२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

हातेमालो वुमन ग्रुपको वार्षिकोत्सव : छात्रवृत्ति र सम्मानसँगै महिलासशक्तिकरणको सन्देश

हातेमालो वुमन ग्रुप अफ फाउण्डेशनले पाँचौँ वार्षिक साधारण सभाको अवसरमा छात्रवृत्ति तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न गरेको छ।

तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन, डब्लुएचओ नेपालका प्रतिनिधि सुदन ज्ञवाली, र फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकाल लगायतले मन्तव्य राखेका थिए।

मन्त्री सुडीले महिलाको सशक्तीकरणबिना कुनै पनि देशको विकास सम्भव नभएको उल्लेख गर्दै महिलाहरूलाई सक्षम बन्न आह्वान गरे। “देशको विकासका लागि महिलाहरूको सक्रिय सहभागिता अनिवार्य छ। समानता र अवसर सुनिश्चित नगरी विकास सम्भव हुँदैन,” उनले भने।

उनले महिलाहरूको अधिकार ३३ प्रतिशतमा मात्र सीमित नराखी ५० प्रतिशत सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, मधेस प्रदेशमा सामाजिक विकास मन्त्री हुँदा महिलाका लागि लोकसेवामा ५० प्रतिशत आरक्षण र निःशुल्क अध्ययन कार्यक्रम लागू गरेको स्मरण गराउँदै महिलाहरूले आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याए।

महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले विकासका लागि महिला उद्यमशीलता अपरिहार्य भएको बताइन्। “नेपालमा ५१ प्रतिशत जनसंख्या महिलाको छ, र २९ प्रतिशत साना तथा मझौला उद्यम महिलाको नेतृत्वमा छन्। यसले महिलाहरूको भूमिका अझ महत्त्वपूर्ण बनाउँछ,” उनले भनिन्।

ज्ञवालीले नेपालीहरूले नेपालमै उत्पादित वस्तुको प्रयोग गर्नुपर्ने र यसले घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने धारणा राखिन्।

मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले छात्रवृत्ति प्रदान गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिँदै बालिका शिक्षामा ध्यान दिनुपर्ने बताइन्। “छोरीलाई समस्या होइन, अवसर दिनुपर्छ। छोरीहरूले पनि छोरासरह सफलता हासिल गर्न सक्छन्,” उनले भनिन्।

उनले सामुदायिक विद्यालयले विद्यार्थीलाई सानै उमेरदेखि जिम्मेवारी बोध गराउने र संघर्ष गर्न सिकाउने भूमिका खेलिरहेको बताइन्।

फाउण्डेशनका अध्यक्ष राधा सापकोटा ढकालले कोरोना महामारीको चुनौतीपूर्ण समयमा फाउण्डेशनको स्थापना भएको स्मरण गरिन्। “महामारीका बेला स्वरोजगारका नयाँ उपाय पहिल्याउँदै संस्थाको अवधारणा अघि बढाइयो। महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन, उनीहरूको अधिकारका लागि पैरवी गर्न, र आर्थिक सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ,” उनले बताइन्।

फाउण्डेशनले आदिवासी, पिछडिएका वर्ग, र लोपोन्मुख जातिका परम्परागत सीपलाई विस्तार गर्न, उत्पादनको बजारीकरण गर्न, र बालबालिकाको शिक्षामा सहयोग गर्न छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ। हिमालय फ्रेण्ड (जर्मनी) को सहयोगमा यस पटक छात्रवृत्ति वितरण गरिएको थियो।

डब्लुएचओ नेपालका प्रतिनिधि सुदन ज्ञवालीले राम्रो कामबाट मात्र सन्तोष प्राप्त हुने बताउँदै समाजसेवामा जोड दिए। “अरूलाई मद्दत गर्दा प्राप्त हुने खुसी कुनै पनि चीजले तुलना गर्न सक्दैन। त्यसैले सहयोग र सद्भाव फैलाउनुहोस्,” उनले भने।

फाउण्डेशनले महिलाहरूलाई स्वरोजगार बनाउन, परम्परागत ज्ञान र सीपको अध्ययन–अनुसन्धान गर्न, र पिछडिएका समुदायका बालबालिकाको शिक्षामा योगदान पुर्‍याउने लक्ष्यसहित आफ्ना कार्यक्रम अघि बढाइरहेको छ।

प्रकाशित: २९ पुस २०८१ २०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App