१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पाटे बाघको छालासहित पक्राउ

मकवानपुर – संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

वाइवाको साथबाट संरक्षित वन्यजन्तु पाटे बाघको एक थान छाला र नौ किलोग्राम हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नवआगन्तुक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी चौकी झुरझुरेबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार पक्राउ गरेको वाइवालाई सोमबार सार्वजनिक गरिएको हो। वागमती गाउँपालिका–४, लमकानामा आइतबार राति शंकास्पद तरिकाले हिँडिरहेका चार जनालाई चेकजाँच गर्दा रातो तन्नाले बेरेर ल्याएको ९ फिट ७ इन्च लामो र ३ फिट चौडाईको बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ। अन्य ३ जना भने फरार भएकाले उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

पक्राउ परेका वाइवालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा बुझाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा १ अनुसार पाटे बाघलगायत संरक्षित जनावर मार्नेलाई पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

सोमबारै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हाजिर भएका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक श्रेष्ठले बलात्कार, चेलिबेटी बेचविखन र मानव तस्करी लगायतका अपराधका अभियुक्त भाग्न खोजे इन्काउन्टर गर्न प्रहरीलाई निर्देशन दिएका छन्। जिल्लाको शान्तिसुरक्षा प्रभावकारी बनाउन कसैसँग सम्झौता नगर्ने बताउँदै उनले, फरार अभियुक्तलाई पक्राउ गर्ने प्रहरीलाई नगद पुरस्कार दिने घोषणा समेत गरे।

प्रकाशित: २५ वैशाख २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App