१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दण्डहीनताले गैरकानुनी स्वास्थ्यसंस्थाको जगजगी

गैरकानुनी रुपमा सञ्चालित लीलामदन पोलिक्लिनकको गलत उपचारबाट पीडित औराही गाउँपालिका ४ कमलपुरकी रामबत्ती देवी । तस्बिर :मिथिलेश-नागरिक

इटाटार - सिरहाको औरही गाउँपालिका–४ कमलपुर टोलकी रामबत्ती देवी निसाफ पर्खेर बसेको सात महिना भयो । लहान–३ स्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहको लापरबाहीका कारण गर्भको बच्चा खेर गएको र अपरेसनको नाममा चर्को रकम असुलेको उजुरीउपर सुनवाइ नहुँदा उनी थप पीडित बनेकी छन् ।

गत कातिक २९ गत्ते रामबत्तीलाई अचानक रक्तश्राव हुन थालेपछि परिवारले एम्बुलेन्स बोलाएर उपचारका लागि लहान ल्याए । एम्बुलेन्सले रामबत्तीलाई लहानको लीलामदन पोलिक्लिनिक पुर्यायो । यस पोलिक्लिनिकले भर्ना गरेर तीन दिनसम्म उपचार गरेपछि रामबत्तीलाई घर फर्कायो । आफ्नो गर्भमा रहेको बच्चा सकुशल छ भन्दै पोलिक्लिनिकले उपचारबापत १३ हजार रुपैयाँ लिएर डिस्चार्ज गरिदिएको रामबत्तीले बताइन् ।

घर फर्केको एक साता नबित्दै मंसिर ६ गत्ते उनलाई रक्तश्रावकै समस्या दोहोरियो । तत्काल एम्बुलेन्स चढाएर परिवारले उही पोलिक्लिनिक पु¥याए । जाँचपछि चिकित्कसले भने– गर्भमै बच्चा मरिसकेको छ, तुरुन्त अपरेसन गर्नुपर्छ । यसका लागि ४० हजार रुपैयाँ खर्च लाग्ने पोलिक्लिनिक प्रशासनले सुनायो । तीन दिनपछि डिस्चार्ज गर्दा ६० हजारको बिल थमाएपछि रामबत्तीका पति लालबाबुको होस उड्यो ।

‘गलत उपचारका कारण सन्तान गुमायौं, त्यसमाथि चर्को रकम असुल्यो’, लालबाबुले भने, ‘लीलामदनको गलत उपचारको भर्पाइ हामी अहिलेसम्म भर्दैछौं ।’ अपरेसनका क्रममा भएको घाउ अझै निको नभएको उनले बताए । यो परिवारले आफूहरुलाई उपचारका नाममा पोलिक्लिनिकले पीडा दिएको गुनासो गरेको छ । ‘यो देशमा गरिबले निसाफ पाउन कहाँ जाने’, रामबत्तीले भनिन्, ‘मलाई जस्तै पीडा अरुलाई नहोस् भनेर दोषीमाथि कारबाही मागेका थियौं, त्यो पनि भएन । सर्वस्व त खोस्योखोस्यो, मेरो शरीरमा रोग समेत बल्झाइदिने डाक्टर र स्वास्थ्यसंस्थामाथि कारबाही भइदिए निसाफ पाएको अनुभूति हुन्थ्यो ।’

यसरी उपचारका नाममा झनै पीडा थपिदिने लीलामदन पोलिक्लिनिकले अवैध गतिविधि गर्दै आएको छ । स्थलगत छानबिनबाट जिल्ला स्वास्थ्य कार्यालयको टोलीले अपरेसन गरी रकम असुल्ने लीलामदन पोलिक्लिनिकको कार्य गैरकानुनी ठहर गरेको थियो । अवैध कार्य भएको पत्ता लागेपछि पोलिक्लिनिकको दर्ता खारेजीसम्मको कारबाही गर्ने जिल्ला स्वास्थ्यका प्रशासन प्रमुख उमेशलाल कर्णले बताएका थिए ।

त्यसपछि केही समय यो पोलिक्लिनिक बन्द पनि भयो तर स्वास्थ्यकै संरक्षणमा फेरि सञ्चालनमा आयो । अहिले यो पोलिक्लिनिकको नवीकरण हुन सकेको छैन तर सञ्चालन पनि रोकिएको छैन । कर्णले भने, ‘नवीकरण फेलमात्र होइन, नवीकरण गर्न पाउने समयसमेत गुजारिसकेको यो पोलिक्लिनिक गैरकानुनी रुपमा सञ्चालित छ ।’पोलिक्लिनिक सञ्चालक मनोज साहले पनि नवीकरण नभएको स्वीकार गरे । उनले भने, ‘नवीकरण पनि भएको छैन, कोही बन्द गराउन पनि आएको छैन ।’ कानुनी प्रक्रिया पूरा गरेर पोलिक्लिनिक खारेज गर्न साहले चुनौती दिए ।

जिल्लामा पोलिक्लिनिक, मेडिकेयर सेन्टर, क्लिनिकलगायत गरी ५४ वटाले सञ्चालन अनुमति पाएका छन् । तर ती कसैले पनि शल्यक्रिया गर्ने अनुमति नपाएको कर्णले बताए । यस्ता स्वास्थ्य संस्थाले हरेक वर्ष नवीकरण गर्नुपर्छ तर लीलामदनले जस्तै अधिकांश स्वास्थ्य संस्थाले नवीकरण गरेका छैनन् । कर्णका अनुसार जिल्लामा १५ शड्ढयाका ९ वटा अस्पताल पनि सञ्चालित छन् । यीमध्ये कुनैले पनि नवीकरण गराएका छैनन् । कर्ण भन्छन्, ‘अस्पताल सञ्चालनका लागि ऐनमा भएको व्यवस्था र निर्देशिकामा उल्लेख मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पूरा नै नगरेपछि नवीकरण हुन्न, नवीकरणबिना अस्पताल सञ्चालन गरे गैरकानुनी ठहरिन्छ।’

गैरकानुनी रुपमा सञ्चालित अस्पताललगायतका स्वास्थ्य संस्थाले बिरामीसँग चर्को रकम असुलेर ठगी त गरिरहेकै छन्, उनीहरुको सर्वसाधारणको ज्यानको जोखिमसमेत बढाइरहेका छन् । कर्णले छिटै अनुगमन गरेर यस्तो कार्य नियन्त्रण गर्ने बताए । जिल्ला स्वास्थ्य प्रमुख नहुँदा नवीकरणबिना सञ्चालन भइरहेका अस्पतालको अनुगमन र खारेजी प्रक्रिया अघि बढ्न नसकेको कर्णले बताए । जिल्ला स्वास्थ्य प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सम्बन्धित नगर प्रमुखहरुको सहयोगमा अनुगमन गरी गैरकानुनी स्वास्थ्य संस्था खारेज गरिने तयारी भएको उनले दाबी गरे ।


 

प्रकाशित: १० जेष्ठ २०७५ ०१:४७ बिहीबार

दण्डहीनताले गैरकानुनी स्वास्थ्यसंस्थाको जगजगी