१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बाढीकाे वितण्डा

हनुमन्ते खाेलामा अाएकाे बाढीका कारण डुबानमा परेकाे भक्तपुर ठिमीकाे राधेराधे क्षेत्र। तस्बिर : दिपेश श्रेष्ठ, दिपेन्द्र राेक्का/नागरिक

भक्तपुर - भीषण वर्षापछि आएको पहिरोमा परी बिहीबार भक्तपुरमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। यस्तै काभ्रेमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। भक्तपुरका हनुमन्ते, मनोहरा, खासांगखुसगलगायतका खोलामा आएको बाढी बस्तीमा बस्दा सयौं घर डुबानमा परेका छन् भने बाढीले बनेपास्थित पुण्यमाता खोलामा रहेको पुलमा क्षति पु-याउँदा ९ घन्टासम्म अरनिको राजमार्ग अवरुद्ध भएको छ।

भक्तपुर चाँगुनारायण नगरपालिका ७ वागीश्वरी मझुवागाउँका बुद्ध लामाको घर पहिरोले भत्काउँदा अढाई वर्षीया बालिका सम्पदा लामा, उनका ७० वर्षीय हजुरबुबा हीरा र हजुरआमा ६५ वर्षीया पानमायाको घटनास्थलमै मृत्यु भएको हो। घरपछाडिको ढिस्को खसेर घर पुर्दा ओछ्यानमा रहेका तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हीराकी बुहारी शर्मिलाले घटनाबारे बिहान पौने ६ बजेतिर मात्रै थाहा पाएको बताइन्। ‘बिहान सबेरै सासूससुरा सुत्ने घर भत्केको देखें’, उनले भनिन्, ‘सँगै जोडिएको घरमा सुतिरहेका देवर बुद्धलाई जानकारी गराएपछि दुर्घटना भएको थाहा पायौं।’ घर उत्खनन् गरेर तीनैजनाको लास निकालेको जानकारी उनले दिइन्। सम्पदा र उनकी हजुरआमा पानमायाको शव अंकमाल गरेको अवस्थामा भेटिएको थियो।

सम्पदाका आमा जापानमा छिन्। उनलाई स्कुल लैजाने र ल्याउने काम हजुरआमा–हजुरबुबाले गर्दै आएका थिए। त्यसैले उनी सधैं हजुरआमा हजुरबुबासँग सुत्थिन्। सम्पदाका पिता बुद्ध भने जोडिएको घरमा एक्लै बस्दै आएका छन्।

एकै परिवारको तीनजनाको मृत्यु भएपछि वडाबासी शोकमा परेका छन्। स्थानीय जमुना भारतीले भनिन्, ‘घटनाले मेरो परिवार मात्रै होइन, पूरै चाँगुनारायण शोकमा डुबेको छ।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले घटना थाहा पाउनेबित्तिकै उद्धार टोली घटनास्थल पुगे पनि उद्धार गर्न नसकिएको बताए।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले वर्षाका कारण पूरै जिल्ला प्रभावित भएको बताए। हनुमन्ते, मनोहरा, खासांगखुसगलगायतका खोलामा आएको बाढी आसपासका बस्तीमा पसेको थियो। बस्तीमा बाढी पस्दा भेलुखेलस्थित सिद्धिस्मृति अस्पताल, सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल, हनुमानघाटस्थित बालसेवक आवि, राममन्दिरस्थित शान्ति निकेतन मावि डुबानमा परेको थियो । मध्यपुर थिमिका निकोसेरा र राधेराधे क्षेत्रका सयौं घर डुबेका थिए। डुबानका कारण यातायात सेवासमेत अवरुद्ध भएको थियो।

एसपी श्रेष्ठका अनुसार भक्तपुरमा पाँच सयभन्दा बढी घर डुबानमा परेको प्रारम्भिक अनुमान छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतको संयुक्त सुरक्षा टोलीले डुबानमा फसेका एक सय ११ जनाको उद्धार गरेको थियो। डुबानमा परेर सल्लाघारीका अमृता श्रेष्ठ, अरुली श्रेष्ठ र सिर्जनानगरकी सोमती लामा घाइते भएका थिए। उनीहरू अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका छन्। भक्तपुरमा डुबानका कारण भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको परिसरले जनाएको छ। बिहीबार साँझ विपत् बसेको व्यवस्थापन समिति बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले वर्षाले आआफ्नो नगरपालिकामा पु¥याएको प्रारम्भिक क्षतिबारे जानकारी गराएका थिए। बुधबार दिउँसोदेखि जनजीवन सामान्य बनेको प्रमुख जिल्ला अधिकारी भट्टले बताए।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण राजधानीसहित काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, नुवाकोट, मकवानपुर र पर्वत जिल्ला सबैभन्दा बढी प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुन सुरु भएपछि बाढीपहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। १२ जना हराइरहेका छन्। बाढीका कारण ३७ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ असार २०७५ ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App