रोल्पा – ‘छोरा आउला भन्ने आश छैन्। सुरु सुरुमा त आशा लाग्थ्यो अब त मर्याे। विचरा ग्वाला गोठालो जान्थे, घरगाउँ गर्थे। केही नबिराएकालाई पनि मारे। त्यस्ता सोझाले पनि सीआइडी गर्छन?’ मेघमालीले एकै सासमा गुनासो गरिन। ‘मरेको लास वरीपरी कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ उनलाई त्यसो गर्नेहरू को हो थाहा छ तर आगामी पुस्ताका लागि बिगत भुल्न बाध्य छिन। ‘उनीहरू जस्तो गर्न पनि त भएन। हिजो आज माओवादी देख्दा नि मन दुख्छ। सरकार भन्दा नि मन दुख्छ। एउटाले श्रीमान मारे एउटाले छोरा वेपत्ता बनाए।’
रोल्पा नगरपालिका कोटगाउँकी ५९ वर्षीया मेघमाली बुढा तत्कालिन १० वर्षे माओवादी युद्धको पीडित हुन। २०५८ साल चैत्र १५ गते घरबाट लगेर छेउको गाउँमा गोली हानेर श्रीमान मारिएपछि उनको दुःखका दिन सुरु भए। १ छोरी २ छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन र पढाउन कसर छोडिनन्। तर दूर्भाग्य २०५९ सालमा दाङमा पढ्ने भाईलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हिराबहादुर बुढालाई उतै कतैबाट तत्कालिन साही नेपाली सेनाले वेपत्ता बनायो। श्रीमानलाई माओवादीले गाउँमै ढलाए। पति हत्याको पीडा बोकिरहँदा सेनाले छोरा वेपत्ता बनाएपछि विक्षिप्त बनिन्।
लिवाङ ४ की प्रतिमा थापा श्रीमान ढाटे थापा वेपत्ता पारिदा गभर्वती थिइन। बावुको अनुहार समेत नदेखेको छोरा अहिले ९ मा पढ्छ। अहिले प्रतिमा बुढी सासु र छोराको मुख हेरेर बाँकी जीवन जीउँदै छिन्। २०–२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिडेका श्रीमान होलेरीबाट वेपत्ता वनाइएपछि उनी आउने आशै आशमा बसेकी उनको पीडा अहिले झन बढ्दै छ।
यता वुधय कामीलाई २०५६ सालको माघमा माओवादीले वेपत्ता बनाउदा टोपेन्द्र २२ वर्षका थिए। डकर्मी काम गर्ने बुवा काठ चिर्ने काम गरिरहँदा कता लगिए कता। ‘के को सुराकी गर्नु विचरा। प्रहरी गाउँमा आएको बेला भात पका भन्यो अनी खाना खाए। त्यही खाना नै बुवा वेपत्ता बनाउने कारण बन्यो,’ टोपेन्द्रले भने, ‘वेपत्ता परिवारलाई सिप मुलक तालीम दिएर कुनै रोजगारिको अवसर पाए हुन्थ्यो। अझै शान्ती भएको छैन भन्छन्। सबै मिले हुन्थ्यो।’
कोर्चावाङ ३ की दिलकुमारी बुढा २०६० सालमा श्रीमान विरामी भएपछि औषधि उपचारका लागि काठमाडौं पुगीन। हात, खुट्टा दुख्ने वेथाले भेटेका श्रीमानलाई भर्ना गरिएकै अस्पतालको बेडबाट सेनाले लगेपछि लास पनि दिएन सास पनि दिएन। ‘घर रोल्पा भन्ने बित्तिकै सेनाले लग्थ्यो। बालाजु व्यारेकमा लगेका हुन भन्थे। भेट्न पनि दिएन। धेरै पटक व्यारेक गए। हार मानेर फर्किए।’ श्रीमान दलबहादुर गुरुङ वेपत्ता बनाएपछि अहिले २ छोरी हुर्काउन ठूलो कष्टमा छिन दिलकुमारी।
