२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रहस्यमय निर्मला हत्या प्रकरण

काठमाडौं – निर्मला पन्तका हत्यारालाई कानुनी कारबाहीको दायरामा नल्याइएको भन्दै संसद्मा चिन्ता व्यक्त गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले दुई महिना बित्न लाग्दा पनि निर्मलाका हत्यारा पहिचान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको बलात्कार र हत्या घटना पञ्चायतकालमा नमिता र सुनिता भण्डारीको हत्या जस्तै रहस्यमय बन्दै गएको बताए।

पञ्चायतकाल (२०३८ साल) मा काठमाडांैबाट पोखरा घुम्न गएका नमिता र सुनिताको शव सेती नदीमा भेटिएको थियो । नमिताको शव वैशाख २९ गते सेती नदी र सुनिताको शव असार ६ गते सेती नदी बगरमा फेला परेको थियो । उनीहरूलाई बलात्कारपछि हत्या गरेर नदीमा फालिएको भनिए पनि तत्कालीन सत्ताले त्यसको खोजीनीतिमा ध्यान दिएन । नमिता र सुनितासँगै घुम्न गएकी मीरा पराजुलीको अवस्था अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिनिधिसभा बैठकमा कार्कीले निर्मलाको पनि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ तर हत्यारा पहिचान भएको छैन । दुई महिना बित्न लाग्दा पनि निर्मलाका हत्यारा पत्ता लाग्न नसकेको भन्दै उनले सरकारले न्याय दिन नसकेको बताए । निर्मलाको हत्यापछि देशभर गरी २ सय २५ जनाजति बालबालिका र महिला बलात्कृत भएको उनले बताए । ‘बलात्कार शृंखला बढेको छ, पञ्चायतकालमा नमिता र सुनिता जस्तो निर्मला हत्याकाण्ड नबनोस्,’ उनले भने, ‘यो नेपाली समाजको कलंकको विषय हो । सरकारले निर्मला पन्तका हत्यारालाई कारबाही प्रक्रियामा ल्याउन अलमल गरेकोमा हामी चिन्तित छौं।’

कांग्रेसकै अर्का सांसद प्रदीप गिरीले सरकारले निर्मलाका हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने बताए । अपराधीलाई जोगाएर सुन्दर समाज निर्माण गर्न नसकिने उनले बताए।

प्रकाशित: ३ आश्विन २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App