७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

देवघाटको वागीश्वरीमा संगितमय सामूहिक गौ पूजन हुने

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।

विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।

लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाको दिन क्रमशः कार्तिक १५,१६ र १७ गते सामूहिक पूजन हुनेछ। वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन अन्तर्राष्ट्रिय कथा वाचक पण्डित कुवेर सुवेदीले गर्नेछन्। त्रिदिवसीय सामूहिक गौपुजन संगितमय रुपमा हुने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। गाईको वैदिक तवरबाट पूजा गरिने छ। धार्मिक मान्यता अनुसार उन्नत जातका गाईहरूको पूजा गरेर प्रतिफल नहुने भएकाले स्थानीय गाईको पूजा गरिने उनले बताए। 

यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आह्वान गरिएको छ।

पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए।

उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ। यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन्। योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका छन्। यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ।

गाई संरक्षणका लागि २०७२ सालदेखि अक्षय कोष समेत बनाइएको छ। एक करोडको अक्षयकोष बनाउने लक्ष्य लिएको संस्थाले हालसम्म ९० लाखको हाराहारीमा कोषमा रकम जम्मा भएको बताइएको छ। 

प्रकाशित: १३ कार्तिक २०८१ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App