४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिम तराईमा अत्यधिक गर्मी

फाइल फाेटाे

बर्दिया - गुलरिया नगरपालिका–६ बस्ने रमेश गुप्ताको दैनिकी तापक्रम उकालो लागेसँगैे कष्टकर बनेको छ। चर्को गर्मीका कारण उनी केही दिनलाई पेसा नै छाड्न बाध्य भए। मकै पोलेर बेची गुजारा गदै आएका उनी काममा फर्कन पानी पर्ने दिनको पर्खाइमा छन् । यतिखेर उनीजस्तै अधिकांश मजदुर बढ्दो गर्मीका कारण पेसाबाट पलायन भएका छन् । खुला आकाशमुनि काम गर्ने अधिकांश मजदुरको हालत कष्टकर छ।

लामो समयसम्म पानी नपरेकाले मजदुरलाई साँझबिहानको छाक टार्न समस्या छ। पानी नपरेसम्म काममा नजाने योजना गुप्ताले सुनाए। ‘ज्यान रहे न काम गरेर खाने हो,’ उनले भने, ‘यस्तो गर्मी छ,आगोको काम गर्न सकिन्न। पानी प-यो भने काममा फर्किन्छु।’ जेठ दोस्रो सातादेखि दिनदिनै तापक्रम उकालो लाग्दा पश्चिम तराईको जनजीवन प्रभावित बन्दै गएको हो।

हावापानी फिल्ड कार्यालय, राझा बाँकेका निमित्त इन्चार्ज पिबी विश्वकर्माका अनुसार कार्यालयले जेठको पहिलो सातादेखि अहिलेसम्म अधिकतम साढे ४२ डिग्री सेल्सियससम्म तापक्रम मापन गरेको छ। बिहानै ३२ डिग्री हुने तापक्रम उकालो लाग्दै अधिकतम साढे ४२ डिग्रीसम्म पुगेकोे हावापानी फिल्ड कार्यालयको रेकर्डमा देखिन्छ।

पश्चिम तराईमा मंगलबारदेखि आंशिक बदली भई पानी पर्ने सम्भावना भएको मौसम पूर्वाअनुमान शाखा, काठमाडौंका मौसमविद् निमकुमार अर्यालले जानकारी दिए। ‘नेपालमा जेठ २५ गते मनसुन भित्रिएको हो’, उनले भने, ‘मनसुन न्यून चापीय रेखा तल भएकाले पश्चिम तराईमा वर्षा नभएको हो। बादल देखिन्छ तर पानी पर्न सकिरहेको छैन।’

अत्याधिक गर्मीका कारण दिउँसो बजारमा मानिसको संख्या पातलिएको छ। अत्यधिक गर्मी छल्न मानिस वैकल्पिक उपायको खोजीमा छन्। घाममा हिँडडुल गर्दा चस्मा र छाता प्रयोग गर्न सर्वसाधारण बाध्य छन्। अत्यधिक गर्मीले गर्दा स्कुले विद्यार्थी पनि प्रभावित भएका छन्। गर्मीका कारण अधिकांश सामुदायिक विद्यालय बन्द छन्।

फलफूल व्यवसायीले खरबुजा, काँक्रा र उखुको जुसको माग ह्वात्तै बढेको बताएका छन्। ‘दिउँसो हपहपी गर्मी हुन्छ। अनि सबैले खरबुजाजस्ता तिर्खा मेटाउने फलफूल खोज्छन्’, फलफूल व्यवसायी खलिलले भने, ‘लामो समय पानी नपर्दा यस्तो अवस्था आएको हो।’

गर्मीका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। ओपिडीमा चेकजाँच गराउन आउने बिरामी बढेको अस्पतालले जनाएको छ। गर्मीका कारण पखाला, बान्ता, ज्वरोका बिरामी बढी आउने गरेका छन् । आँखाको समस्या पनि बढेको छ

उकुसमुकुसले जनावर जंगलबाहिर
अत्यधिक गर्मीको असर मानिसमा मात्र नभएर बर्दिया राष्ट्रिय निकुञ्जका बन्यजन्तुमा समेत परेको छ। गर्मी बढेपछि खोला खोज्दै जनावर जंगलबाट बाहिरिने गरेको पर्यटन व्यवसायी तथा गैंडा क्याम्पका सञ्चालक रामजी थापाले बताए। निकुञ्ज घुम्न आउने पर्यटकलाई बन्यजन्तु देखाउन रातदिन जंगल चहार्ने पर्यटन व्यवसायीलाई भने सजिलो भएको छ। जंगली जनावर बाहिरै आउन थालेपछि बन्यजन्तु देखाउन सहज भएको छ। पाटेबाघसमेत खोलाछेउमै देखिने गरेको निकुञ्जका कर्मचारीले बताए।

पानी खोज्दै निकुञ्जबाट बन्यजन्तु बाहिर निस्कँदा मानव–बन्यजन्तु द्वन्द्व बढ्ने निकुञ्जका कर्मचारी अनुमान गर्छन्। बर्दिया निकुञ्जमा बाघ, हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका बन्यजन्तु पाइन्छन्।

प्रकाशित: ७ श्रावण २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App