रविधिबाट गोठमा उत्पादन गरिएको तथा डेरीमा उत्पादन भएको छुर्पी विक्री हुन समस्या देखिएको हो। छुर्पी बिक्री नभएपछि व्यापारीको सक्रियता समेत घट्दै गएको छ। लेकाली क्षेत्रमा उत्पादित छुर्पी समयमा नबिकेपछि पाँचथर–ताप्लेजुङका गोठ सञ्चालकहरू चिन्तित भएको फालेलुङ गाँउपालिकास्थित सिक्रेका गोठ व्यवसायी राजेन्द्र  राईले बताए। आन्तरिक बजारमा छुर्पीको व्यापार खुम्चिएको छ।

भारतमापनि छुर्पी जान कम भएको छ, राईले भने। ‘छुर्पी किन्ने नै कम आउन थाले। भाउपनि घट्दै छ। १ हजार रुपैयाँ प्रतिकेजी बिक्ने गरेको छुर्पीको भाउ ८ सयमा झरेको छ। छुर्पीले लगानी डुबाउला जस्तो छ,’ राईले नागरिकसँग कुराकानी गर्दै भने, ‘दुग्घजन्य उत्पादनको बजार नखोज्ने हो भने समस्या हुने अवस्था छ। चौरीको दुधबाट बनेको छुर्पीको नै यो हालत भएपछि जटिल परिस्थिति आउन सक्छ।’यत्रो वर्ष बगाएको पसीनाको फल आगामी वर्षहरूमा नआउने हो कि भन्ने चिन्ताले सताएको अर्का गोठ सञ्चालक  डम्बर भण्डारीले बताए। अहिले छुर्पी ढिलो ढिलो गरी बिक्री हुने गरेको उनले सुनाए। व्यापारीले छुर्पी किन्न प्रतिस्पर्धा गर्न छाडेको उनले सुनाए। 

चौरी गोठमामात्र नभई गाईको दुधबाट उत्पादित छुर्पी पनि बिक्रीमा समस्या देखिन थालेको छ। गाउँ गाउँमा सञ्चालन भएका डेरी विस्थापित हुनपर्ने अवस्था आएको व्यावसायीहरू बताउछन्। अमेरिका जान छोडेपछि छुर्पी निर्यात रोकिएको भन्ने कुरा यकिन नभएको डेरी संचालक उपेन्द्र बाँस्कोटाले बताए। पाँचथरको उत्तरी फालेलुङ, याङबरक, ताप्लेजुङको सिदिङमा, सिरिजङ्गा, फक्तालुङ, मिक्वाखोला, मेरिङदेन र मैवाखोला लगायतका ठाँउमा चौरी गोठ रहेका छन्।

प्रकाशित: १० आश्विन २०७५ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App