८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

विश्वकी सय प्रेरक र प्रभावशाली महिलामा शिलशिला

बागलुङ नगरपालिका–२ शिवधारा चोककी शिलशिला आचार्य ‘विश्वका १०० प्रेरक र प्रभावशाली महिला’ सूचीमा परेकी छन्। बिबिसीले सन् २०२४ का लागि यो सूची तयार पारेको हो। उक्त सूचीमा आचार्यको नाम छ।  

लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय आचार्यले नेपालमा प्लास्टिकको पुन: प्रयोगसम्बन्धी ‘अभ्नी भेन्चर्स’ नामक संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले जनाएको छ। सबैभन्दा ठुलो सञ्जाल सञ्चालन गरी हरित क्षेत्रमा महिलालाई प्रोत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।

म्याग्दी सदरमुकाम बेनीबजारस्थित बेनी आवासीय माविबाट २०५८ सालमा एसएलसी दिएकी आचार्य मेधावी विद्यार्थी हुन्। उनी उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म पढेर उच्च शिक्षाका लागि काठमाडौं गएकी थिइन्। चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस) अध्ययन गर्न पूर्ण छात्रवृत्ति पाउँदा समेत उनले वातावरण विज्ञान विषय रोजिन्। 

बुबा राजेन्द्रराज आचार्यले छोरीलाई चिकित्सक बनाउने चाहना भए पनि उनले वातावरण क्षेत्रमा केही गर्ने सोचले वातावरण विज्ञान पढेको बताएपछि आफू सहमत भएको बताए। ‘छोरीलाई चिकित्सक बनाउने चाहना थियो, मैले त्यही सपना देखेको थिएँँ। तर छोरीले वातावरणको क्षेत्रमा केही काम गर्ने भन्दै पूर्ण छात्रवृत्तिसमेत छोडिन्’, राजेन्द्रराजले भने। छोरी पर्यावरण र वातावरण संरक्षणमा सक्रिय भएर लागेको प्राप्त केही नतिजाबाट आफू निकै उत्साहित भएको उनले बताए।  

बजारमा सामान किनमेलमा प्लास्टिक झोला प्रयोग नगर्न सिलसिलाले प्रेरित गरेको बिबिसीले जनाएको छ। उनी हिमाल सफा गर्ने अभियानमा समेत जोडिएकी थिइन्। नेपालका विभिन्न हिमालमा आरोहीहरूले छाडेको करिब एक सय १९ टन फोहोर संकलन गरी त्यही फोहरबाट शृंगारका सामान, म्याट र डालो बनाएर जीवन निर्वाह गर्न सिकाएकी उनलाई विपन्नले रोजगारी र अवसर दिने महिलाका रूपमा चिन्छन्। 

पर्यावरणीय क्षेत्रमा लोभलाग्दो प्रगति गरेकी उनी धेरैलाई रोजगारीसँगै उद्यमी बनाउनसमेत सफल भएकी छन्। यसअघि अनलाइन खबरद्वारा सूचीकृत ‘शक्तिशाली ५० महिला उद्यमी’मा पनि सिलसिलाको नाम थियो। सन् २०२४ का लागि बिबिसीले तयार पारेको ‘विश्वका १०० प्रेरक र प्रभावशाली महिला’ सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, अभियानकर्मी जिजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे, गायिका रे, भिजुअल आर्टिस्ट ट्रेसी एमिनलगायत छन्।

प्रकाशित: १९ मंसिर २०८१ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App