९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने

घट्टेखोलाको पुल ।  तस्बिर/नागरिक

रसुवा – रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने भएको छ। स्याफ्रु रसुवागढी सडकखण्डअन्तर्गत घट्टेखोलाको पुल मर्मत भएकाले सवारी सञ्चालनका लागि अनुमति दिन लागिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा गत साउन ११ गते बाढीले पुलमा क्षति पुगेको थियो। सवारी सञ्चालन गर्नका लागि अनुमति दिन लागिएको डिभिजन प्रमुख निरज शाक्यले बताए। ‘घट्टेखोलामा नजिकै रोकिएका सवारी साधन आजदेखि सञ्चालन हुनेछ, डिभिजन प्रमुख शाक्यले भने, तर घट्टेखोला रसुवागढी सडकखण्डमा झरेको पहिरो पन्छाउने काम भएको छैन्।’

पहिरो हटाउनका लागि व्लाष्टिङ गर्नुपर्ने उनले बताए। सडक सुचारु गर्नका लागि रसुवागढी जलविद्युत आयोजनाले कम्प्रेसर उपलब्ध गराउनेछ। डिभिजनले अन्य सामाग्रीको जोहो गरिसकेको बताइएको छ । घट्टेखोलाको पुलमा सवारी सञ्चालन अनुमति दिएपछि खोपाङभीरसम्म सवारी आउने छन्। त्यहाँबाट पल्टी गरेर अर्को कन्टेनरमा सामग्री लोड गरिने व्यापारी बताउँछन्। खोपाङभीरमा बाढीले कटान गरेको सडकमा वाल लगाउने र सडककुनामा ब्लाष्टिङ गर्ने तयारी छ। 

अहिले त्रिशुलीखोलाको पहिरो हटाउने काम भइरहेको छ। धुन्चेदेखि रसुवागढीसम्म आधा दर्जन पहिरो झरेको छ। केही क्षेत्रमा बाढीले सडक भत्किएको छ। सडक सुचारु गर्नका लागि डिभिजन सडक कार्यालय, रसुवागढी जलविद्युत आयोजना, मैलुङ स्याफ्रु निर्माण कार्यदल र नेपाली सेनाले निरन्तर काम गरिरहेका छन्। 

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। 

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायतका मुख्य बस्तुहरु निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: १४ भाद्र २०७५ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App