२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

माथिल्लो सगरमाथाका तीन जिल्लामा चिया–कफी विस्तारका लागी सोलुखुम्बुमा स्थपाना गरीएको बोर्ड। तस्बिरः राधा/नागरिक

सोलुखुम्बु – माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ। 

ओखलढुंगाको मानेभञ्ज्याङ नजिकको रमितेडाँडादेखि सोलुखुम्बुको तिङ्लाको माथिल्लो भागसम्म चियाको अत्याधिक सम्भावना रहेको छ भने जिल्लाको तल्लो भेगमा कफीको सम्भावना रहेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सम्भाव्यता अध्ययन पश्चात तीन जिल्लामा चिया र कफी विस्तारको योजना अघि बढाईँदै छ। 

केही समय पहिले सोलुखुम्बुमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना भएको छ। विशेष गरी माथिल्लो सगरमाथाका तीन जिल्लालाई केन्द्रित गरी चिया तथा कफीको सम्भाव्यता अध्ययन तथा व्यवस्थापन गरी कृषकलाई त्यसतर्फ आकर्षण गर्न कार्यालय स्थापना गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए। 

सोलुखुम्बु केन्द्रमा पर्ने र सबैभन्दा उपयुक्त स्थान भएकाले साविकको काँगेल गाविस तथा हालको थुलुङ–दुधकोशी गाउँपालिकाको काँगेलमा १ करोड ७१ लाखको लागतमा १५ कोठे भवन निर्माण गरिसकिएको र यही वर्षबाट कर्मचारी व्यवस्थापन गरी काम शुरु गर्ने गौतमले बताए। उनले भने, ‘यस कार्यालयले सम्पूर्ण सरोकारवालाहरूको सहभागितामा चिया तथा कफी सम्बन्धी उत्पादन प्रशोधन तथा बजार व्यवस्थापन लगायतका सबै काम गर्नेछ।’

कार्यालय स्थापनाका लागि स्थानीय रुद्रकुमारी बरुवालले साँढे चार रोपनी जग्गा निःशुल्क जग्गा उपलब्ध गराएकी थिइन। पछिल्लो समय परम्परागत कृषिबाट निराश बनेका ग्रामीण कृषकलाई आधुनीक कृषि उत्पादनतर्फ आकर्षण गर्नका लागि स्थापना हुने यस कार्यालयले गाउँको विकासका गर्ने विश्वासका साथ आफूले जग्गा निःशुल्क दिएको उनले बताइन्।

आफ्नै गाउँमा व्यवसायीक रुपमा चिया तथा कफीको विस्तार कार्यक्रम हुने भएपछि स्थानीय युवा समेत उत्साहित भएका छन्। खेती योग्य जमिन बाँझै हुन थालेका बेला व्यवसायीक कृषिमा युवालाई आकर्षण गरी विदेशिनबाट रोक्न यस कार्यक्रमले सहयोग गर्ने भन्दै स्थानीय युवा सौरभ बरुवालले खुशी व्यक्त गरे। उनी भन्छन, ‘रोजगारीका लागि विभिन्न देशमा ज्यान जोखिममा राखेर परिवार धान्नका लागि विदेशिएका युवालाई स्वदेशमा काम गर्ने उत्प्रेरणा प्रदान गरी मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने छ।’

पर्यटकीय क्षेत्रका रुपमा परिचित सोलुखुम्बुमा कृषिको समेत प्रचुर सम्भावना भएकाले अब विदेशिएका युवालाई समेत देशभित्र नै रोजगारीको सिर्जना गरी कृषिमा अब्बल बनाउन यस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सहसचिव डा. योगेन्द्र कुमार कार्कीले बताए। उनी भन्छन, ‘जहाँ जे कुराको सम्भावना छ त्यही कुराको विकास गर्ने लक्ष्य अनुसार सोलुखुम्बुमा चिया तथा कफीको विस्तार गर्न लागिएको हो।’ नेपाल सरकारले किसानसँग साझेदारीका माध्यामबाट नर्सरी विकास गरी सबैलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ। माटो परीक्षण गरी भूमि व्यवस्थापन गर्दै काम गरिने उनी बताउँछन्।

प्रकाशित: २३ वैशाख २०७५ ०८:३१ आइतबार

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना