५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘प्लाष्टिक फोहोर दिनुस् पैसा लानुस्’

सिन्धुली – तपाइको घर आगनमा प्लाष्टिक जन्य फोहोर छ भने अब सुरक्षित राख्नुहोला। फोहोर सुरक्षित राखी कमलामाई नगरपालिकालाई दिनुभयो भने पैसा पाउनुहुनेछ। नकुहिने फोहोर अन्तर्गत प्लाष्टिकजन्य फोहोर कमलामाई नगरपालिकाले लिइ पैसा दिने भएको हो।

फोहोरमैला व्यवस्थापन गरी स्वच्छ नगरपालिका बनाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम राखिएको कमलामाई नगरपालिकाले जनाएको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ‘फोहोर दिनुस् पैसा लानुस्’ भन्ने अभियाननै सञ्चालन गर्ने तयारी गरेको छ। कमलामाई नगरपालिाभित्र विपी राजमार्ग पनि पर्छ। विपी राजमार्गमा जतिपटक सफा गरेपनि प्लाष्टिक जन्य फोहोरको कमी आउन नसकेपछि नगरपालिकाले फोहोरको पैसा नै दिन लागेको हो।

स्वच्छ र सफा नगरपालिका बनाउनका लागि हामीले प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य फोहोर किन्न लागेका हौ, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले भने। उनका अनुसार पानीको प्लाष्टिक बोतललाई ५० पैसा र प्लाष्टिजन्य फोहोरलाई प्रतिकिलो १० रुपैयाँमा नगरपालिकाले किन्नेछ। टोलसुधार समितिमार्फत फोहोर जम्मा पार्ने र किन्ने तयारी भएको नगरप्रमुख खत्रीले जनाए। 

हामीले सबै टोल सुधार समितिलाई भनेका छौ, उनले थपे नगरपालिकालाई स्वच्छ र सफा राख्नका सबैलाई अनुरोध गरेका हौ। कमलामाई नगरपालिकाले यसअघिनै प्लाष्टिक मुक्त नगर बनाउने अभियान थालेको थियो। तर नगरपालिकाले बैकल्पिक व्यवस्था नगरेकाले प्लाष्टिकमुक्त अभियान सफल हुन नसकेको स्थानीयले बताएका छन्।

प्लाष्टिकको व्यवस्थापन गर्न सकिन्छ तर मुक्त नै गर्न निकै कठिनाई छ, एक व्यापारीले भने सबै सामान प्लाष्टिककमै आउछ त्यो कसरी मुक्त गर्न सकिन्छ। उनले व्यवस्थापनका विभिन्न उपायअन्तर्गत प्लाष्टिकको फोहोर किन्ने नगरपालिको अभियान स्वागतयोग्य रहेको बताए।

नगरपालिकाले नगरक्षेत्रभित्रका सबै स्थानबाट फोहोर जम्मा पार्ने र नगरपालिकाले किनिदिने बताएपछि टोलसुधार समितिले पनि फोहोरजम्मा पार्न टोल टोलमा अगुवाई गरेको छ। नगरपालिकाले फोहोर किन्छ, र बाहिर पठाउने तयारी गरेका छौ, पछि यतै पनि व्यवस्थापन गर्ने उपाय अवलम्बन गर्न सकिन्छ।  

प्रकाशित: ९ भाद्र २०७५ ०८:३९ शनिबार

कमलामाई_नगरपालिका प्लाष्टिक पैसा