१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाँच वर्षमा १२५ को मृत्यु, ४३२ घाइते

पानी परेका कारण हिलाम्य धादिङका ग्रामीण सडक। तस्बिर : सरिता/नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा परेर पाँच वर्षमा १ सय २५ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पछिल्लो पाँच वर्षमा भएका १ सय ७२ वटा दुर्घटना भएका हुन् । जसमा ४ सय ३२ जना घाइते भएका थिए।

गत आर्थिक वर्ष २०७४/०७५ मा ५१ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उक्त दुर्घटनामा १ सय ३१ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७३/०७४ मा नारायणगढ– मुग्लिन सडकखण्डमा ३५ वटा दुर्घटना भएका थिए । जसमा ४७ जनाको ज्यान गएको थियो भने ९५ यात्रु घाइते भएका थिए। आर्थिक वर्ष ०७२/०७३ मा २८ दुर्घटना हुँदा १४ जनाको मृत्यु र ५२ जना घाइते भएका थिए। यस अघिको आर्थिक वर्ष ०७१/०७२ मा ३२ वटा दुर्घटना हुँदा २१ जनाको ज्यान गएको थियो भने ६९ जना घाइते भएका थिए। यस्तै, आर्थिक वर्ष ०७०/०७१ मा भने उक्त सडकखण्डमा २६ दुर्घटना हुँदा १५ जनाको मृत्यु तथा ८५ जना घाइते भएका थिए।

दुर्घटना कम गर्न सडकका आवश्यक ठाउँमा ट्राफिक चिह्न राखिएका छन् भने सवारीसाधनको तीव्र गतिलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गर्ने तयारी पनि गरिएको छ।

यसैगरी पछिल्लो पाँच वर्षमा चितवनमा ९ सय ८ वटा सवारी दुर्घटना भएको र ५ सय ३१ जनाको ज्यान गएको तथ्यांक छ। उक्त दुर्घटनामा १ हजार ९ सय ५९ जना घाइते भएका थिए। यी दुर्घटनामध्ये ३० प्रतिशत दुर्घटना नारायणगढ–मुग्लिन सडकमा मात्र भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकको दूरी ३६ किलोमिटर छ। यो सडकखण्डमा दुर्घटना जोखिम धेरै छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म पनि बढी दुर्घटना हुने सडकमा पर्छ।

अहिलेसम्म भएका दुर्घटनाको तथ्यांक यी दुई सडकखण्डमा बढी दुर्घटना भएको देखिन्छ। भौगोलिक अवस्थाका कारण पनि दुर्घटनाको जोखिम धेरै भएको ट्राफिक प्रमुख गौतम बताउँछन्। अहिले पहाड फोरेर बाटो विस्तार गरेपछि हुन थालेको पहिरो झर्ने समस्याका कारण पनि दुर्घटना जोखिम बढेको उनको भनाइ छ। दुर्घटना कम गर्न सडक कार्यालयसँगको सहकार्यमा आवश्यक ठाउँमा ट्राफिक चिह्न राखिएका छन् भने सवारीसाधनको तीव्र गतिलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गर्ने तयारी पनि गरिएको छ। अहिले पहिरो झरेर सडक अवरुद्ध भइरहने भएकाले वर्षात्पछि सडकखण्डमा टाइम कार्ड लागू गरिने ट्राफिक प्रमुख गौतमले जानकारी दिए।

सडकखण्डमा अहिले पनि राडर गनको प्रयोग गरेर तीव्र गतिमा सवारीसाधन चलाउनेलाई कारबाही गर्न सुरु भइसकेको छ। तीव्र गतिका कारण हुने सवारी दुर्घटना कम गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले सडकखण्डमा केबुल ब्यारियर सिस्टमसँगै अरू सेफ्टी ब्यारियर बनाइरहेको छ। यस्तै पुल क्षेत्रमा सवारीसाधनको गति नियन्त्रण गर्न रुम्बल स्ट्रिप निर्माण भइरहेको आयोजनाले जनाएको छ।

सवारीसाधनका शायरी मेटाउँदै ट्राफिक
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारीसाधनमा लेखिने शायरी तथा स्लोगन मेटाउने अभियान पनि थालेको छ। सवारीसाधनमा लेखिने असभ्य शायरी मेटाउन सुरु गरिएको ट्राफिक प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए।

सवारीसाधनमा धाक, धम्कीपूर्ण तथा अश्लिल शब्दमा लेखिएका शायरी मेटाउन थालिएको उनले बताए। कार्यालयको गोन्द्राङ र आँपटारीमा रहेका ट्राफिक बिटले सवारीसाधनमा लेखिएका शायरीहरू असभ्य भएको पाइएमा तत्काल मेटाउन लगाउने गरेको उनले जानकारी दिए। ठाउँ–ठाउँमा परिचालित हुने ट्राफिक प्रहरी टोलीले पनि यस किसिमका शायरी भेटेमा मेटाउन लगाउने गरेको उनले बताए।

सवारीसाधनमा सचेतनामूलक स्लोगन भने लेख्न पाइनेछ। ट्राफिक कार्यालयले प्रेसर हर्न राख्ने सवारीसाधन र साइलेन्सर मोडिफाइ गर्ने मोटरसाइकललाई समेत कारबाही गरिरहेको छ। गत वर्ष भदौ ६ गतेदेखि अहिलेसम्म १ हजार २ सय ९५ सवारीसाधनको प्रेसर हर्न झिकेर कारबाही गरिएको ट्राफिक प्रमुख गौतमले जानकारी दिए।

गत माघ ४ गते यता ३ सय ७४ मोटरसाइकललाई मोडिफाइ गरिएको साइलेन्सर झिक्न लगाइएको उनले बताए। राजमार्ग क्षेत्रमा तीनपांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि म्याजिक भ्यानले मुडा राखेर यात्रु चढाउन थालेकाले मुडा हटाउने अभियान पनि थालिएको उनी बताउँछन्। यही साउन ७ गतेदेखि भरतपुर महानगरको राजमार्ग क्षेत्रमा तीनपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको हो।

प्रकाशित: १७ श्रावण २०७५ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App