१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थेरापी सेन्टरका नाममा मानव स्वास्थ्यमा खेलवाड

टीकापुर – टीकापुर नगरपालिकामा खुलेका थेरापी सेन्टरले बिरामीको स्वास्थ्योपचारसँग खेलवाड गरिरहेका छन्। दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरण बिना नै ती थेरापी सेन्टरले उपचारका नाममा ठगी गर्दै आएका छन्।

‘शरीर नै सम्पति स्वास्थ्य नै धन’ भन्ने नारा दिएर सञ्चालनमा रहेको विश्व योग थेरापी सेन्टरमा दक्ष स्वास्थ्यकर्मी नै छैनन्। १२ महिने अक्युप्रेसर, नेचुरल पेथिक, थेरापी, मसाज सम्बन्धी एडभान्स तालिम लिएकी धुसेनी–४, कोइरालाफाँट लम्जुङकी बिमला भण्डारीले बिरामीको उपचार गर्दै आएकी छन्।

उनले सो तालिम गोरखा नगरपालिका–३ मा रहेको गोरखकाली अक्यूप्रेसर प्रशिक्षण केन्द्रबाट लिएको बताएकी छन्। उनीसँग तालिम लिएको भरपर्दो कागजात समेत छैन। उनले प्रमाणपत्रका रुपमा सामान्य फोटोकपी पेपर साथमा राखेकी छन्। जसमा २०७१/०९/०४ देखी २०७२/०९/०३ गतेसम्म तालिम लिएको उल्लेख छ।

उनले एडभान्स तालिमकै आधारमा गम्भिर प्रकृतिका बिरामीको समेत उपचार गर्दै आएकी छन्। यस्तो प्रकृतीका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले सम्बन्धित तहको अध्ययन पूरा गरे पश्चात नेपाल स्वास्थ्य व्यवशायी परिषदको परिक्षा समेत उत्तीर्ण गरेको हुनुपर्ने कानूनी मान्यता रहेको छ।

दक्ष स्वास्थ्यकर्मीको अभाव मात्रै नभई भण्डारीले सञ्चालन गरेको थेरापी सेन्टर राज्यका कुनैपनि निकायमा दर्ता भएको छैन। उनले सेन्टरलाई २०७२ फागुन २ गते घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएको फर्मको शाखा भएको बताएकी छन्। तर सो कार्यालयमा दर्ता भएको फर्मको नाम विश्वयोग तथा प्रशिक्षण केन्द्र रहेको छ। उनले सो फर्मलाई २०७३ फागुन १२ गते दाङबाट दैलेख र २०७४/८/२२ गते दैलेखबाट टीकापुर ठाउँसारी गरेको पाइएको छ।

उनले थेरापी सेन्टर दर्ता गर्ने बारेमा कुनै जानकारी नभएको बताइन्। ‘मलाई कसैले भन्दै भनेको छैन। म आफैलाई यो बारेमा जानकारी छैन’, उनले भनिन्, ‘मलाई जानकारी नभएपछि कहिँ कतै दर्ता गर्न आवश्यक ठानिन।’

उनले विभिन्न २२ किसिमका स्वास्थ्य समस्याको उपचार गर्दै आएकी छन्। यो कुरा विश्व योग थेरापी सेन्टर शाखा कार्यालयले बाँडेको पर्चामा उल्लेख छ। उनको पर्चामा मधुमेह, बाथरोग, माइग्रेन, प्यारालाइसिस, हड्डी खिईएको, छाला समस्या, पत्थरी, पायल्स, दमखोकी, पिनास, स्त्रीरोग, ग्याष्ट्रिक, हातखुट्टा पोल्ने र निन्द्रा नलाग्ने समस्याको उपचार गरिन्छ। यसका साथै ढाड, कम्मर, घुडा दुख्ने, उच्च/न्यून रक्तचाप, टाउको दुख्ने, नशा सम्बन्धी सबै समस्या, सुगर, मोटोपन घटाउने, अनुहारको चाया पोतो, डण्डिफोर, कपाल झर्ने र जाँड रक्सी र चुरोट छुटाउनेसम्म समस्याको उपचार गर्ने उल्लेख छ।

उनले विभिन्न सञ्चारमाध्यममा स्वास्थ्य समस्याको ग्यारेन्टीका साथ उपचार गरिने भन्दै प्रचार प्रसार गरेकी छन्। स्वास्थ्य संस्थाले कुनैपनि स्वास्थ्य समस्याको उपचारको ग्यारेन्टी दिएर प्रचार प्रसार गर्नु गैरकानूनी ठहर्छ। उनले प्रति व्यक्ति दैनिक डेढ सय र मासिक ३ हजारका दरले रकम असुल्ने गरेकी छन्। यसका साथै उनले थेरापी सम्बन्धी विभिन्न उपकरण समेत बेच्दै आएकी छन्।

