१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

उदयपुर – बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ। बिहान ३ः०० देखि ५ः०० बजेसम्म चलेको हुरीले घर भत्काउँदा कटारी नगरपालिका १ स्थित कालीखोलाका ६५ वर्षीया आईतमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ।

झुप्रो घरको भित्ता हुरीले लडाउँदा सुतेकै ठाउँमा थिचेर माझीको मृत्यु भएको बेलसोत प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भित्तोले थिचेर गम्भीर घाइते बनाएको खबर आएलगत्तै बेलसोत चौकीको टोली उद्धार गर्न जाँदा वृद्धाको मृत्यु भइसकेको बताइएको छ। उनको शब पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको छ।

त्यसैगरी हावाहुरीकै कारण बेलका नगरपालिका ५ तिलबारीकी डिकमाया मगर गम्भीर घाइते भएकी छिन्। हावाको झोँकाले घरको बेरा भत्काउँदा टाउकोमा गहिरो चोट लागेर ४२ वर्षीया मगर घाइते भएकी हुन्। प्रहरी चौकी लालपत्ताबाट ३ किलोमिटर दक्षिणमा पर्ने मगरको उद्धार गरी प्रहरीले स्थानीय प्राथमिक स्वास्थ्य चौकी रामपुरमा उपचारार्थ भर्ना गरेको जनाएको छ। घाईतेका श्रीमान् खड्ग मगरका अनुसार उनी पनि सुतिरहेकै बेला घाइते भएकी हुन्।

एकाबिहानै आएको हावाहुरीका कारण जिल्लाभरी करोडौं मूल्य बराबरको क्षति भएको रिपोर्ट आइरहेको प्रहरीले जनाएको छ। विद्यालय भवन, घर टहरा र वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समितिका कार्यालय तथा विभिन्न व्यक्तिको घरका छाना उडाएर क्षति पुर्याएको जिल्ला प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताएका छन्।

प्रकाशित: २६ वैशाख २०७५ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App