वडाचौर रोल्पाकी ४० वर्षीया ओमसरा सुनारलाई १७–१८ वर्ष अगाडि छोरालाई सेनाले लगेको समय सबैभन्दा पीडादायक दिन बन्यो। राजनीति के भन्ने नबुझेकी उनी छोरा आउने आशा अलि अलि भएको सुनाउँछिन। ‘कसलाई के भन्ने सर । सिधा सोझो छोरोलाई कता लगे कता ? कुनै दिन टुप्लुक्क आउछ कि ।’
तेवाङ २ की ६२ वर्षीया अनी विकका श्रीमान वुद्धिराम विकलाई माओवादीले कता लगे कता थाहै भएन। वेपत्ता बनाएको साल समेत ध्यान नभएकी उनी छाती भरी पीडा बोकेर बसेकी छिन। ‘अब त आउलान जस्तो नि लाग्दैन। मस्तै वर्ष भयो उनलाई लगेको। छोराहरू भिन्दै बस्छन्। एउटी लाटी छोरी छ उसैसँग बसेकी छु।’ विक आफ्नो पीडा सुनाउँछिन्।
२०५९ साल असोज ६ गते बारीमा हलो जोत्दै गरेका ४९ वर्षीय श्रीमान सुकमन कामीलाई छिमेकी गाविस सेरमको घुस्बाङमा लगि गोली हानेर मारेको सुनेकी ६० वर्षीया लालमता कामीले लास पनि पाइनन्।
‘एकै दिन १२ जना गमालीलाई लगेर मार्या हुन्। सबैले मर्यो भने। लास नपाएपनि मरेको मानियो।’ लालमताले सुनाइन, ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि वेपत्ता बनाए।’ २०५९ सालपछि निम्न आर्थिक अवस्थाका लालमताको परिवार झनै तङग भङ्ग भयो। आर्थिक जोहो गर्ने श्रीमान हत्याको पीडा भोगेको ६ महिनापछि आशाको त्यान्द्रो छोरा पनि वेपत्ता भएपछि बाटो हेर्दैमा १४ वर्ष वित्यो। छोरासँगै प्यूठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा वेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन, न त कसैले खोजी दियो।
‘हाम्रा लागि कसले के गथ्र्यो र ? ठूला, धनी भएको भए पो। न हाम्ले मान्छे चिन्या छम, न त हाम्रो कोही छ। भरखरको मेरो छोरोलाई कता लगे होलान ? आउला कि भन्ने आश पो गरेकी छु।’ गहभरी आशु ल्याउदै बोलिन उनी। हाल कान्छा छोरा बुहारीसँगै बसेकी गाम ७, बाहिरी गामकी लालमता कामी न्यायको खोजीमा छिन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका प्राय यी वेपत्ता परिवारसँग आफ्नो आम्दानीको श्रोत केही छैन्। ‘कसैले आफूलाई सहिद परिवार भन्न रुचाउछन भने कसैले अहिले पनि आउछन् कि भनेर आश गरेका छन्।’ वेपत्ता परिवारसँग लामो समय मनोसामाजिक कार्यकर्ताका रुपमा काम गरेकी अञ्जु वली बताउछीन। ‘कतिले त चाडवाडमा खाना बनाउदा वेपत्ता आफन्त आउछकी भनेर एक मुठ्ठी चामल बढि हाल्छन। कहिले काही ढोका ढकढक गर्यो भने आयो कि भनेर ढोका खोलेर हेर्छम।’ पीडित परिवार बोलेको आवाज सुनाउछीन अञ्जु।
