भारत सरकारको सहयोगमा निर्मित स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवन उद्घाटन गरिएको छ। नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ४ करोड १३ लाखमा निर्मित भवनको उद्घाटन गरिएको हो। भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले संयुक्त उद्घाटन गरेका हुन्। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । भाडाको सानो घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरिएको थियो। अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित: १० कार्तिक २०८१ ११:१७ शनिबार