२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निर्मलाको हत्या ‘योजनाबद्ध’

उल्टाखाम (कञ्चनपुर) – कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’

निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन्। सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन्। पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने उनको भनाइ छ। ‘घटनापछि अपराधीले केही न केही प्रमाण छोड्छ’, एसपी कडायतले भने, ‘पानी बगाएको ठाउँमा भए पनि केही न केही आधार पाइएला ।’ डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा उनी विश्वस्त छन्।

प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ। ‘अदालतबाट म्याद थप गरेर सोमबारदेखि उनीहरूसँग बयान लिन सुरु गर्नेछौं ।’ शनिबार र आइतबार बिदा भएकाले उनीहरूसँग बयान नलिएको उनले बताए।

घटनास्थलको सुरुको अवस्था थाहा पाउन अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानलाई अध्ययन गरिरहेको उनले बताए। यसअघिका प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले घटनाबारे अनुसन्धान गर्न आनाकानी गरेकाले स्थानीय बासिन्दाले महेन्द्रनगरमा प्रदर्शन गर्दै आएका छन्।

निर्मलाको हत्या भएपछि बम दिदीबहिनीको घरको एउटा कोठामा रंगरोगन गरेको स्थानीयले बताएका छन् । रङ लगाएनलगाएको अझैसम्म खुल्न सकेको छैन । निर्मलाले उक्लेर टिपेको भनिएको अम्बाको रूख काटिएको छ। रोशनीका बुवा दीपेन्द्र बमले सडकमा हिँड्नेले हाँगा तानेर पर्खाल भत्काउन थालेपछि रूख काटेको बताएका छन् । ‘सामान्य मान्छेले यो घटना गरेको होइन, शक्तिशाली मान्छेले योजनाबद्ध रूपमा कुनै सुरक्षित घरमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालेको हो’, स्थानीय महेश उप्रेतीले भने।

शव फेला परेको घटनास्थल नजिकै पसल सञ्चालन गर्दै आएका मोतीबहादुर नेपाल यस क्षेत्रमा बिहान ४ बजेदेखि राति ११ बजेसम्म मानिसको चहलपहल भइरहने बताए। उनले भने, ‘राति १२ देखि ३ बजेबीचमा उखुवारीमा शव ल्याएर फालेको हो ।’ साउन ११ गते खोज्न जाँदा खोलापारि उखुबारीमा उक्लिने डिलमा तीनवटा फरकफरक खट्टाका पाइला देखिएकाले निर्मलाको हत्यामा कम्तीमा तीनजना संलग्न हुन सक्ने उनी बताउँछन्। पहिलो दिन छोरी खोज्न गएकी निर्मलाकी आमा दुर्गादेवीलाई बम दिदीबहिनीले घरभित्र पस्न नदिनु, राति २ बजेसम्म प्रहरीचौकीमा कुरेर अनुनय गर्दा पनि प्रहरीले खोजी गर्न इन्कार गर्नु, रातभर पानी पर्दा दोस्रो दिन बिहान कापीकलम नभिजेको नभेटिनु, एउटा चप्पल नपाइनु, खोजीखोजी मानसिक सन्तुलन गुमाएकालाई पक्राउ गरेर दोषी देखाउन खोज्नु, दिलीपसिंह बिष्टलाई दोषी देखाउन २६ दिनपछि कमिजको टुक्रा र कन्डमको खोल भेटिएकोे छ भनेर देखाउनु जस्ता विवरणले निर्मलाको हत्या रहस्यमय बनेको हो।

छानबिन टोली निर्मलाको घरमा
निर्मला हत्या काण्डमा गठन गरिएको उच्चस्तरीय छानबिन टोलीले आइतबार निर्मला पन्तको घरमा पुगेर सोधपुछ गरेको छ। टोलीले निर्मलाका आमाबुबासँग सोधपुछ गरेको हो। टोलीले निर्मलाको शव फेला परेको उखुबारी र निर्मलाकी साथी रोशनी बमको घरको अवलोकन गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा टोलीका संयोजक हरिप्रसाद मैनालीलगायतको पाँच सदस्यीय टोलीले छानबिन थालेको हो। संयोजक मैनालीले आइतबार निर्मलाको घर र शव फेला परेको घटनास्थल, बम दिदीबिहिनीसँग र स्थानीय बासिन्दासँग सोधपुछ गरेर जानकारी संकलन गरेको बताएका छन्। ‘यसअघिको प्रहरी अनुसन्धानमा लापरबाही भए–नभएका विषयमा केन्द्रित रहेर छानबिन गरिनेछ’, उनले भने, ‘यसअघि के भो र अब के हुनुपर्छ भनेर केन्द्रमा प्रतिवदेन बुझाइनेछ।’ घटना अनुसन्धान गर्ने काम प्रहरी प्रशासनको भएकाले सुझाव दिने र अनुसन्धानमा सहयोग गर्ने उनी बताउँछन्।

