६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

नगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न कांग्रेसको माग

<br>

नेपाली कांग्रेसले महानगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको छ। कांग्रेस पोखरा महानगर समितिले मंगलबार विज्ञप्ती निकाल्दै सुरक्षाका लागि ड्यूटीमा खटिएका महानगर प्रहरीमाथि कुटपिट गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको हो।

महानगरले २८ जना करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका नेकपा एमालेका जनप्रतिनिधिले सुरक्षामा खटिएका नगर प्रहरी सहायक निरीक्षक सन्तबहादुर केसीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट केसीको अण्डकोषमा गम्भीर चोट लागेको थियो। अण्डकोषमा गम्भीर चोट लागेपछि उनको शल्यक्रियासमेत गर्नुपरेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

कांग्रेसले सुरक्षामा खटिएका नगर प्रहरीमाथि जनप्रतिनिधिले गरेको आक्रमण, अशोभनीय भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले विज्ञप्तीमा भनेको छ, ‘लोकतन्त्रमा कुनैपनि विषयको पक्ष वा विपक्षमा आफ्नो अभिमत राख्ने, आन्दोलन गर्ने व्यक्ति वा संगठनको नैसर्गिक अधिकार हो। यद्दपि यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन भन्दा माथि हुन सक्दैनन्। आन्दोलनका नाममा गरिएका कुनै पनि अराजक गतिविधिको हामी कडा शब्दमा घोर भत्सना गर्दछौं।’

कांग्रेसले कर्मचारी बचाउन आन्दोलन गर्ने एमाले जनप्रतिनिधिले अर्को कर्मचारीमाथि सांघातिक आक्रमण गर्नु निन्दनीय र दुःखद भएको उल्लेख गरेको छ। साथै उसले घाईते केसीको उपचारका लागि स्वास्थ्य उपचार खर्चको प्रबन्ध गर्नपनि माग गरेको छ। कांग्रेसले यस्ता घटना नदोहो¥याउन आन्दोलित जनप्रतिनिधिहरुलाई चेतावनीसमेत दिएको छ। कुटपिटमा संलग्नको अहिलेसम्म पहिचान भएको छैन। यसबारे अनुसन्धान गर्न महानगरलेपनि चासो दिएको छैन।

प्रकाशित: २७ कार्तिक २०८१ १७:०१ मंगलबार

नगर प्रहरी पोखरा महानगर