२०५८ असारमा आफ्ना पति पत्रकार धनबहादुर रोका वेपत्ता परिदा ३० वर्षकी थिइन दिलकुमारी रोका। जेठी छोरी पवित्रा साढे ३ वर्षकी, छोरा वसन्त २ वर्षको अनि कान्छो रामचन्द्र जन्मीएको १६ दिन मात्र भएको थियो। रोल्पा सदरमुकाम लिबाङ देखि २६ कोष टाढा मिरुलकी दिलकुमारी श्रीमान वेपत्ता भएको १७ वर्ष पुग्दासम्म पनि अन्यौलमा छिन्। कसो गर्दा आउँछकी भन्ने आशा पलाएपनि मन कुनाले आउँदैन भन्ने दवाव बढि दिन्छ। ‘खै अब त के आउथे र ? २०५९ सालमा गाउँले मार्फत मरिसक्यो भनेर खबर गर्याथे। मर्याे भन्नु कसैले लास देखेको होइन। आउँछ भन्नु मारिसक्यौ भन्नेहरू सिंहदरबारमा छन् रे।’ दिलकुमारी गम्भीर बनिन्।
रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असार ताका तत्कालिन माओवादीले प्यूठानको भिङग्री जलुकेबाट अपहरण गरी लगेपछि जिउदो त फर्काएनन् नै लाश समेत दिएनन्। रेडियो नेपालमा मगर खाम भाषाका सह–वाचक उनले समाचार उत्पादन र वाचन गर्थे। धनबहादुर २०५८ सालमा काम विशेषले रोल्पा सदरमुकाम लिबाङ आएका बेला तत्कालीन माओवादीबाट अपहरणमा परेका थिए।
१० वर्षे युद्धका बेला पीडित भएका रोल्पाका ३ हजार ३८ पीडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सत्य अन्वेषणका लागि गत साल उजुरी आब्हान गरेको तीन महिनामा उल्लेखित संख्यामा उजुरी परेको हो। स्थानीय शान्ति समिति रोल्पाका अनुसार वेपत्ता व्यक्तिका परिवार १ सय १६ ले उजुरी दिएका थिए। उनीहरूले वेपत्ता आफन्तको खोजविनका लागि भन्दै उजुरी दिएका हुन।
उता वेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग भने निरीह जस्तै देखिन्छ। ‘सरकारको यतातिर ध्यान नै कम छ। अनुसन्धान थाल्ने हो कर्मचारी नै दिँदैन। अहिले बजेटपनि छैन। त्यसैले काम रोकिएको छ। बजेट र कर्मचारी भयो भने एक दुई महिनामा काम थाल्छौ।’ आयोगका अध्यक्ष लोकेन्द्र मल्लीकले भने। उनले भने ‘३९ जिल्लामा अनुसन्धान सकाएका छौ। अब निकट भविष्यमा बाकि जिल्लामा पनि काम सुरु हुन्छ।’
६५ जना वेपत्ता रहेको रोल्पामा ३२ परिवारले राहत लिनका लागि मृतक स्विकार गरेर मृत्यु दर्ता समेत गराएका छन्। अहिले सरकारी तथ्याङ्क अनुसार ३३ जना वेपत्ताको सुची छ भने ९ सय ६९ मृतक संख्या रहेको छ। यती धेरै द्धन्द्ध पीडित रहेको जिल्लामा स्थानीय सरकारले उनीहरू लक्षित कुनै कार्यक्रम त ल्याएन नै पीडितलाई सम्झीने गरेको पनि छैन्।
‘अहिले खासै केही कार्यक्रम त छैन्। उद्यमशिल तालिम संचालनसम्म गर्नेकी भन्ने सोचमा छु।’ सबैभन्दा धेरै द्धन्द्ध पीडित रहेको सुनछहरी गाउँपालिकाका प्रमुख आशबहादुर पुनले भने। ‘शिक्षामा लगानी गर्ने हो उनीहरूका सन्तान ठुला भैसके।’ त्यसो माओवादी द्धन्द्धको सबैभन्दा बढि मार खेपेको रोल्पाका कुनै पनि तहले पीडित लक्षित कार्यक्रम वा सहयोग केही गरेको पाइदैन। ‘हामीले सबै ठाउँमा उनीहरूलाई जोडेका छौ। सबै अबसर उनीहरूलाई प्राथमिकता छ।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले भने।
प्रकाशित: १४ भाद्र २०७५ ०९:२० बिहीबार