१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हस्तान्तरणअघि नै छाना चुहिँदा ५० लाख अतिरिक्त खर्च

बिपी प्रतिष्ठानले हस्तान्तरणअघि नै ५० लाख रुपैयाँ खर्चेर मर्मत गरेको बी ब्लक बिको छानो, जुन अहिले जीर्ण बनिसकेको छ ।    तस्बिर : रोहित/नागरिक

धरान – भारतीय दूतावासको सहयोगमा निर्माण भएको नयाँ कलेज भवन(न्यू एकेडेमिक ब्लक) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझै हस्तान्तरण गरिएको छैन । तर भवन हस्तान्तरणअघि नै ५० लाख रुपैयाँ अतिरिक्त खर्च गरेको पाइएको छ।

नियमत भौतिक संरचना निर्माण गरेपछि पनि एक वर्षभित्र कुनै खराबी देखिए निर्माण कम्पनी(ठेकेदार)ले नै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन प्रतिष्ठान व्यवस्थापनले ५० लाख रुपैयाँ अतिरक्ति खर्च गरेको हो । निर्माण कार्यमा लापरबाही हुँदा काम सकिनुअघि नै एकेडेमिक ब्लकमा पानी चुहिन थालेको थियो । निर्माण कार्यमा कुनै खराबी वा समस्या देखिए सुधार गर्ने वा मर्मत गर्ने जिम्मा ठेकेदारकै भए पनि ‘बी’ ब्लगको छाना मर्मतमा प्रतिष्ठानले थप खर्च गरेको हो । थप खर्च गर्दा छाना २० वर्ष टिक्ने ग्यारेन्टी गरेको भए पनि २ वर्ष पनि नटिकेको प्रतिष्ठानको भनाइ छ।

नयाँ कलेज भवनबारे २६ डिसेम्बर २०१३ मा कोअर्डिनेसन कमिटी बैठकले अनुगमन रिपोर्टमा २८ वटा त्रुटी फेला पारे पनि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि नै १९ अप्रिल २०१३ मा ‘बी’ब्लकको छाना मर्मतमा ५० लाख रुपैयाँ दिने स्वीकृति तत्कालीन उपकुलपति डा. बिपी दासले दिएको खुलेको छ।

निर्माण कार्यमा कुनै खराबी वा समस्या देखिए सुधार गर्ने वा मर्मत गर्ने जिम्मा ठेकेदारकै भए पनि ‘बी’ ब्लगको छाना मर्मतमा प्रतिष्ठानले थप खर्च गरेको हो।

प्रतिष्ठान स्रोतका अनुसार तत्कालीन उपकुलपति दास, कन्सल्टेन्स बिल्डिङ डिजाइन अथोरिटी(बिडिए) र ठेकेदार लामा कन्स्ट्रक्सनबीचको मिलेमतोमा प्रतिष्ठानलाई आर्थिक भार थपिएको हो । कन्सल्टेन्ट बिडिएले ‘बी’ ब्लगको छाना टिकाउ बनाउन अतिरिक्त सामान भन्दै इपिडिएम वाटर प्रुफिङ प्रणालीको काम गर्न प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई तत्कालीन उपकुलपति दासले १९ अप्रिल २०१३ मा बिडिएलाई लेखेको पत्रमा ‘बि’ ब्लगका लागि इपिडिएम सिट लगाउने बजेट स्वीकृत गरेको उल्लेख छ।

बिडिएले प्रति वर्गमिटर २१८५ रुपैयाँको दरमा कुल ४९ लाख ८७ हजार ४ सय ८१ रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरेको थियो । ‘करोडौंको घर बनाउदा छाना चाँहि कस्तो लगाउने भनेर डिजाइन गर्दा नै ध्यान दिनुपर्छ । तर, एकेडेमिक ब्लक बनाउदा साह्रै लापरबाही गरिएको रहेछ, ‘प्रतिष्ठान स्रोतले भन्यो, ‘काम खराब हुँदा ठेकेदारले नै बनाउनु पर्छ, छाना चुहिन थालेपछि मर्मत पनि ठेकेदारकै जिम्मेवारी थियो, तर प्रतिष्ठानलाई आर्थिक भार बोकाइएको छ।’

