११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

अरिवल वर्षाले डुबानमा परेको नेपालगन्जको न्युरोडस्थित सहिद सेतु बिक चोक। तस्बिर : नागरिक

नेपालगन्ज – अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य  सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

आइतबार रातिदेखी परेको वर्षा नरोकिदा ती स्थानका दर्जनौं घर डुबानमा परेका छन्। न्युरोडका स्थानीय बासिन्दा एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले करिव ४५ वटा पसल डुबेको जानकारी दिए।

‘वर्षा रोकिएको छैन, पानी बग्ने निकास पनि नहुँदा पसल डुबानमा  परेका हुन्,’ उनले भने। न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोलमा रहेका पसल तथा होटलभित्र एक फिट भन्दा बढी पानी पसेको श्रेष्ठले बताए। नेपालगन्ज उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर डुबानमा परेको उनको आरोप छ। ‘उपमहानगरपालिकाले ठुला नाला सफाई गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने, ‘बजेट भएर पनि हाम्रा जनप्रतिनिधिको इच्छाशक्ति भएन।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालगन्जका केही ठाउँ डुबानमा परेको जानकारी प्राप्त भएको बताए। ‘जताततै निर्माण कार्य चलिरहेको छ, यस्तो अवस्थामा कतै पानीको निकास छैन, पानी बग्न नपाउँदा डुब्नु स्वभाविक कुरा हो,’ उनले भने। वर्षा भएसँगै राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह २ मिटर पुगेको प्रजिअ केसीले बताए।

कुसुममा साढे ५ मिटर सतह पुग्ने वित्तिकै राप्ती नदीको तल्लो तटिय क्षेत्रका दर्जनौं गाउँ डुब्छन्। भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सिमा सडक निर्माण गरेपछि वर्षेनी गाउँहरु डुब्न थालेका हुन्। वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्दार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

प्रकाशित: १८ असार २०७५ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App