४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भैरहवामा नवौं लुम्बिनी महोत्सव सुरु

स्थानीय तथा स्वदेशी उत्पादनहरूको प्रबद्र्धन तथा बजारीकरण गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरिएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवाको अञ्चलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको हो।

महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताए। वर्तमान सरकार बन्ने बेलामा मुलुकको अवस्था ठीक नभएको तर यो सरकार बनेपछि धेरै कुरा सुधे्रको र अर्थतन्त्र लयमा फर्केको उनले बताए।

अर्थतन्त्र सुधारका लागि कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने उनले बताए। ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ’ अर्थमन्त्री पौडेलले भने। देशको आर्थिक अवस्था सुधारको बाटोमा रहेकाले निरास नहुन उद्योगी व्यवसायीलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिंगो मुलुकको गौरव भएकाले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे। विमानस्थल राम्रोसँग चल्ने र जसरी भए पनि चलाएर देखाउने उनको दाबी थियो। हालको टर्मिनल भवन सानो भएको भन्दै उनले अर्को भवन बनाउने तयारी भइरहेको बताए।

अर्थमन्त्री पौडेलले निर्माणाधीन आयोजनालाई देखाएर निराशा छर्ने काम भएको भन्दै बुटवल–नारायणघाट सडकमा देखिएको समस्या समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको बताए। भैरहवालाई पूर्वाधारयुक्त र विकसित बनाउन सरकारले लगानी बढाउने अश्वासन दिए।

लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले बोल्दै लुम्बिनी महोत्सवले यहाँको आर्थिक क्षेत्रलाइ चलायमान बनाउने बताए।

संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम परिस्थितिमा निराशालाई आशामा बदल्न संघले मेला मार्फत प्रयास गरेको बताए। ४० जिल्लाका उत्पादनहरूको प्रदर्शन, प्रबद्र्धन र बजारीकरण महोत्सवमार्फत एकै थलोबाट गरिने भएकाले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताए। उनले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने व्यवस्था गरीएको जानकारी दिए।

महोत्सवमा ४० जिल्लाका विभिन्न उत्पादनहरूका तीन सय स्टल रहेको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवले निजी क्षेत्रको मनोबल वृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताए ।

महोत्सव उद्घाटनअघि करिब तीन सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजा र झाँकीसहितको ¥याली निकालिएको थियो। महोत्सव पुस १ गतेसम्म चल्ने छ। करिब १० करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: २३ मंसिर २०८१ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App