कफ्र्यु खुकुलो हुँदै
शुक्रबार ८ बजेदेखि महेन्द्रनगर बजारमा लागेको कफ्र्यु पछिल्लो समय खुकुलो पार्न थालिएको छ। आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म चार घन्टाका लागि महेन्द्रनगर बजारमा कफ्र्यु हटाइएको थियो । यस्तै सोमबार बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाइएको छ। अन्य समयमा भने कफ्र्यु यथावत रहने प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

कफ्र्यु खुलेलगत्तै बजारमा बेलुकी चहलपहल बढेको छ । शुक्रबारदेखि सुरु भएको कफ्र्युले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। दैनिक उपभोग्य सामान सकिएर डेरा लिएर बसेका विद्यार्थी, कर्मचारी सबैभन्दा बढी मर्कामा परेका छन्। ग्यास सकिएर साथीको कोठामा खाना पकाइरहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी सपना शाहले बताइन् । उनले भनिन्, ‘कोठामा ग्यास मात्रै हैन तरकारी पनि सकिएको छ। तरकारी किन्न नपाउँदा दालभात मात्रै खानुपरेको छ । प्रदर्शन चर्कंदै गएपछि शुक्रबार राति ८ बजेदेखि महेन्द्रनगर र आसपासका क्षेत्रमा प्रशासनले लगाएको निषेधाज्ञा (कफ्र्यु) आइतबार बिहान ५ देखि १० बजेसम्म खोलेर पुनः लगाइएको छ।

स्थानीयले निर्मला हराएको घरबाट अनुसन्धान सुरु गर्न दबाब दिँदा एसपी बिष्ट र सिआइबी टोलीले बाटोमा जम्काभेट भएका ४१ वर्षीय दिलीपसिंह बिष्टले बलात्कार गरी निर्मलाको हत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको थियो । दोषी उम्काउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई करार गर्न खोजेपछि स्थानीय थप आक्रोशित भएर आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १७ वर्षीय सन्नी खुनाको ज्यान गएको छ भने धेरै व्यक्ति घाइते भएका छन्।

न्याय दिलाउने नेताको प्रतिबद्धता
नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले निर्मला पन्तको परिवारलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। आइतबार साँझ निर्मलाका घरमा पुगेका नेता भट्टले उनका अभिभावकसँग भने, ‘तपाईंहरू ढुक्क हुनुस्, हामी न्याय दिलाउनेछौं ।’ उनले निर्मला हत्याको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताए।

उनले अकल्पनीय घटना भएको भन्दै दुःख व्यक्त गरे। भट्टले भने, ‘घटनापछि हामीले नेपाल सरकारलाई निष्पक्ष छानबिनका लागि आग्रह ग-यौं र आग्रहअनुरूप पुरानो टोलीलाई बर्खास्त गर्दै नयाँ छानबिन टोली पठाएको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उधृत गर्दै नेता भट्टले भने, ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि त्यसलाई छोड्दैनाैं।’ यसैगरी प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जनताको जिउधनको सुरक्षा गर्नु प्रदेश सरकारको पनि दायित्व रहेकाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाई कारबाहीका लागि सिफारिस गर्ने बताए। भेटघाटमा पुगेका नेतासँग निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीले चाँडै दोषी पत्ता लगाइदिन अनुरोध गरेका छन्। ‘वास्तविक दोषी लुकाएर मानसिक सन्तुलन गुमेका व्यक्तिलाई फसाउनु हुँदैन,’ यज्ञराजले नेताहरूसँग भने, ‘राहतभन्दा पनि वास्तविक दोषी चाहियो।’

प्रकाशित: ११ भाद्र २०७५ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App