१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

 काठमाडौँ- सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको  छ।

सो अवसरमा आज गृहमन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापीरुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाईने जानकारी दिए।

लागूऔषधको प्रयोग र ओसार पसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए।

गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले  लागुऔषधका प्रयोगकर्ता बढीरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष पाँच देखि सात प्रतिशतमा झार्ने लक्ष्य सहित गृहमन्त्रालयले कार्ययोजना बनाएको बताए।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले कार्ययोजना सहित सचेतना अभियान सञ्चालन, लागु औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा/अफिम फडानी, प्रभातफेरी र सभा लगायतका कार्यक्रम आयोजना गरीने जानकारी दिए।

उनले नेपालमा हाल करिब एक लाख ५० हजार भन्दा बढी लागौषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै  यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरीरहेको बताए।

कार्यक्रममा दिवसको अवसरमा असार १२ गते गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरीने जानकारी दिईयो।

लागु औषधको उत्पादन, ओसारपसर, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सो को आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको गृहमन्त्रालयले जनाएको छ।

यस वर्षको राष्ट्रिय नारा ‘ स्वस्थ , सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता’ रहेको छ।

 

 

 

 

 

प्रकाशित: ६ असार २०७५ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App