धरान – डाँडापारि पुग्यो घाम, घटिसके दौंतरी
आफ्नै हातले बनायौं, हाम्रो नाममा चौतारी
कसको हो यो चौतारी, सोधे भने कसैले
बेलायतबाट फर्केपछि उत्तर दिन्छ हाम्रो नातिले ।
सुनसरीको साविक विष्णुपादुका गाविस (हाल धरान–२०)मा रहेको माछामारा डाँडास्थित मैचुङ्छा पाखामा एउटा पक्की चौतारो छ । जहाँ माथि प्रस्तुत कविताझैं लाग्ने हरफहरू कुँदिएका छन्।
२०६६ सालमा निर्मित चौतारोमा लेखिएका यी हरफहरूले भूपू ब्रिटिस लाहुरेहरूको भावनालाई प्रस्तुत गर्छन्, जो बेलायत जाने अवसर पनि परित्याग गरी आफ्नै घरगाउँमा बसेका छन् । अनि यी हरफहरूले भूपू लाहुरेको सहर मानिने धरान अब लाहुरेविहीन सहरमा परिणत हुँदै गएको यथार्थलाई पनि चित्रण गर्छन्।
‘यो मेरो वास्तविक पीडा हो, मजस्ता थुप्रै भूपू लाहुरेहरूको वास्तविकता हो र धरानको यथार्थ पनि,’ प्रस्तुत हरफका श्रष्टा एवं भूपू ब्रिटिस लाहुरे ७४ वर्षीय रमेश राई भन्छन्, ‘घरमा दुई बूढाबूढी मात्र छौं, मेरो छोरा र नातानातिना सबै बेलायततिरै छन् । हामीलाई साथ दिने कोही छैनन्।’
धरान, लाहुरेहरूको सघन बसोबास भएको पूर्वको सुन्दर सहर हो । २०४५ सालको भूकम्पले खण्डहर बनेको धरानलाई आधुनिकीकरण गर्न र विकासमा अघि बढाउन भूपू ब्रिटिस लाहुरेहरूको ठूलो योगदान छ।
तत्कालीन स्थानीय निकाय(धरान नगरपालिका) ले विकासमा जनसहभागितामूलक अवधारणा ल्याउँदा भूपू लाहुरेहरूले पैसा लगानी मात्र गरेनन्, आफै नेतृत्व लिएर घर, कम्पाउन्ड भत्काएर सडकका लागि जग्गासमेत दिए ।
‘भूपू सैनिकहरूको हकअधिकार, समानताको आन्दोलन आवासीय भिसामा पुगेर टुंगिनु विडम्बना भयो । त्यसपछि त गाउँघरमा बचेखुचेका भूपूहरू पनि बेलायत पुगिसकेका छन्,’ ब्रिटिस गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष एवं सामाजिक अभियन्ता गजेन्द्र इस्वो भन्छन्,‘अब त हातखुट्टा बसिसकेका, अपांग अशक्तहरू मात्र पो बाँकी छन्।’
चिल्ला सडक र आकर्षक फूलबारीसहितको चिटिक्क परेका घरहरूले धरान युरोपको कुनै सहरभन्दा कम बनेन।पेन्सनबापत आउने रेमिट्यान्सले धरानको अर्थतन्त्रलाई माथि उकास्यो । अहिले तिनै लाहुरेहरूलाई धरानमा हत्तपत्त भेटिँदैन । ‘धेरै भूपूहरू बेलायत गइसकेका छन्, नयाँ भर्ती हुन भान्जाहरू पनि परिवारसहित उतै बस्छन्,’चिन्तित हुँदै भूपू सार्जेन्ट राई भन्छन्,‘यस्तै हो भने धरान लाहुरेविहीन सहरमा परिणत हुन्छ हुन बेर छैन।’
नेपालका युवा बेलायती सेनामा भर्ती हुन थालेको दुई सय वर्ष लामो इतिहास छ । पहिलो र दोस्रो विश्व युद्धमा लाखाै नेपाली युवाले बेलायतका तर्फबाट युद्ध लडे । कति बेपत्ता भए, कति मरे भन्ने एकिन तथ्यांक छैन । तर, धरानमा वि.स.२०१० मा ब्रिटिस गोर्खा सैनिक कार्यालय(भर्ती केन्द्र) स्थापना भएपछि धरान र लाहुरे बीचको सम्बन्ध गाँसिएको थियो । अवकाश पाएपछि पूर्वी पहाडी क्षेत्रका भूपू लाहुरेहरूले पहाड र तराईको संगम धरानलाई स्थायी बसोबासका रूपमा रोजे ।
