२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

५० लाखसहित दुई पक्राउ

टपेन्द्र कार्की
काठमाडाै - नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो।

भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

 भारतमा समेत प्रतिबन्धित हजार र पाँच सय दरका नोट कसरी र कुन प्रयोजनका लागि नेपाल ल्याइएको हो भन्ने विषयमा परिसरले अनुसन्धान गरिरहेको छ ।परिसरले बुधबार रातिसम्म अनुसन्धान सिध्याएर ती नोटसहित समातिएका दुईजनालाई बिहीबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘लाखौं भारतीय रुपैयाँ बरामद भएको छ । मानिस पनि पक्राउ परेका छन् । अनुसन्धान जारी रहेकाले सार्वजनिक नगरिएको हो’, परिसर स्रोतले भन्यो । स्रोतका अनुसार ती दरका नोट एक सय भारतीय रुपैयासँग सटही गर्न नेपाल ल्याइएको हो । भारतीय बजारमा कारोबार गर्ने व्यवसायीले विभिन्न प्रलोभन देखाएर सो रकम नेपाल पठाएको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ । खुला सिमानाका कारण सो रकम नेपाली बजारमा सहजै भित्रिएको हो।

भारत सरकारले २ हजार दरको नोट प्रचलनमा ल्याएपछि ५ सय र एक हजार दरका नोट चलाउन प्रबिन्ध लगाएको छ । भारतमा प्रतिबन्ध लगाइएपछि ती दरका नोट नेपालमा पनि अवैध भएका हुन् । भारतले प्रतिबन्ध लगाएपछि नेपालका बैंक र सर्वसाधारणसँग रहेको हजार र पाँच सय दरका नोट सटही हुन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला नेपालमा थन्किएका भारु नोट सटही प्रक्रिया सहज बनाउन पहल गर्ने विषय उठेपछि भारतमा प्रतिबन्धित पाँच सय र हजार दरका नोट कारोबारीले नेपाल भित्र्याएको प्रहरी आशंका  

यसरी नसाटिएका भारतीय रुपैयाँ नेपालमा करोडौं रहेको अनुमान छ । यसअघि नेपाल प्रहरीले बरामद गरी राजस्व अनुसन्धान विभागमा बुझाएको चार करोड भारतीय रुपैयाँसमेत थन्किएको छ ।हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला नेपालका बैंकमा थन्किएका भारतीय नोट सटही प्रक्रिया सहज बनाउन पहल गर्ने विषय उठेपछि सो रकम नेपाल भित्रिएको प्रहरी आशंका छ।

केही समयअघि रिजर्भ बैंकको पहलमा भारत सरकारले नेपालमा रहेका भारतीय नोटको समस्या समाधान गर्न एक समिति गठन गरेको थियो  । नेपाल र भुटानमा परेको यस्तो समस्या सम्बोधन गर्न भारत सरकारले समिति गठन गरेको हो ।  सो समितिले नेपाल र भुटानमा रहेका भारतीय प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट साट्ने विषयमा कुनै निर्णय लिएको छैन।

चार महिनाअघि पनि प्रहरीले भारतले प्रतिबन्ध लगाएको पाँच सय र एक हजार दरका नोटहरू नेपालमा ल्याई कारोवार गर्ने दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको थियो ।  उनीहरुको साथबाट पाँच सय दरका ८ सय १० थान र एक हजार दरका ९५ थान नोट बरामद भएको थियो । उनीहरुले भारतीय बजारबाट सस्तो दरमा काठमाडांै ल्याएर अवैध कारोबार गरेको प्रहरीको दाबी थियो।

त्यसैगरी गत जेठ ८ गते भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक, थाना पोस्ट अफिस रोहतक इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले ५० लाख ५० हजार  रुपैयमाँ बरामद गरेको थियो । त्यतिबेला सोनीले सो रकम दिल्ली चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले नेपाल पठाएको बयान प्रहरीलाई दिएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ वैशाखपछि प्रतिबन्धित भारतीय नोटसँग सम्बन्धित पाँचवटा घटना राजस्व अनुसन्धान विभागलाई  जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीको दाबी छ।

दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित पक्राउ परेका अंकुर अग्रवाल र दिनेश अग्रवालले काठमाडौंमा सटही हुने सुनेकाले भारतबाट विमल मेहतासँग मागेर ल्याएको रकम पनि प्रहरीले गत वर्ष बरामद गरेको थियो । सो रकम नेपाली र भारतीयसहित १४ जनाको समूह मिलेर भारतबाट ल्याई गौरीघाटस्थित एक घरमा लुकाएका थिए । प्रहरीले त्यहींबाट सो रकम बरामद गरेको थियो ।

प्रकाशित: २९ चैत्र २०७४ ००:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App