१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै बिरोध

खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ।

ठेकेदारले पटक–पटक सम्झौता म्याद गुज्रँदा पनि जिल्लाभित्र पर्ने मध्यपहाडीको विभिन्न सडक खण्ड कालोपत्रेका काम पूरा नगरेको भन्दै नेकपा माले खोटाङले बिरोध जनाएको हो। मंगलबार जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाउँदै नेकपा मालेले दिक्तेल–हलेसी (३५.४३ किलोमिटर), जयराम–हलेसी (३० किलोमिटर) र दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडक कालोपत्रेकामा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेकाले कारबाही गर्न माग गरेको छ।

डेढ वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने दिक्तेल–हलेसीसडकमा ठेकेदारले अझै पनि सव–वेस (ग्राभेल)का काम समेत पूरा नगरेकाले बिरोधमा उत्रनु परेको पूर्व सांसद एवं नेकपा मालेका पोलिटव्यूरो सदस्य कुलप्रसाद फुयाँलले बताए। हलेसी–अर्खौले खण्डको कालोपत्रेका काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि गत चैत्र १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौंले स्थलगत अध्ययन गरेर ल्यावटेष्टका लागि कालोपत्रे काटेर लगेको थियो। दिक्तेल–हलेसी खण्डको विभिन्न चरणका काम १२ जुन २०१६ मा सम्पन्न गर्नेगरी ठेकेदारले १४ जुन २०१४ मा सुरु गरेको थियो।

यस्तै, मध्यपहाडी लोकमार्गकै जयराम–हलेसी र दिक्तेल–चखेवा सडक खण्डको कालोपत्रेका कामकामा पनि उस्तै ढिलासुस्ती देखिएको नेकपा मालेले जनाएको छ। पहिलोपल्ट २०६७ सालमा ओटासिल गरिएको जयराम–हलेसी सडकमा रौता कन्ट्रक्सनले डिबीएमएसटी पिचका काम गरिरहेको छ। यस्तै, आर्थिक वर्ष २०७१–०७२ मा टेण्डर भएपछि २०७५ सालभित्र कालोपत्रेका काम पूरा गर्नेगरी ठेकेदार कम्पनी गोल्डेन गुड–रमन जेभीले जिम्मा लिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको काम पनि गुणस्तरहिन भइरहेको पूर्वसांसद फुयाँलले बताए।

कालोपत्रे गुणस्तरहिन
नेकपा मालेले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको काम गुणस्तरहिन भएकाले सोको रखबारी गर्न समन्वय समितिको ध्यानाकर्षण गराएको छ।

सडकको पर्खाल र ढल निर्माणकाक्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल गिटी प्रयोग गरिएको, मसला बनाउन फोहोर र धमिलो पानी उपयोग गरिएको नेकपा मालेले दाबी गरेको छ। कामको जिम्मा लिएका मूख्य ठेकेदारले बढि नाफा कमाउने उद्धेश्यले काम गर्दा र बिभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहिन भएको पूर्व सांसद फुयाँलले बताए।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईका अनुशार हलेसी–जयराम सडकखण्डको बेसमा कम गुणस्तरको गिटी प्रयोग भएको, कतिपय ठाउँमा सब–बेसलाई नै बेसका रुपमा राखेको गुनासो आएको छ।

प्रकाशित: २५ वैशाख २०७५ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App