रसुवा– रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाले यही महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। २०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तोकिएको समय सीमाभीत्र निर्माण कार्य नसकेपछि दोस्रो पटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ।
दोस्रो पटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा आयोजना देखिन्छ। ६.४२ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य अहिले ठप्प छ। वर्षाको कारण असारबाट निर्माण कार्य रोकिएको आयोजनाले असोजको दोस्रो सातादेखि निर्माण कार्य अगाडि बढाउने तयारी गरेको छ।
आयोजनाको सामग्री सर्भिसिङ गरेर निर्माण कार्य सुरु गरिने आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गा सुमन जोशीले बताए। वर्षा, नाकाबन्दी र बाढीपहिरोको कारण आयोजनाको काम पछि धकेलिएको प्रोजेक्ट इन्चार्ज जोशीको भनाइ छ।
वर्षाको समयमा र हिउँ पर्ने समयमा हाम्रो आयोजनाको निर्माण कार्य ठप्प हुने गरेको छ। असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ।
यस वर्ष मनसुन चाँढै सुरु भएको कारण निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाले दिएको जानकारी अनुसार अहिले पावर हाउस निर्माण, प्रशारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको छ।
९३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ। पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ, प्रोजेक्ट इन्चार्ज जोशीले भने, तीन हजार आठ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ।
आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने बताइएको छ। हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन, प्रोेजेक्ट इन्चार्ज जोशीले भने, उत्पादित विद्युत खेर जान नदिन प्रशारण लाइन निर्माणमा पनि काम भइरहेको छ।
प्रकाशित: ४ आश्विन २०७५ ०२:२८ बिहीबार