बेलायतका पक्षमा ठूल्ठूला युद्धहरू लडे पनि गोर्खा लाहुरेहरूले समान तलब पाउँदैनथे । त्यसविरुद्ध समानता र अधिकारको आन्दोलन धरानबाट भूपू लाहुरेहरूले चर्काएका थिए । त्यही आन्दोलनको दबाब थेग्न नसकेर बेलायती सरकारले भूपू लाहुरेहरूलाई आवासीय भिसा उपलब्ध गराउने निर्णय गर्यो । यो निर्णयले सन् २००८ तिरदेखि भूपू लाहुरेहरू बेलायत भासिन थाले।
‘भूपू सैनिकहरूको हक, समानताको आन्दोलन आवासीय भिसामा पुगेर टुंगिनु विडम्बना भयो । त्यसपछि त गाउँघरमा बचेखुचेका भूपूहरू पनि बेलायत पुगिसकेका छन्,’ ब्रिटिस गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष एवं सामाजिक अभियन्ता गजेन्द्र इस्वो भन्छन्, ‘अब त हातखुट्टा बसिसकेका, अपांग अशक्तहरू मात्र पो बाँकी छन्।’
अभियन्ता इस्वोका अनुसार धरानमा १० हजारको हाराहारीमा भूपू ब्रिटिस लाहुरेहरूको बसोबास भएको अनुमान थियो । आवासीय भिसाले गर्दा ७० प्रतिशतभन्दा बढी भूपू लाहुरे र तिनका परिवार आवासीय भिसामा बेलायत गइसकेका छन् ।
बाँकी रहेका थोरै संख्याका भूपूहरू पनि दिनदिनै वृद्ध हँुदै गएका छन् भने सँगसँगै संख्या पनि घट्दै गएको छ । भूपू लाहुरेहरूको सघन बसोबास भएको देशका अन्य सहरहरूको अवस्था पनि यस्तै छ ।हुन त बेलायतमा अझै पनि समानता, हकहितको आन्दोलन सत्याग्रहका नाममा भूपूहरूले जारी राखेका छन् ।
बेलायत गएकाहरू फेरि फर्केर आउने मनस्थितिमा नहुने भएकाले नेपालमा भूपू गोर्खा सैनिकहरूको दोस्रो पुस्तापछि लोप हुने चिन्ता अभियन्ता इस्वोको छ।‘नयाँ भर्ती हुनेहरू पनि परिवारसँगै उतै (बेलायत) बस्छन्, हाम्रो पुस्ताको संख्या घट्दै गइरहेको छ । लाहुरेहरूको दोस्रो पुस्ता नेपालमा भेटिएलाजस्तो लाग्दैन,’उनी निराशा व्यक्त गर्छन्, ‘समानता, हकहितको आन्दोलन ठीक छ, तर स्वाभिमानी वीर गोर्खालीहरू बेलायतमा पलायन हुनबाट बच्नुपर्छ भन्ने लाग्छ।’
‘सांस्कृतिक रूपमा सकिन्छौं’
आफ्नो घरजग्गासमेत बिक्री भएर वा आफन्तलाई जिम्मा लगाएर ठूलो संख्यामा भूपू लाहुरेहरू स–परिवार बेलायत भासिएपछि सांस्कृतिकरूपमा भावी पिंढीमा विचलन आउने पक्का छ । अर्थात्, बेलायत गएकाहरू स्वदेश फर्कंदैनन्, र तिनका छोराछोरी, नातानातिनाहरूले आफ्नो पुर्खादेखिका संस्कार, संस्कृतिलाई चटक्कै बिर्सनेछन्।
‘सांस्कृतिक रूपमा त सकी नै गयौं, तिनका छोराछोरी, नातानातिनाहरू अब नेपाल कहाँ आउछन् र !’ भूपू सैनिक एकता समाजका अध्यक्ष इस्वो भन्छन्, ‘हाम्रै नम्बरीहरू त अब नेपाल आइँंदैन होला भन्छन्, तिनका सन्तानहरू झन् के आउलान् र !’अर्थशास्त्रका प्राध्यापक डा.राजेन्द्र शर्मा एउटा पुस्तासम्मलाई आफ्नो पुर्खाको संस्कार, संस्कृतिबारे चासो हुन्छ र बेलाबेला आउँछन् । तर दुई पुस्ता कटेपछि भने बिर्सन्छन्।
‘एउटा पुस्ता संस्कार, संस्कृतिप्रति लगाव रहन्छ र बेलाबेला आउँछन् । दुई पुस्ता कटेपछि बिर्सन्छन्, र संस्कार, संस्कृति क्युरियोजस्तो मात्र रहन्छ,’ उनी भन्छन्, ‘पढाई, जीवनशैली आदि कारणले सबै उतै बस्छन् । आफ्ना घरजग्गा, सम्पत्ति बेचेर गएका छन्, अलि पछि त लाहुरेको सहर भन्ने मात्र बाँकी हुन्छ ।’
अर्थतन्त्रमा धक्का
