१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘खुला सीमाले अपराध बढायो’

काठमाडौं - भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले खुला सिमानाका कारण ९९ प्रतिशत भारतीय अपराधिसँग नेपाली नागरिकता भएको बताएका छन्। स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले आयोजना गरेको ‘खुला सीमा : अवसर र चुनौती’ विषयक गोष्ठीमा बुधबार उपाध्यायले खुला सीमाका कारण भारतीय अपराधीले पनि नेपालमा आएर सहजै नागरिकता बनाउने र आपराधिक गतिविधिमा संलग्न हुने गरेको बताए। ‘भारतीय सुरक्षाकर्मीले पक्राउ गरेमा त्यस्ता अपराधीले आफू भारतीय नभएको भन्दै नेपाली नागरिकता देखाएर उम्किने गरेका छन्’, उनले भने। उपाध्यायले समय सापेक्ष ढंगले खुला सीमालाई नियमन गर्नुपर्ने बताए।

उनले नेपाली पक्षले भारतीय पक्षसँग प्रस्टरुपमा कुरा राख्न नसक्दा भारतले नेपालको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताविपरीत बाँध तथा संरचना निर्माण गरिरहेको दाबी गरे। ‘नेपाली नेतृत्वमा भएको हीनताबोध र लघुताभासले गर्दा समस्या उत्पन्न भएको हो,’ उपाध्यायले भने। प्रस्टरुपमा कुरा राख्दा भारतीय पक्षले पनि सुन्ने उपाध्यायको भनाइ थियो । उनले नेपालको सीमाक्षेत्रमा अवैध रुपमा बनेका बाँध तथा सडकका बारेमा आफूले भारत सरकारसँग प्रश्न राख्दा साउथ ब्लकले जवाफ दिन नसकेको पनि बताए।

लामो समयसम्म भारतीय कर्मचारीले चलाएको नेपाल नीति अहिले प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले हेरिरहेकाले नेपाल–भारतबीचका समस्या समाधानका लागि यो नै उपयुक्त समय भएको उपाध्याएको भनाइ थियो। अहिलेको सरकारले मेहनत गरे भारत काम गर्न तयार रहेको उनले बताए।

उपाध्यायले नेपाल र भारतकाबीचको खुला सीमाका कारण नेपाली युवा लागुऔषधको लतमा फस्दै गएको समेत बताए। भारतीय सुरक्षाकर्मीले भारतीयलाई लागूऔषध बिक्रीमा रोक लगाए पनि नेपाली युवालाई बिक्रीमा रोक नलगाउँदा यताका युवा उता गएर लागूऔषध खरिद गर्ने गरेको उपाध्यायले बताए।

कार्यक्रममा डेनमार्कका लागि पूर्वराजदूत विजयकान्त कर्णले सीमा क्षेत्रका नागरिकको जीविकासँग जोडिएको खुला सीमालाई हचुवाका भरमा बन्द गर्न नहुने बताए। ‘दिल्ली र काठमाडौंमा बसेर सीमा नियमनका कुरा गर्न सहज छ तर खुला सीमा त्यहाँका नागरिकको लाइफलाइन हो, त्यसैले यस्ता विषयमा गहिराइमा बुझ्न आवश्यक छ,’ उनले भने। उनले खुला सीमाका कारणले भन्दा पनि राज्यको आन्तरिक कारणले खतरा हुने बताए। कर्णले खुला सीमा दुवै देशका लागि निकै ठूलो अवसर भएकाले त्यसको सदुपयोग गर्नुर्पे बताए। ‘खुला सीमाको महत्व कति छ भन्ने कुरा हामी सीमाको तीन किलोमिटरभित्र बस्नेलाई मात्र थाहा हुन्छ,’ कर्णले भने। उनले युरोपेली देशमा पनि खुला सीमा हुने बताए। नेपाल र भारतबीच राजनीतिक मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेकाले सीमा बन्द गर्ने कुरा उपयुक्त नहुने उनको भनाइ थियो।

ब्राजिलका लागि पूर्वराजदुत प्रद्युम्नविक्रम शाहले वैज्ञानिक ढंगले सीमा नियमन गर्नुपर्ने बताए । नेपाली सेनाका पूर्व सहायक रथी डा. उमेश भट्टराईले नेपालीहरु भूराजनीतिमा निकै कमजोर भएकाले बेलाबेलामा समस्या भोग्नुपरेको बताए। उनले छिमेकीले गरिदिन्छ कि भन्ने आसमा बस्दा नेपाल अघि बढ्न नसकेको बताए । उनले भावनाका आधारमा भन्दा पनि न्याय हुने गरेर सीमाको नियमन गर्नुपर्ने बताए। परराष्ट्र मामिला जानकार डा. इन्द्रकुमारी अधिकारीले खुला सीमाको फाइदा नेपाललाई भन्दा भारतलाई बढी रहेको बताइन्। उनले सीमाका विषयमा अरुलाई मात्र दोष दिनुभन्दा पनि नेपालकै संयन्त्र मजबुत बनाउनुपर्ने बताइन।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले अवाञ्छित तत्वले खुला सीमालाइ हदैसम्म दुरुपयोग गरेको बताए। खुला सीमाका कारण सीमापार आतंकवाद तथा अपराध बढेको श्रेष्ठको भनाइ थियो। खुला सीमाका कारण नक्कली नोट, लागूऔधष ओसारपसार, मानव तस्करीजस्ता समस्या भयावह हुँदै गएको श्रेष्ठले बताए। श्रेष्ठले आफ्नो स्वार्थका लागि भारतसँगै चीनले समेत नेपाली भूभागमाथि धावा बोल्ने गरेको बताउँदै भारत र चीनका बीचमा लिपुलेकका विषयमा दुईपक्षीय सम्झौता हुनु यसैको परिणाम भएको दाबी गरे। श्रेष्ठले नेपाल र भारतका बीच खुला सीमा बनाउने विषयमा कुनै पनि सहमति वा सम्झौता नभएको बताए। नेपालको चारकोसे झाडीको काठ भारतमा लगेर रेलको पटरीमा लगाउन, नेपालको जडीबुटी लैजान बिस्तारै भारतले नै सीमा खुला बनाउँदै लगेको र त्यसमा नेपाल सरकार मौन हुँदा सीमाक्षेत्रमा सहज आवतजावत हुन थालेको श्रेष्ठले बताए। नेपालमा चीनको प्रभाव बढ्दै गएपछि पछिल्लो समय भारतले पनि सीमा नियमनको कुरा गर्न थालेको श्रेष्ठको भनाइ थियो।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. उद्धव प्याकुरेलले खुला सीमा नेपाल र भारतबीचमा लाइफलाइन भए पनि हरेक किसिमका समस्याको दोष खुला सीमालाई लगाउने गरिएको बताए। अन्तर्राष्ट्रिय खुला सीमा : अवसर र चुनौती विषयक कार्यपत्र पेस गरेका प्याकुरलेले खुला सीमाले दुवै देशका नागरिकलाई आम्दानीको अवसर दिएको र खुला सीमाकै कारण समस्याका बेला नेपाली राजनीतिक नेतृत्वले समेत भारतमा आश्रय लिन पाएको बताए।

प्रकाशित: २१ भाद्र २०७५ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App