९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर नौ जनाको ज्यान गएको छ। 

मध्यराति १२ बजेको समयमा गएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको हो। 
मृत्यु हुनेमा कन्टेनर चालक, होटल सञ्चालक र कामदार रहेका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए। उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको थियो। पहिरोमा पुरिएका १२ जनाको राति नै उद्दार गरिएको छ। 

मृतकका परिवारलाई तत्काल एक लाख रुपयाँ उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। घर टहरा भत्केकालाई तत्काल राहात स्वरुप १० हजार र घर निर्माण गर्न थप ५० हजार उपलब्ध गराइने उनको भनाई छ। नेपाल रेडक्रस सोसाईटीबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराएको छ। 

पहिरोले अस्थायी प्रहरी चौकी पुरिए तापनि रातको समयमा त्यहाँ प्रहरी नबस्दा थप मानवीय क्षति हुनबाट जोगिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले पहिचान गरेको जोखिम क्षेत्रमा सो क्षेत्र परेको थिएन्।  

पहिरोले स्थानीय टासीदेलेक होटल पूर्ण रुपमा क्षति भएको छ। त्यहाँ पुरिएको आशंकामा स्काभेटर तथा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य भइरहेको छ। पहिरोले टिमुरे गाउँ प्रबेश गर्ने स्थलमा रहेको प्रहरी चेक पोष्ट समेत ५ वटा छाप्रा पुरेको छ। 

पहिरोले विद्युत पोल समेत ढालेपछि सो क्षेत्रमा विद्युत र टेलिफोन, इन्टरनेट सेवा समेत अवरुद्ध भएपछि रसुवागढी भन्सारको नियमित काम पनि ठप्प भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए। मध्यरातमा भिषण वर्षासँगै आएको पहिरोले रातभर जागै रहेर उद्धार कार्यमा स्थानीय सुरक्षा निकाय तथा स्थानीयले उद्धार गरेको स्थानीय उर्केन घेलेले बताए। 

टिमुरेमा रोएिका ना २ ख ८६८९, ना ५ख ७००७ र ना२ख ३६६३ नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

सडक खण्ड शुक्रबार दिउँसोबाट सुचारु हुने

पहिरोका कारण चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको टिमुरेमा पहिरो गएको कारण बिहिबार बिहानदेखि सडक अवरुद्ध बनेको हो। 

शुक्रबार दिउँसोबाट सडक सुचारु हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। चीनको केरुङ जाने तयारीमा रहेका तथा काठमाण्डौ जाने तयारीमा रहेका कन्टेनर बीच बाटोमा नै रोकिएका छन्। 

पहिरोको ठूलो भएको कारण बाटो खुलाउन दुई दिनसम्म लाग्न सक्ने प्रहरीले जनाएको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। 

भूकम्पछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाका नियमित रुपमा सञ्चालनमा आएको छ। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १० श्रावण २०७५ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App