९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी नाका : सडक सुचारु गर्न आजदेखि ब्लाष्टिङ गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा बाढीले क्षति पुर्याएको सडक ।    तस्बिरः हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा शनिबारदेखि ब्लाष्टिङ गरिने भएको छ। 

नाका जोड्ने सडकको तीन स्थानमा ब्लाष्टिङ गर्न लागिएको हो। बाढी र पहिरोको कारण करिब एक महिनादेखि बन्द भएको सडक सुचारु गर्नका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। 

सडक सुचारु गर्न २१ जनाको टोली खटिने छन्। हेटौडाबाट क्याप्टेनको नेतृत्वमा १५ जना र मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलबाट ६ जना टोली खटिने नेपाली सेनाको कालिजंग गणले जनाएको छ। 
बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाको खोपाङभीर, टिमुरे र पहिरोका कारण त्रिशुलीखोलामाको सडकमा क्षति पुगेपछि सवारी आवागमन रोकिएको छ। सडक सुचारु गर्नका लागि सामग्री र जनशक्ति तयार भइसकेको नेपाली सेनाको कालिजंग गणले जनाएको छ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदल र हेटौडाबाट आएको टोलीले क्षतिग्रस्त सडक मर्मत गर्ने भएका छन्। सडक सुचारु गर्नका लागि ब्लाष्टिङ गर्नुपर्ने सेनाले जनाएको छ। सडक विभाग, डिभिजन सडक कार्यालय नुवाकोट र नेपाली सेनाको संयुक्त सहकार्यमा सडक मर्मत गर्न लागिएको हो। 

कार्यदलले मैलुङ–स्याफ्रु सडक निर्माणमा प्रयोग भएका सामग्री प्रयोग गरेर सडक सुचारु गर्नेछ। सुरुमा खोपाङभीरको सडक सुचारु गर्ने तयारी छ। यताको सडक सुचारु भएपछि टिमुरेको सडक निर्माण गर्ने कार्ययोजना तय भएको छ। 

कार्य सुरु भएपछि एक सातामा निर्माण सम्पन्न हुनेछ। सडक मर्मतका लागि विभाग र रक्षा मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। सडक मर्मतका लागि करिब ४ हजार एक्सप्लोसिप आवश्यक पर्छ। निर्माण कार्यदलसँग अहिले करिब १ हजार ५ सय एक्सप्लोसिप रहेको छ। 

सडक तथा पुल निर्माण भएको ढिलाईका कारण चीनबाट सामग्री आयातमा कमी आएको छ। चार सातादेखि चीनबाट यो नाका हुँदै स्याउ मात्र आयात भइरहेको छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। 

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तुहरु निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App