१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

फाइल फाेटाे

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार आयोजित तीनदिने अभिलेख महोत्सव, २०७५ को उद्घाटन गर्दै उनले पोखरा क्षेत्रीय सङ्ग्रहालयलाई प्रादेशिक अभिलेखालयका रुपमा तत्काल विकास गरी यस क्षेत्रमा रहेको परम्परागत दस्तावेजको संकलन गरेर प्रदर्शन गरिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले अभिलेख राख्ने संस्कृतिले अध्ययन तथा अनुसन्धानकर्तालाई सहयोग पुग्ने बताए। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोपोन्मुख अवस्थामा पुगेका महत्वपूर्ण अभिलेखलाई तोडमोड नगरी जस्ताको तस्तै स्वरुपमा प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिए।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले अभिलेखालयमा हाल ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, २० हजार अभिलेख र आठ हजार तिब्बती ग्रन्थसहित दुई लाख ग्रन्थका माइक्रोफिल्म प्रति तथा १२ हजार प्रकाशित महत्वपूर्ण पुस्तक संकलनमा रहेको जानकारी दिए। अभिलेख संरक्षणका लागि डिजिटल डकुमेन्टेशनको कार्य पनि थालनी गरिएको बताउँदै उनले भने, ‘यस वर्षसम्ममा छ लाख डिजिटल डमुमेन्टसलाई सुरक्षित गरिनेछ।’

सो अवसरमा राष्ट्रिय अभिलेखालयद्वारा प्रकाशित धार्मिक ग्रन्थ ‘शिवधर्मोत्तर र वास्तुशास्त्र’को विमोचन एवं तस्वीर तथा पुस्तक प्रदर्शनीको शुभारम्भ पनि गरियो। नेपाल पर्यटन बोर्डको हातामा आयोजित तस्वीर प्रदर्शनीमा ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र तथा शिलापत्रलगायत ८५ हस्तलिखित अभिलेख प्रदर्शन गरिएको छ। रासस

प्रकाशित: २३ असार २०७५ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App