अर्थशास्त्रका प्रध्यापक डा. शर्मा भूपू लाहुरेहरू धमाधम बेलायततिर भासिएपछि धरानको सभ्यता र अर्थतन्त्रमा गम्भीर धक्का लागेको बताउँछन् । भूपू लाहुरेहरूको पेन्सनबापत आउने ठूलो मात्राको रेमिट्यान्सले धरानको अर्थतन्त्र, व्यापार, घरजग्गा, पूर्वाधार विकासलगायत सबै क्षेत्रलाई माथि उकासेको थियो । यस्तै, युरोपको जस्तै सरसफाई र सभ्यताको विकास भएको थियो । लाहुरेहरूको सघन बसोबास भएको धरान र पोखरालाई काठमाडाैले पछ्याउनुपथ्र्याे।
आफ्ना छोराछोरीलाई राम्रो स्कुल, कलेज पढाउने, आर्कषक पक्की घर बनाउने चलनले घरजग्गा, व्यापार व्यवसाय चलेको थियो । अहिले यी सबैमा कमी आएको डा.शर्मा बताउँछन्।
‘आर्थिक गतिविधि विकासको पूर्वाधार हो, लाहुरेहरू बेलायत जाँदा पेन्सनबापत आउने रेमिट्यान्स घट्यो । पहिला जुनरूपमा आर्थिक गतिविधि हुन्थ्यो, त्यो पनि घट्यो । पहिलाजस्तो प्राइभेट पब्लिक पार्टनरसिपमा कमी आएको छ र निराशाजनक अवस्था छ,’ उनी चिन्ता व्यक्त गर्छन्।
अर्थतन्त्रसँगै पूर्वाधार विकासमा धक्का लागे पनि भूपूहरू बाहिरिँदा फजुल खर्च गर्ने चलन घटेको र यसले बजारमा एकरूपता आएको वा नियन्त्रण गरेको डा. शर्माको विश्लेषण छ । ‘भूपू परिवारले निस्फिक्री खर्च गर्थे र बजार महंगो थियो, यसमा नियन्त्रण भएको छ । लागूऔषध करोबारीको निशानामा पैसावाला लाहुरेका छोराछोरी हुन्थे, उनीहरूलाई फसाउँथे र आफ्नो कारोबार बढाउँथे, अहिले यसमा पनि कमी आएको छ,’ सकारात्मक पाटो पनि डा.शर्माले उल्लेख गरे।
भूपूहरू दोस्रो पुस्ता तयार गर्दै
भविष्यमा धरानमा लाहुरेहरू बस्थे रे भन्ने किंवदन्ती मात्र बन्ने हो कि भन्ने चिन्ताले यहाँका भूपू ब्रिटिस लाहुरेहरू दोस्रो पुस्ता तयार गर्न लागि परेका छन् । भूपू ब्रिटिस गोर्खा सैनिक परिवारका सन्तानलाई नै भविष्यमा आफ्नो इतिहास जोगाउन र सामाजिक कामहरू जिम्मा लगाउने गरी उनीहरूले दोस्रो पुस्ता खोज्दै संगठित पनि गर्दैछन् ।
नयाँ पुस्ता तयार गर्न केही महिनाअघि मात्र ब्रिटिस गोर्खा भूपू सैनिक एकता समाज नामको नयाँ संस्था दर्तासमेत गरेका छन् । ‘धरानमा हाम्रो पुस्तापछि भूपू सैनिकहरूको इतिहासलाई जोगाउने र हामीले सुरु गरेको सामाजिक कामहरूलाई कसले निरन्तरता दिने हो त ? त्यसैले नयाँ पुस्ताका छोरा, भतिज, भान्जाभान्जी र बौद्धिक पुस्तालाई खोजेर संगठित गर्दैछौं,’ भूपू सार्जेन्ट रमेश राईले सुनाए।
हालका भूपू सैनिक पुस्ताले धरानमा विभिन्न योजनाहरू अघि बढाइरहेका छन् । हाल यहाँका भूपू सैनिकहरूले धरान–२०, विष्णुपादुकास्थित माछामारा डाँडामा करोडौं बजेटको ब्रिटिस गोर्खा स्मृति पार्क निर्माण गरिरहेका छन्।
यस्तै, धरान– १० स्थित सैनिक भवन, धरान–१९ स्थित ब्रिटिस कम्युनिटी हल, धरान–१३ स्थित वेलफेयर अफिस, धरान–१८ स्थित डिपोट हाई स्कुल, भानुचोकस्थित गोर्खा कम्प्लेक्स पनि भूपू सैनिकहरूकै सम्पत्ति हुन् । भविष्यमा ती संस्था र योजनाहरूलाई निरन्तता दिन पनि भूपू ब्रिटिस गोर्खा सैनिकहरू दोस्रो पुस्ता तयार गर्न जुटेका हुन् ।
प्रकाशित: १९ वैशाख २०७५ ०२:३८ बुधबार