टीकापुरमै रहेको अर्को एम.आर. फिजियोथेरापी सेन्टरको अवस्था पनि विश्य योग थेरापी सेन्टरको भन्दा कम छैन। सेन्टरले टीकापुर, लम्की र राजापुर गरी चारवटा शाखा खोलेको छ। टीकापुरकै दुई ठाउँमा क्लिनिक सञ्चालन छन्। एउटा साथी अस्पतालको छेउमा छ भने अर्को अरुण मेडिकलसँगै रहेको छ। ती सबै एकजना मदनराज नाथले सञ्चालन गरेको बताइएको छ। उनी आफूलाई डा. मदनराज नाथ (बिपिटी) भनेर चिनाउँछन्। उनले डा. मदनराज नाथ (बिपिटी) लेखेको लेटरप्याड प्रयोगमा ल्याएका छन्। सो लेटरप्याडमा उनले आफूले उत्तीर्ण गरेको शैक्षिक संस्थाका बारेमा उल्लेख गरेका छैनन्। उनले समेत नेपाल स्वास्थ्य व्यवशायी परिषदको परिक्षा उत्तीर्ण गरेका छैनन्।

उनले चारवटै शाखामा कामदार राखेका छन्। ती कामदारले नै बिरामीको उपचार गर्ने गरेको पाईएको छ। टीकापुरस्थित साथी अस्पताल छेउमा रहेको शाखामा कार्यरत रवि चौधरीले एकवर्षदेखी बिरामीको उपचार गर्दै आएको बताए। ‘कुनै जटिल समस्या भएको बिरामीलाई डाक्टरसापले हेर्नुहुन्छ अरुलाई मैले नै हेर्छु,’ उनले भने, ‘कति मान्छे सन्चो भएर फर्किएका छन्।’

उनको मोवाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन। कर्मचारी चौधरीले उनी केही दिनका लागि भारततर्फ गएको जानकारी दिए। उनी पारिवारिक समस्याले त्यसतर्फ गएको बुझिएको छ।

उनका व्यवशायीक साझेदार भनिएका साथी अस्पतालका अध्यक्ष शंकर शर्माले आफ्नो कुनै संलग्नता नरहेको बताए। उनले आफ्नो स्वास्थ्योपचारका क्रममा चिनेजानेका आधारमा मात्रै सहयोग गरेको जानकारी दिए। ‘मेरो कुनै लेनदेन छैन  म राम्रोसँग चिन्दैन’ उनले भने, ‘उनले कसरी सञ्चालन गरेका छन्। मलाई थाहा छैन।’ साथी अस्पताल छेउको शाखाको बाहिर रहेको बोर्डमा अध्यक्ष शर्माको नम्बर समेत उल्लेख छ। जसले शर्माको समेत संलग्नता भएको आशंका गरिएको छ।

नाथले सञ्चालन गरेका टीकापुरस्थित दुईवटै सेन्टरमा थेरापी गर्ने कुनै गतिलो उपकरण छैनन्। टीकापुर अस्पतालका थेरापी अफिसर अनिलकुमार तिवारीले थेरापी उपचारका नाममा बिरामीको स्वास्थ्य माथि खेलवाड गर्ने काम भइरहेको बताए। उनले अदक्ष व्यक्तिको उपचारमा लागेर बिरामीले अंगभंग हुने समस्या समेत रहेको बताए।

‘कैयौं व्यक्तिहरु लामो समय अदक्ष मान्छेसँग उपचार गराउँछन्। सन्चो नभएपछि बल्ल अस्पतालमा आउँछन्’, उनले भने, ‘यस्ता व्यक्तिहरुले बिरामीलाई विभिन्न प्रलोभन देखाएर आकर्षण गरिरहेका छन्।’

गैर कानूनी ढंगले थेरापी सेन्टर सञ्चालन गरेर बसेका व्यक्तिहरुले बिरामीको स्वास्थ्य बिगार्नुका साथै आर्थिक रुपमा समेत शोषण गर्दै आएका छन्। उनीहरुले बिरामीको स्वास्थ्य लाभ भन्दा पनि पैसा कमाउने कुरालाई प्राथमिकता दिने गरेको पाईएको कतिपय बताउँछन्।

प्रकाशित: २४ श्रावण २०७५ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App