स्रोतका अनुसार छाना मर्मत गर्दा ५० लाख खर्चिए पनि थप टेण्डर प्रक्रिया अपनाइएको छैन । कन्सल्टेन्ट बिडिएको प्रस्तावमा सिधै ठेकेदार लामा कन्स्ट्रक्सनलाई नै दिइएको छ । अझ निर्माणको काम जारी रहेकै अवस्थामा र भवन हस्तान्तरण गरिनु अगावै ठेकेदारलाई मिलेमतोमा लाभ पुग्नेगरी थप खर्च प्रतिष्ठानले दिने निर्णय गर्नु अनियमितता भएको स्रोतको दाबी छ । ‘त्यो बजेट ठेकेदारलाई दिनु नै गलत थियो, दिएपछि काम राम्रो भएन । २ वर्ष पनि वाटर प्रुफिङ छानो टिकेन, ५० लाख स्वाहा पारियो,’ स्रोतले भन्यो।

कन्सल्टेन्टले नै थप नयाँ कुरा लगाउने भन्दै प्रस्ताव गरेको र तत्कालीन प्रतिष्ठान व्यवस्थापनले अनुमोदन गरेको प्रतिष्ठानका सिभिल इञ्जिनियरिङ विभाग प्रमुख मदन साह बताउँछन् । तर, वातावरण अनुकूल नहँुदा टिकाउ नभएको उनले बताए । ‘वाटर प्रुफिङ, साउण्ड प्रुफिङ हुन्छ भनेर प्रतिष्ठानको खर्चमा इपिडिएम सिट लगाएको थियो । ठेकेदारले २० वर्षसम्म टिक्छ भन्थ्यो, तर २ वर्ष पनि टिकेन,’ साहले भने, ‘रिपेयर समय १ वर्षको हुन्छ, ठेकेदारले बनाएन । हामीले उसको ५ प्रतिशत धरौटी रकम रोकेर राखिदिएका छौं ।’ कन्सल्टेन्टको डिजाइनमा वाटर र साउण्ड प्रुफिङ सिस्टमको छाना नभएका कारण प्रतिष्ठानले थप खर्च गर्नुपरेको उनको भनाइ छ । तर, थप खर्च गर्दा पनि टिकाउ नहुनुमा ठेकेदारको काम गुणस्तरीय नहुने मुख्य कारण भएको उनले बताए।

कुल १६ करोड हाराहारीको नयाँ कलेज भवन बनाएको लामा कन्स्ट्रक्सनको ५ प्रतिशत अर्थात् करिब ८२ लाख जति धरौटी रकम छ । भवन निर्माणमा लापरबाही गरेको र थप मर्मत गर्नुपर्ने जिम्मेवारी पनि पूरा नगरेको ठेकेदार कम्पनीले उक्त धरौटी रकम फिर्ता पाउन भने बारम्बार ताकेता गरिरहेको थियो । बि ब्लगमा पानी चुहेर एमबिबिएसको पढाइ नै प्रभावित हुने र अन्य समस्या देखिएपछि प्रतिष्ठानले धरौटी फिर्ता नदिने अडान लिएको थियो।

करिब दुई साताअघि मात्र ठेकेदार कम्पनीले धरौटी रकमबाट नै मर्मत गर्न भन्दै प्रतिष्ठानलाई पत्राचार गरेको थियो । ‘मर्मत सुधार नगरेसम्म धरौटी रकम दिन्नौं भन्यौं, अहिले धरौटीबाट नै कटाउने गरी आफै बनाउनु भनेर पत्र पठाएको छ, त्यसैअनुसार प्रक्रिया थालेका छौं,’ वर्तमान उपकुलपति डा.राजकुमार रौनियारले भने, ‘पहिला पनि भवन बनाउँदाबनाउदै पानी चुहिन थालेपछि पूर्व उपकुलपतिको एकल स्वीकृतिमा ५० लाख रुपैयाँ खर्च गरिएको रहेछ, तर काम टिकाउ नै भएन । प्रतिष्ठानको आर्थिक क्षति मात्र भयो।’

प्रकाशित: १९ भाद्र २०७५ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App