९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पहिलो किस्ता बुझेर चुपचाप

रसुवा – भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन् । घर निर्माणका लागि पहिलो किस्ता लिएका ८ सय ३४ भूकम्पपीडितले घर निर्माण सुरु नै नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।

वि. सं. २०७२ मा गएको भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न पहिलो किस्ताबापत उनीहरूले ५० हजार रुपैयाँ लिएका थिए । पूर्वाधार कार्यालयका अनुसार कालिका गाउँपालिकामा ८४, गोसाइँकुण्डमा १ सय १३, नौकुण्डमा १ सय ७७, उत्तरगयामा ३ सय १५ र आमाछोदिङ्मोमा १ सय ४५ पीडितले घर निर्माण थालेका छैनन्।

घर निर्माण गर्न नचाहने लाभग्राहीलाई किस्ता रकम फिर्ता गर्न कार्यालयले अनुरोध गरेको छ । पाँचवटै स्थानीय तहले तत्काल घर निर्माण गर्न स्थानीय लाभग्राहीलाई सूचित गरेका छन् । यसैबीच जिल्लामा अहिलेसम्म करिब ६२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् । जिल्लामा १२ हजार ४ सय ९० लाभग्राही छन् । जसमा ११ हजार २ सय २३ ले पहिलो, १० हजार ९२ पीडितले दोस्रो र ७ हजार ७ सय ३९ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन्।

गैरसरकारी संस्थाको सहयोगमा रसुवमाा ८ सय २७ घर निर्माण सकिएका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ३ सय ४३, लुथरनको सहयोगमा ९१, लुमन्थीको सहयोगमा २ सय ३५, बतासको सहयोगमा १ सय ५२ र ओएम नेपालको सहयोगमा ६ वटा घर निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।

जिल्लामा पछिल्लो समय पुनर्निर्माणले गति लिएको छ । घर निर्माणले गति लिएसँगै भूकम्पपीडित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् । तर, वर्षाका कारण ग्रामीण सडक बिग्रिएकाले निर्माण सामग्री ल्याउन स्थानीयलाई सास्ती भइरहेको छ । अहिले सडक मर्मत गर्ने तयारी थालिएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App